गोल नबेहोरेका गोलकीपर पेले

1.6k
Shares

एजेन्सी ।

धेरैलाई थाहा नहुन सक्छ फुटबलमा गोल गर्न माहिर पेलेले ४ वटा म्याचमा गोलकीपरको भूमिकामा खेलेको कुरा। यो कुरा सत्य हो। त्यतिमात्र होईन, उनी गोलकीपर भएर खेलेको ४ वटा म्याचमा एक गोल पनि बेहोरेका थिएनन्।

फुटबलको नियममा जब कुनै टिमका गोलकीपर घाइते वा रेड कार्डका कारण मैदानबाट बाहिरिन्छ तब टिमकै एकजना खेलाडीले गोलकिपर भएर खेल्नुपर्छ। त्यस्तै अवस्थामा पेलेले चार पटक गोलकीपर भएर आफ्नो टिमको गोलपोष्ट सफलतापूर्वक सम्हालेका थिए।

१९ जुन १९७३ मा अमेरिकाको बाल्टीमोरमा भएको एक खेलमा ब्राजिलियन क्लब सान्तोसले बाल्टिमोर बेयेजसँग खेलेको थियो। रिडले कर्नर किक र पेनाल्टीमा गरी दुई गोल गरेको उक्त खेलको अन्तिम नौ मिनेटका लागि पेले गोलकीपरको भूमिकामा मैदानमा देखा परेका थिए। सान्तोसले बाल्टिमोर बेयेजलाई ४–० ले हराएको उक्त खेलमा सान्तोसका लागि एउजेबियोले थप दुई गोल गरेका थिए। पेले गोलकीपर भएको उक्त खेलले मैदानमा उपस्थित १२ हजार ५ सय ८२ दर्शकहरूको ध्यान तानेको थियो।

यस्तो हुनुको कारण सान्तोसका सब्स्टिच्युट गोलकीपर क्लाउडिया चोटका कारण खेल्न असमर्थ भएका थिए । अर्का नियमित गोलकीपर पनि त्यसअघि नै भएको खेलमा चोट बेहोरेर ब्राजिल फर्किसकेका थिए । खेलको अन्तिम ९ मिनेट ३६ सेकेन्ड बाँकी रहँदा पेलेले कुनै पनि गोल नबेहोरी गोलपोष्ट सम्हालेका थिए । यो बाहेक पेले गोलकीपर बनेर खेलेका अन्य खेल सान्तोस ४–२ कमर्सियल (१९५९), सान्तोस ४–३ ग्रेमियो (१९६४) र सान्तोस ३–० बोटाफोगो (१९६९) हुन ।

पेलेले गोलकीपरको रूपमा पहिलो खेल ४ नोभेम्बर १९५९ मा कम्पेओनाटो पाउलीस्टा प्रतियोगितामा खेलेका थिए । सान्तोस र कमर्सियलसँग भएको उक्त खेलमा सान्तोसका नियमित गोलकीपर लाला खेलाडीसँग जुधेर बेहोस भएपछि पेलेले १९ मिनेट गोलकीपिङ गरेका थिए ।

उनले गोलपोष्ट सम्हालेको समयभित्र विपक्षीले कुनै गोल गर्न नसकेपछि सान्तोसले ४–२ को जित निकालेको थियो । सान्तोसको जितमा पेले, काउटिन्हो, फेजो, र डोर्वलको गोलहरू थिए भने कमर्सियल–एसपीका तान्टोस र आलेंकारले गोल गरेका थिए ।
पेले सान्तोसको गोलरक्षकको भूमिका मैदानमा छिर्नु अघि नै उनीहरुले एक–एक गोल गरेका थिए । ग्रेमियो–आरएसविरुद्ध सन् १९६४ को टासा ब्राजिल फुटबल च्याम्पियनशिपको सेमीफाइनलमा पनि पेलेले केहि समय सान्तोसको गोलकीपरको भूमिकामा गोलपोष्ट सम्हालेका थिए ।

साओ पाउलोमा भएको उक्त सेमिफाइनल खेलमा सन्तोस ४–३ ले विजयी भएको थियो । उक्त खेलमा पेलेले तीन गोल र पपेले फ्री–किकमार्फत एक गोल गरेका थिए । त्यसैगरी १४ नोभेम्बर १९६९ मा भएको मैत्रीपूर्ण खेलमा सन्तोसले बोटाफोगोलाई ३–० ले हराएको खेलमा पेलेले गोलकीपरको भूमिका निर्वाह गरेका थिए ।

के यो संयोग थियो त ?
गोलरक्षकको भूमिकामा उनले एउटा पनि गोल नबेहोर्नु संयोग मात्र थियो भन्ने प्रश्न उठ्न सक्छ । तर, त्यस्तो होइन । उनी अलराउण्डर थिए । वास्तवमा पेलेले आफ्नो करियरको सुरुवात नै गोलकीपरको भूमिकामा गरेका थिए ।

त्यसैले उनले गोलकीपिंग कौशल पनि जानेका थिए । आपतकालिन अवस्थामा गोलरक्षकको भूमिकामा उनी टिमको पहिलो प्राथमिकता पर्थे । सरसर्ती हेर्दा फुटबल मैदानमा उनी खुट्टा र हात दुवै चलाउन माहिर भन्दा फरक नपर्ला। खुट्टाले विपक्षीविरुद्ध गोल गर्न खप्पिस त छँदै थिए, हातले पनि विपक्षीको गोल गर्ने प्रयासलाई असफल बनाउन जानेका थिए।

पेलेले आफ्नो व्यावसायिक करियरमा गोलकीपरको भूमिकामा पनि चासो र कौशल देखाएका थिए। उनी टोलीको प्रशिक्षण सत्रहरूमा गोलकिपरको रूपमा प्रायः देखिन्थे र चार पटक आपतकालिन अवस्थाहरूमा सान्तोसको गोलरक्षकको रुपमा गोलपोष्ट सम्हालेको सान्तोस क्लबकै पेलेका तत्कालीन टीममेट लिमा ‘द कुरिंगा’ ले बताएका थिए।