ईभी स्क्याम : ५ करोडको मेसिन नकिन्दा अर्बौं राजस्व गुम्दै

नयाँ सरकार पनि मेसिन किन्ने विषयमा उदासीन



यातायात मन्त्रालयका मन्त्री र सचिवले किन दिन सकेनन् चासो ?

काठमाडौं ।

नयाँ सरकारले विद्युतीय गाडी (ईभी) को क्षमता मापन गर्ने च्यासी डाइनोमोमिटर र मोटर डाइनोमोमिटर खरिद सम्बन्धमा ध्यान नदिँदा चिनियाँ गाडी बीवाईडीको ठगी धन्दा मौलाइरहेको छ ।

बीवाईडीको नेपालस्थित बिक्रेता साइमेक्स इन्कले बढी किलोवाटको ईभी गाडीलाई कम किलोवाट देखाएर धमाधम राजस्व छली गर्दै आइरहेको आशंकामा राजस्व अनुसन्धान विभागले दुई महिनाअघिदेखि छानबिन गर्दै आइरहेको छ। तर, ती गाडीको वास्तविक क्षमता मापन गर्ने मेसिनहरू नहुँदा छानबिनमा समस्या पर्दै आइरहेको बताइन्छ। दुई महिनादेखि नै ईभी गाडीको क्षमता मापन गर्नुपर्ने मेसिन खरिद गर्नुपर्ने उच्च दबाब परिरहँदा समेत सरकारी निकायले बेवास्ता गर्दै आइरहेको हो।

यसअघिको पुष्पकमल दाहाल नेतृत्वको सरकार र विभागीय मन्त्री तथा सचिवहरूले मेसिन किन्ने विषयलाई बेवास्ता गरेका थिए। तर, हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार, यस सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मालगायतले पनि सो मेसिन किन्ने विषयलाई प्राथमिकतामा राख्न नसकेको बताइएको छ ।

मेसिन किन्ने मुख्य जिम्मेवारीमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि यस विषयलाई प्राथमिकतामा राखेर मेसिन किन्न आवश्यक पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ । मेसिन किन्ने कार्यमा भएको बेवास्ताका बारेमा मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालसँग जिज्ञासा राख्दा उहाँले यो विषय गम्भीर रहेको र यसका लागि यातायात व्यवस्था विभागले पहल गर्नुपर्ने बताउनुभयो ।

ईभी गाडीको क्षमता मापन गर्ने मेसिन आवश्यक भएनभएको निक्र्यौल गरी आवश्यक भएको देखिएमा खरिद प्रक्रिया अगाडि बढाउने जिम्मेवारी यातायात व्यवस्था विभागको भएकाले विभागबाट प्रस्ताव आएमा मन्त्रालयले सहजीकरण गर्ने प्रवक्ता ढकाले बताउनुभयो । उहाँले राजस्वसँग सम्बन्धित विषय भएकाले यसमा अर्थ मन्त्रालयले पनि आवश्यक चासो दिनुपर्ने स्पष्ट पार्नुभयो । यस विषयमा अब मन्त्रालयमा पनि आवश्यक छलफल हुने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

प्राविधिकहरूका अनुसार ईभीको चक्कामा के कति पावर आएको छ भनेर नाप्न च्यासी डाइनोमोमिटर प्रयोग गरिन्छ भने गाडीको वास्तविक क्षमता मापन गर्न मोटर डाइनोमोमिटर प्रयोग गरिन्छ । नेपालमा यी दुवै उपकरणहरू नहुँदा ईभी गाडीका आयातकर्ताले गाडीको क्षमताका बारेमा जस्तो कागजात पेस गर्छन् त्यसैलाई विश्वास गर्नुपर्ने अवस्था रहेको छ । जसका कारण पनि अर्बौं राजस्व ठगी भइरहेको बताइएको छ।

विदेशमा भने सरकारी निकायले नै यस्ता गाडीको क्षमता नापेर सोहीअनुसार राजस्व लिने गरेको प्राविधिकहरूको भनाइ छ। ती मेसिनको मूल्य झन्डै ५ करोड पर्छ। सरकारले ५ करोडको मेसिन किन्न नसक्दा ईभी गाडीबाट लिनुपर्ने झन्डै ५ अर्ब बराबरको राजस्व गुमेको स्रोतको दाबी छ। अहिले पनि उनीहरूकै कागजपत्रको भर पर्नुपरिरहेकाले ठगी भएको छैन भनेर कसरी विश्वस्त हुन सकिन्छ र ? त्यसैले तत्काल मेसिन किन्नुको विकल्प नरहेको सरोकारवालाको भनाइ छ ।

राजस्व अनुसन्धान विभागले यस सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समेत आवश्यक समन्वय गरी ईभी गाडीको क्षमता मापन सम्बन्धमा आवश्यक उपाय निकाल्नुपर्नेमा त्यस सम्बन्धमा कुनै गृहकार्य नभएको बुझिएको छ । साथै यस सम्बन्धमा सरकारका सरोकारवाला निकायको रूपमा रहेका राजस्व अनुसन्धान विभाग, भन्सार विभाग र यातायात व्यवस्था विभागबीचमा समेत कुनै समन्वय हुन सकेको छैन । सम्बन्धित सरकारी निकायहरूले मेसिन किन्न पूर्ण रूपमा बेवास्ता गर्नुले बीवाईडी गाडी आयातकर्ता साइमेक्स इंकसँग साँठगाँठ भएको त होइन भन्ने प्रश्नसमेत सिर्जना हुन थालेको छ।

हाल नेपालको जम्मा गाडी बिक्रीमा ईभी गाडीको बिक्री ७० प्रतिशत छ । यति धेरै मात्रामा ईभी गाडी बिक्री हुँदा पनि ती गाडीको परीक्षण गर्ने ५ करोडको मेसिन किन्न नसक्नुले सरकार ईभी गाडी आयातकर्ताबाट प्रभावित भएको हुन सक्ने आशंकालाई थप बल पुगेको छ।

यसअघि बजेटको समयमा सूचना चुहिँदा बजेट अघिमात्रै २५ सय ईभी गाडी रातारात नेपाल भित्रिएका थिए। यसले सरकारी अधिकारीहरूसँग ती व्यापारीको मिलेमतो भएको पुष्टि भएको थियो। यातायात व्यवस्था विभागअन्तर्गत रहेको सवारी परीक्षण कार्यालयलका एक अधिकृतका अनुसार दुई वर्ष अघिसम्म १ सय ५० किलोवाटकै गाडी आयात गर्ने गरिएको थियो तर अहिले आएर १ सय किलोवाटको गाडी आयात गर्ने गरिएको कागजपत्र पेस हुने गरेको छ, जुन शंकास्पद छ ।

निर्माता कम्पनीको वेबसाइट तथा अन्तर्राष्ट्रिय बजारमा एउटा क्षमता हुने तर त्यही गाडी नेपाल भित्रिँदा फरक क्षमता देखिनुले आशंका जन्माएको यातायात व्यवस्था कार्यालयका प्राविधिकहरूको दाबी छ। बीवाईडीले किलोवाट घटाएर नेपालमा यस वर्ष करिब ३ हजार गाडी बिक्री गरेको हुन सक्ने अनुमान राजस्व अनुसन्धान विभागले गरेको छ। नेपालमा साइमेक्स इन्कका मुख्य सञ्चालकको रूपमा यमुना श्रेष्ठ र समिर श्रेष्ठ रहनुभएको छ।