बंगलादेशको जस्तो नियतिभोग्नु नपरोस्


छिमेकी मुलुक बंगलादेशमा भएको राजनीतिक परिवर्तनले दक्षिण एसियामा मात्र होइन विश्वलाई नै महत्वपूर्ण पाठ पढाएको छ। लोकतन्त्रको नाममा जथाभावी गर्न थालेपछि त्यसले कस्तो पाठ सिकाउँछ भन्ने उदाहरण बंगलादेशको आन्दोलनले देखाएको छ।

सत्तालाई सही ढंगले उपयोग गरिएन भने त्यसले ल्याउने परिणाम कति खतनाक हुन्छ भन्ने उदाहरण बंगलादेशको पछिल्लो आन्दोलनले देखाइदिएको छ । लोकतन्त्रको नाममा निरङ्कुशता लाद्न खोजियो भने यसले पार्ने प्रभाव कस्तो हुन्छ भन्ने शेख हसिनाको सरकारले विगतमा गरेका निर्णय र त्यसका विरुद्ध पछिल्लो समय विद्यार्थी आन्दोलनबाट निस्किएको परिणामले देखाइदिएको छ।

प्रजातन्त्रको नाममा अधिनायकवाद लाद्न खोजेपछि देश छोडेर भाग्नुपर्ने स्थिति सिर्जना भएको छ । बंगलादेशका संस्थापक शेख मुजिवुर रहमानकी छोरी शेख हसिनाले सत्तालाई सही ढंगले चलाउन नसक्दा देश छोडेर भाग्न बाध्य भएकी छिन् । अहिले राजनीतिक शरणका लागि बेलायत र बेलारुससँग अनुनय विनय गर्दा पनि ती देशले समेत राजनीतिक शरण दिन आनाकानी गरिरहेका छन् । त्यसैले कुनै पनि शासकले सत्तालाई सही ढंगले परिचालन नगर्ने हो भने यसले कस्तो परिणाम निम्तिन्छ भन्ने उदाहरण बंगलादेशले देखाएको छ ।

सरकारी जागिरमा गरिएको आरक्षणको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि सरकारले चर्को दमन गरेपछि आन्दोलनले प्रधानमन्त्रीलाई नै देश छोड्न बाध्य बनायो । अहिले विश्वमा कुनै पनि राजनीतिक दलले विपक्षीलाई पेलेर सत्ता चलाउने कल्पना गर्छ भने त्यसले बंगलादेशको नियति भोग्नुपर्ने हुन्छ । त्यसैले बहुमतको आडमा विपक्षीमाथि धावा बोल्दा शेख हसिना देश छोडेर भाग्नुपर्ने अवस्था आउनुले पक्कै पनि यसबाट नेपाललगायतका विश्वका गरिब राष्ट्रले पाठ सिक्न जरुरी छ ।

प्रमुख विपक्षी दलकी नेतृ खालिदा जियालाई जनरबन्दमा राखेर सत्ता चलाउने निरङ्कुशताकी महारानीको उपमा पाएकी शेख हसिनाको निर्णय अहिले आफ्नै लागि अभिशाप बन्न पुगेको छ । विपक्षीलाई दबाएर एकछत्र राज गर्दै आएकी शेख हसिनालाई जनताले आफ्नो शक्ति देखाइदिएका छन् । जस्तोसुकै तानाशाह पनि जनताको अघि टिक्न सक्दैन भन्ने उदाहरण हो यो । नेपालमा पनि शासकले आफ्नो अनुकूलको निर्णय लादेर जनतालाई गुमराहमा राख्न खोजे भने बंगलादेशको जस्तो अवस्था सिर्जना नहोला भन्न सकिँदैन । त्यसैले जनता सर्वोपरि हुन् भन्ने विश्वव्यापी मान्यतालाई कसैले नजरअन्दाज गर्नुहुँदैन । निहित राजनीतिक स्वार्थ राख्दा त्यसले निम्त्याउने खतरा देशका लागि नै घातक हुन सक्छ ।

आफ्नो भविष्य सुरक्षित नदेखिएपछि एकाएक देश छोडेर शेख हसिना विदेश पलायन भए पनि आज बंगलादेशको अवस्था भने जर्जर बन्दै गएको छ। राजनीतिक अस्थिरताका कारण मुलुकमा देशी–विदेशी चलखेल बढ्दो अवस्थामा पुगेको छ । यसका कारण मुलुकको अस्तित्वमाथि अहिले प्रश्न उठेको छ। एउटा तानाशाहविरुद्ध गरिएको आन्दोलनले सफलता हासिल गरे पनि बंगलादेशको भविष्य भने अझै संकटग्रस्त बन्दै गएको छ।

सत्ताको नेतृत्व कसले गर्ने भन्ने विषयले अझै मूर्तरुप लिन सकेको छैन । यस्तो अवस्थामा जनता आफैँले बुझेर राजनीतिक नेतृत्वप्रति औँला ठड्याउनुपर्ने अवस्था छ । आन्दोलनका क्रममा शहीद भएका बंगलादेशी नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि।