सरकारको तयारी सुस्त, मध्यपूर्वको तनावले नेपाली असुरक्षित

3.38k
Shares

काठमाडौं ।

बुधबार इरानको राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाको हत्यापछि मध्यपूर्वका देशमा तनाव बढेको छ। इजरायलले इरानमा आफ्ना जासुस पठाएर हमास नेता स्माइलको हत्या गरेपछि इरानले इजरायलमाथि आक्रमण गर्ने धम्की दिएसँगै तनाव बढेको हो।

इरानको धम्कीपछि अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरे पनि नेपाल भने पर्ख र हेरको अवस्थामा रहेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयमा पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो ।

उहाँले पश्चिमा मुलुक निसानामा परे पनि नेपाल त्यस्तो अवस्थामा नरहेकाले नेपाली सुरक्षित रहने दाबी गर्नुभयो । तर, केही महिनाअगाडि इजरायलमा हमास समूहले अपहरण गरी लगेका कञ्चनपुरका विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ।
वैदेशिक रोजगार विभागले हालसम्म ३ हजार ३ सय ४६ जना नेपाली श्रम स्वीकृति लिएर लेबनान गएको जनाएको छ।

पछिल्लो २ वर्षको अन्तरालमा भने १ सय १५ जना जनाले श्रम स्वीकृति लिएका छन्। विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले लेबनानमा सुरक्षाकर्मी र मजदुरी गर्न गएका नेपाली रहेको बताउनुभयो। त्यसै गरी इजरायलमा हालसम्म ७ हजार ९ सय ९१ जनाले श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ ।

पछिल्लो २ वर्षको अन्तरालमा भने १ हजार ७ सय ४६ जनाले श्रम स्वीकृति लिएका छन् । इजरायलमा कृषि, केयर गिभरजस्ता कामको लागि श्रमिकको रूपमा गएको सूचना अधिकारी सुवेदीले बताउनुभएको छ । पछिल्लो समय इरान, इजरायलबीच द्वन्द्व बढे पनि सँगै जोडिएको लेबनान, सिरियाजस्ता देशमा प्रभाव परी विभिन्न देशका नागरिक हताहती हुने अनुमान गरिएको छ ।
नेपालले भने नेपाली ल्याउने कुनै नयाँ काम गर्न सकेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले लेबनानमा १ हजार ५ सयभन्दा बढी नेपाली रहेको अनुमान गर्नुभएको छ । उहाँले परराष्ट्र मन्त्रालयले द्वन्द्व भए बिमान नै चार्टर गरी नेपाली ल्याउने तयारी गरेको बताउनुभएको छ ।

सिरियामा कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अहिले इरानलाई पाकिस्तानमा रहेको नेपाली राजदूतावासले र लेबनाममा इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले हेरिरहेकोे छ। सिरियामा कति नेपाली रहेका छन् भन्ने विषय परराष्ट्र मन्त्रालयलाई थाहा नभएको मन्त्रालयका प्रवक्ता राईले बताउनुभएको छ।

इजलायल, लेबनान र सिरियाको सिमानामा तैनाथ राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि खटिएका शान्ति सेनामाथि सुरक्षा खतरा बढेको छ । नेपाललगायत विश्वका एक दर्जनभन्दा बढी देशका शान्ति सैनिक अहिले इजरायल, लेबनान र सिरियाका सीमा क्षेत्र गोलान हाइटमा तैनाथ रहेका छन। सो क्षेत्रमा नेपालबाट झन्डै १ हजार ३ सय नेपाली सेना शान्ति सैनिकका रूपमा कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।