छिचोलियो फास्टट्रयाकको घट्टेपाखा–धेद्रे सुरुङ


हेटौंडा। 

देशलाई कायापलट गर्ने विश्वाससाथ बहुप्रतीक्षित काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्टट्रयाक) स्थित मकवानपुरको घट्टेपाखा–धेद्रे सुरुङको ब्रेक थ्रु भएको छ। 

धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ जाने १ हजार ६ सय ५ मिटर लामो सुरुङ जेठमा छिचोलिएको थियो । सोमबार भने काठमाडौँबाट निजगढतर्फ आउने १ हजार ७ सय ७२ मिटर लामो सुरुङ छिचोलिएको हो । धेद्रे–लेनडाँडा सुरुङमार्गको निर्माण ठेक्का चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ ।

सुरुङको प्रधानमन्त्री केपी शर्माओलीले सोमबार ब्रेक थु्र गरेका हुन् । कार्यक्रममा उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको बताए । उनले मुलुकमा अब विकास निर्माणको गति नरोकिने पनि बताए ।  उनले आधुनिक प्रविधि उपयोग र प्रविधि हस्तान्तरण गरी विकासको गतिलाई बढाउनुपर्ने बताए ।

उनले राष्ट्रिय आकांक्षा पूरा होस् भन्ने दृष्टिले सरकारले काम गरिरहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले द्रुतमार्गलगायत पूर्वाधारले यस्ता कार्यक्रमलाई सहयोग गर्ने उल्लेख गरे । द्रुतमार्गको सुरुङ निर्माणले देशलाई नयाँ युगमा प्रवेश गराएको उनले बताए । द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा र व्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान अर्थतन्त्रसँग जोडिएको स्पष्ट पारे ।

राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र पर्यटन उद्योग प्रवर्द्धन गर्न मुलुकको आत्मविश्वासको दृष्टान्तका रुपमा द्रुतमार्ग भएको प्रधानमन्त्री ओलीको कथन छ । प्रधानमन्त्री ओलीले आयोजनाहरुलाई सुरु गरेर छाड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । नयाँ योजना थाल्नुभन्दा पनि सुरु गरिएका आयोजना सम्पन्न गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । 

प्रधानसेनापति प्रभुराम शर्माले फास्टट्रयाक निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिए । २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने उनले घोषणासमेत गरे । उनले ललितपुरको बुङ्मति र खोकनामा जग्गा अधिग्रहणको काम सपार्नुपर्ने बताए । द्रुतमार्ग २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेकोमा १३ प्याकेजमा विभाजन गरी निर्माण जारी छ । 

दुई वर्षमा निर्माण सक्ने गरी २०७४ सालमा द्रुतमार्गको जिम्मा नेपाली सेनाले पाए पनि हालसम्म केही प्याकेजको ठेक्का लागेको छैन । सरकारले आयोजनाको म्याद थपेर २०८३ चैतलाई तोकेको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का कार्यान्वयन चरणमा छन् । प्रस्थान विन्दु ललितपुरको खोकना र अन्तिम विन्दु बाराको निजगढ रहेको मार्गको लम्बाइ ७० दशमलव ९ सय ७७ किलोमिटर छ । उक्त मार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । 

आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआर २०७६ भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरी काम सुरु गरिएको राष्ट्रिय गौरवको आयोजनाको प्रगति भने सुस्त देखिएको छ । जग्गा अधिग्रहण. स्वीकृत वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) तथा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (एसईआईए) बमोजिम आयोजना निर्माणका लागि करिब १७ हजार ६ सय ५१ रोपनी जग्गा अधिग्रहण आवश्यकमध्ये व्यक्तिगत जग्गा ५ हजार ४ सय ८७ रोपनी छ । हालसम्म ५ हजार २ सय ४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएकोमा ४ हजार ८ सय ११ रोपनी अधिग्रहण भइसकेको र ३ सय ९४ रोपनी अधिग्रहण बाँकी रहेको सेनाले जनाएको छ । 

हालसम्म ३१ हजार ७ सय ४३ रुख कटान भएको छ । मन्त्रिपरिषद्को २०८० पुस १२ को निर्णयअनुसार कटान स्वीकृति पाएका विभिन्न प्रजातिका ४ हजार ३ सय ४५ रुखमध्ये ३ हजार बढी रुख कटान गरी ती रुखहरुको बदलामा ७ लाख ५ हजार ५ सय ५२ बिरुवा रोप्ने कार्य भइसकेको छ । द्रुतमार्ग सम्पन्न भएपछि तराईबाट काठमाडौंसम्मको ढुवानी ४ घण्टाले छोटिने र सामान ढुवानीमा हरेक वर्ष ५० अर्बभन्दा बढी बचत हुने अनुमान छ । सुरुमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि लागत बढेर २ खर्ब ११ अर्ब ९३ करोड पुगेको छ ।