बाढी–पहिलो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न गृहमन्त्रीको निर्देशन 


काठमाडौँ  ।

 गृहमन्त्री रमेश लेखकले बाढी–पहिलो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशान दिएका छन् । सोमबार विहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४ औं बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् ।

महोत्तरी, बाँके, कास्की, संखुवासभा, कञ्चनपुर, भोजपुर चितवन लगायतका बाढी–पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय निकाल्न उनले जोड दिए । यस्तै गृहमन्त्री लेखकले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा कार्यविधि २०८१’ बनाउँदा विदेशी संस्थाबाट लिने साहयता र राष्ट्रिय सुरक्षाको विषयमा गम्भीर बन्न निर्देशन दिए ।

‘विपद्मा साहयता लिने कुरामा विदेशी संस्थाहरुको वान डोर इन्ट्री होस् । उहाँहरुबाट चाँडोभन्दा चाँडो सहयोग लिन सकियोस् । कुनै पनि विदेशी संस्थाले हामी कहाँ काम गर्छ भने त्यो संघको जानकारीमा हुनुप¥यो,’ उनले भनिन् , ‘वान डोरबाट जानुप¥यो भन्ने मलाई लाग्छ । कार्यविधि बनाउँदा यतातिर गम्भीरतापूर्वक हेर्नु होला । साथै यसमा राष्ट्रिय सुरक्षाको विषय पनि अत्यन्त संवेदनशील ढंगले जोडिने गर्छ । त्यसलाई पनि ध्यान दिनुपर्ला ।,’

गृहमन्त्री लेखकले आगामी दिनमा कार्यसमिति बैठकमा दैनिक प्रशासनीय विषय भन्दा नीतिगत विषयलाई एजेण्डा बनाउन निर्देशन दिए । ‘दैनिक प्रशासकीय कुराहरु प्राधिकरणले गरोस् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा नीतिगत कुरामा छलफल गरी निर्णयमा पुग्दा उचित हुन्छ । सहमति दिने, अनुमोदन गर्ने जस्ता विषयहरुको अधिकार प्राधिकारणको कार्यकारीजीलाई अधिकार प्रत्योजन गर्न सकिन्छ । यतिले पुग्दैन भने मन्त्रिपरिषदबाट नियम संशोधन गर्न सकिन्छ,’ उनले भने । 

बैठकमा उठेका विषयको कार्यान्वयनमा गम्भीरताका साथ लाग्न पनि गृहमन्त्री लेखकको निर्देशन थियो । प्राधिकारणले बैठकमा २०८१ को मनसुनले पारेको प्रभावबारे जानकारी गराइएको थियो । गृहमन्त्री लेखकको अध्यक्षमा बसेको बैठकमा विभिन्न मन्त्रालयका सचिव, तीन वटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।