स्वयम्भूमा गुँला पर्वको रौनक (तस्बिरहरू)


काठमाडौं ।

नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्वको अवसरमा आज बिहानैदेखि स्वयम्भूमा दर्शनार्थीको भिड लागेको छ।  सोमबारबाट सुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा एक महिने मेला लागेको छ।

साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने मेलामा हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभा भगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ। गुँला पर्वको अवसरमा विशेष गरी नौ बाजा बजाउने प्रचलन छ।

वर्षभर दिवंगत भएकाको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ।

बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ। नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो। यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ। गुँला पर्व विशेष गरी बौद्ध मार्गीको पर्व भए पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन्।