पाठक पत्र: नेपाल बंगलादेशजस्तै नहोला भन्न सकिन्न


बंगलादेशले पछिल्ला दशकमा हासिल गरेको आर्थिक प्रगतिको जश सेख हसिनाले पाएकी छिन् । गत जनवरीमा सम्पन्न पछिल्लो आमचुनावको परिणाम हेर्दा ३ सय सिटको संसद्मा हसिनाको दल र समर्थकले २२५ सिट जितेका थिए । यसले चुनावी परिणामलाई लोकप्रियताको मापदण्ड मानिने डेमोक्रेसीमा जनता उनकै पक्षमा धेरै रहेको देखाउँछ । यति हुँदाहुँदै पनि उनी आज देश छाडेर भाग्न बाध्य भएकी छिन् । बहुमत जनता उनको पक्षमा रहेको अवस्था हुँदाहुँदै भाग्नुपर्ने परिस्थिति निर्माण हुनुले उनले सत्ता र शक्तिको चरम दुरुपयोग गरेर चुनावी परिणाम आफ्नो पक्षमा पारेको भन्ने आलोचकको तर्कलाई पुनः पुष्टि गरेको छ।

बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिँदै देश छाडेकी हुन् । यो घटना मुख्यतया विद्यार्थी आन्दोलनहरूको कारणले भएको हो, जुन आन्दोलन सरकारी जागिरमा कोटा प्रणालीमा सुधारको माग गर्दै शुरु भएको थियो । आन्दोलन हिंसात्मकरूपमा फैलिँदै गएपछि सरकारका दबाबपूर्ण कदमहरूको विरोधमा विद्यार्थीलगायत सर्वसाधारणले व्यापक विरोध प्रदर्शन गरेका थिए । विद्यार्थीहरूको मृत्यु र सरकारी प्रतिक्रियाले स्थितिलाई झनै संवेदनशील बनायो, जसले अन्ततः हसिनाको राजीनामासम्मको स्थिति ल्यायो ।

यस्ता घटनामा भित्री कारण छैन÷हुँदैन त भन्न मिल्दैन तर पनि मुख्य कारक जनआक्रोश नै हो । त्यो आक्रोश सृजना गर्न धेरै ठूलो कारण पनि चाहिँदैन । घिनलाग्दो सत्तालिप्सा, राजनीतिको उपल्लो तप्काबाट भ्रष्टाचार, अनियमितता र विकृतिको संरक्षण अनि सत्ताको लागि अहोरात्र हुने अप्राकृतिक अभ्यास तथा सत्तामा हुँदा र बाहिर हुँदाको अभिव्यक्तिमा हुने विरोधाभासबाट वाक्क जनता पेट्रोलमा १ रुपियाँ मूल्य बढेको निहुँमा पनि सडकमा ओर्लिन सक्छन् ।

नेपालको प्रसंगमा कुरा गर्दा, आजभोलि चलिरहेको ठूला कुरामध्ये नक्कली भुटानी प्रकरण एक हो । नेपाल यस्ता धेरै ठूला प्रकरणमा मुछिएको छ । हाम्रो देश नेपालमा विद्यार्थीहरु राजनीतिक पार्टीहरुको भ्रातृ संगठनका नेता बन्दै कलेजमा हुलदंगा र झगडा गर्दाको अवस्थामा फोटो खिच्नमै व्यस्त छन् । नेताहरुसँग फोटो खिच्दै, फेसबुकमा हाल्दै आफूलाई ठूला नेता ठान्नेहरु पनि छन् । पार्टीले निर्देशन गर्नासाथ सडक तताउने काम विशेष ठानिन्छ । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी आदि सबै एकले अर्काका विरुद्ध लाग्ने गरेको पनि देखिन्छ । बंगलादेशी विद्यार्थी र सर्वसाधारण सता पल्टाउने हिम्मत र साहस राख्छन् तर नेपाली विद्यार्थी पार्टीको विधान, झन्डा र झोलातिर लागे पनि कुनै दिन एक भएर सँगै सडकमा नओर्लेलान् भन्न सकिन्न ।

जनता कति शक्तिशाली हुन्छन् भन्ने कुरा बंगलादेशी जनताले देखाएका छन्। १५ वर्ष शासन सत्तामा रहेको सेख हसिना सरकारलाई आफ्नो देशमा बस्न नसक्ने गरी राजीनामा दिन लगाएका छन्। प्रधानमन्त्रीको कार्यालयमा जनता पसेका छन् । सेनाले सत्ता आफ्नो हातमा लिएको छ। यसबाट नेपाली जनता, भ्रष्ट नेता र सरकारले बेलैमा पाठ नसिक्ने हो भने नेपाली जनता पनि उर्लनेछन् । यहाँ पनि भ्रष्ट नेता र सरकारको शासन सत्ता अर्कैको हातमा पुग्नेछ । छिमेकीको शरणमा बास माग्न जानुको कुनै विकल्प हाम्रा भ्रष्ट नेता र सरकारको हुनेछैन । बेलैमा भ्रष्ट नेता र सरकारको सद्बुद्धि आहोस्।

जनभावनाको अवमूल्यन र जनता भनेका केही होइनन् हामीले जे भन्दिए पनि हुन्छ भन्ने मनोविज्ञान कायम रहिरह्यो भने ढाकास्थित प्रधानमन्त्री निवासमा हिजो देखिएको दृश्य काठमाडौंमा पनि ढिलोचाँडो देखिन सक्ने डर छ। आक्रोशको आयतन बालुवाटार, सिंहदरबार, बूढानीलकण्ठ, बालकोट र खुमलटारमा भन्दा चौतारो, चिया पसल र त्रिभुवन विमानस्थलमा अनुभव गर्न सकिन्छ । त्यो आक्रोश विष्फोट भयो भने खुमलटार, बालकोट र बूढानीलकण्ठतिरका भक्तजनको प्रार्थनाले काम गर्ने छैन ।

– रामेश्वर शर्मा भूर्तेल ।