जलस्रोत मन्त्रालयद्वारा बर्षाबारे अध्ययन, करिब १४,००० भवनहरु प्रभावित

196
Shares

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले बर्षाबारे थप अध्ययन गरी विवरण सार्वजनिक गरेकाे छ । आज मंगलबार असार २५ गतेको प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाबारे थप अध्ययन गरी निम्नानुसार विवरण सार्वजनिक गरेकाे हाे ।

उक्त अध्ययनले दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरुको स्थलगत परिक्षण गर्दा दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था विभागको हालको मापदण्ड भित्रै रहेको पाइएकोले उक्त केन्द्रहरुबाट प्राप्त तथ्याङ्क सही रहेका देखाएको छ ।

सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्यांक विभागको मापदण्ड भन्दा फरक देखिएकोले थप अध्ययन गर्नु पर्ने देखिएको छ । स्थलगत परिक्षण टोलीले पेश गरेको प्रतिवेदन https://www.dhm.gov.np/ मा हेर्न सकिन्छ ।


साथै असार ३ गते राती ८ : ०५ देखि ९:०५ सम्मको एक घण्टाको अवधिमा हनुमान नगरमा १०२ मि.मि. वर्षा मापन गरिएको थियो ।असार २५ को प्रेस विज्ञप्तिमा उल्लेख गरिए बमोजिम उक्त क्षेत्रमा सतही मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमीवायुमा विकास भएको न्यूनचापीय प्रणालीहरुको समिश्रणको कारण अत्याधिक वर्षा अध्ययनले जनाएको छ ।


उक्त प्रणालीहरुको समिश्रणको प्रक्रिया तथा बर्षाको परिमाणको आधारमा उक्त मौसमी घटनालाई तराई क्लाउडवर्ड मान्न सकिने अध्ययनले जनाएको छ । यस सर्वाधिक वर्षाका कारण कञ्चनपुर जिल्लाका समथर भू-भागहरु डुबानमा परेको तथा विभिन्न नदीनालाहरूमा बाढी समेत आइ क्षति भएको थियो ।


असार २५ गते बिहान ६:१५ बजेको स्याटलाइट तस्वीर https://sentiwiki.copernicus.eu/web/s1-missionको विश्लेषण गर्दा कञ्चनपुर जिल्लाको करिव ९८ वर्ग किलोमिटर क्षेत्रफल (कुल क्षेत्रफलको करिव ६ भू-भाग डुबानमा परेको थियो ।
जसमध्ये करिब ८५ वर्ग कि.मी.कृषियोग्य भू-भाग रहेको तथा स-साना संरचनाहरू समेत गरी करिब १४,००० भवनहरु प्रभावित भएको सो अध्ययनले जनाएकाे छ ।

नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाको घटनामा तुलनात्मकरुपमा कम क्षति भएको विवरणहरु स्थलगत भ्रमणका क्रममा गरिएका अन्तरक्रिया तथा अन्य स्रोतबाट प्राप्त भएको छ ।

यसरी क्षति न्यूनीकरण हुनुमा विभागवाट समयमै प्रवाह गरिएको विशेष बुलेटिनहरु प्रभावमा आधारित मौसम पूर्वानुमान, मास एस. एम.एस.सेवा तथा सो अनुरुप पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धार कार्यको प्रमुख भुमिका रहेको सिनियर डिभिजनल हाइड्रोलोजिष्ट सुनिल पोखरेलले बताए ।


जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरु बढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वानुमान तथा पूर्वतयारी लगायतका लागि लगानी बढाउदै जानु आवश्यक पोखरेलले बताएका छन् ।