पठक पत्र: मूल्य बढ्नासाथ लगानी गर्ने, डुबेपछि टाउकोमा हात राख्ने प्रवृत्ति



कुनै पनि वस्तु तथा सेवा खरिद गरेपश्चात् त्यसको बर्सैपिच्छे मूल्यमा गिरावट आउँछ । हाम्रो कानुनअनुसार जुनसुकै सवारीसाधन, घर, विमान (प्लेन) किनेर सम्बन्धित निकायमा दर्ता गरेपछि सोको मूल्य वार्षिक २५ प्रतिशतको दरले घट्ने व्यवस्था नै छ । सरकारले जन्मिएको मितिले १६ वर्ष पुगेपछि आफ्ना नागरिकलाई नागरिकता दिन्छ भने ६८ वर्ष पुगेपश्चात् ज्येष्ठ नागरिक भत्ता प्रदान गर्दछ । मानिस जन्मिएपछि मर्नुपर्ने स्वाभाविक प्रक्रिया नै हो । तर, उसले त्यसबीचको अवधिमा के–कस्ता काम गर्छ, त्यो महत्त्वपूर्ण हुन्छ । किनकि राम्रो काम गरेपछि मरेपश्चात् समेत त्यो व्यक्तिको याद गरिन्छ । यद्यपि, त्यसतर्फ प्रवेश नगरौँ ।

अहिले बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । झन्डै पाँच दशकअघि अर्थात् २०३२÷०३३ मा तोलाको १८ सय रहेको सुन अहिले बढेर डेढ लाख पुगेको छ। सुनको मूल्य बढाउनुमा सीमित व्यापारी तथा दलालीहरुको हात छ। अहिले डेढ लाखमा सुन किन्नेहरु भोलि मूल्य घट्नासाथ डुब्नेछन्। सुनको मूल्य सधैँ बढिरहने मात्र छैन । कुनै दिन त घटी नै हाल्छ। किनकि पाँच दशकअघि सुनको मूल्य तोलाको १८ सय थियो । भोलि फेरि यही मूल्यमा नझर्ला भन्न सकिँदैन । कुनै पनि वस्तुको मूल्य बढ्नासाथ त्यसमा आँखा चिम्लेर लगानी गर्ने हाम्रो प्रवृत्ति छ ।

उदाहरणकै लागि दुई वर्षअघि पनि शेयरको मूल्य ह्वात्तै बढेको थियो। त्यति बेला एक कित्ता शेयरकै ३२ सय रुपियाँ पुग्यो। हामी सर्वसाधारण शेयरमा त नाफा पो हुने रहेछ भनेर दलालीको लहैलहैमा लागेर आफ्नो भएभरको पैसा यही क्षेत्रमा लगानी गरियो। अनि शुरु भयो शेयरको मूल्य घट्न। एकाएक ३२ सय पुगेको शेयर गएको दुई वर्षको बीचमै सय रुपियाँमा बिक्री नहुने अवस्था सिर्जना भयो।

किनकि शेयरमा लगानी गरेका ठूला लगानीकर्ता (दलाली) हरुले त आफ्नो शेयर महँगोमा बेचिसकेका थिए । जब महँगोमा बेच्ने पालो साना लगानीकर्ता (सर्वसाधारण) को आयो तब उनीहरुको ह्वात्तै मूल्य घटाइदिए। अनि मूल्य घटेको समयमा किनेर अहिले ती दलालीहरु आफैंले शेयरको मूल्य बढाई बेचिरहेका छन् अथवा सर्वसाधारण फसाइरहेका छन्।

यसले शेयर होस् या सुन जुनसुकैको मूल्य बढ्दा पनि सर्वसाधारणलाई होइन सीमित दलाली वा व्यापारीलाई फाइदा हुने हो । यसतर्फ लगानी गर्नुपूर्व सोचविचार गर्न निकै जरुरी छ। अर्कोतर्फ, दशकअघि नेपालमा खेतबारी नै खेतबारी थियो । घर निकै कम थियो । घर भए पनि कच्ची माटोको हुन्थ्यो । तर, अहिले सबै सिमेन्टको बनेका पक्की घर छन्। काठमाडौं उपत्यकासहित देशभरका जिल्ला घरले भरिएका छन्। खाली जग्गा कमै देख्न पाइन्छ। देशभर एकाएक घर निर्माण हुनुको पनि छुट्टै कारण छ। २०२१ र २०३२ सालमा दुईपटक गरी सरकारले जग्गाको नापजाँच गर्‍यो। २०२१ सालअघि कोहीसँग पनि जग्गाको लालपुर्जा थिएन।

यद्यपि, सरकारले जग्गाको नापजाँच गरी व्यक्तिको जग्गा व्यक्तिलाई नै दियो अथवा लालपुर्जा दियो । २०२१ सालमा जग्गाको नापजाँच गरी लालपुर्जा दिइएकोमा कतिपय व्यक्तिले आफ्नो जग्गा नापजाँच गर्न छुटेको पुनः गर्न माग गरेपछि ०३२ सालमा पनि जग्गाको नाप गरिएको हो । अनि ०३२ सालमा गरिएको नापमा अधिकांश व्यक्तिले सरकारी कर्मचारी, कानुन व्यवसायीको आडमा सरकारी/सार्वजनिक जग्गासमेत आफ्नो नाममा दर्ता गराए ।

यता, २०३९ सालसम्म नेपाल खाद्यान्नमा पूर्ण आत्मनिर्भर थियो । त्यति बेला अन्य मुलुकलाई अनुदानस्वरुप खाद्यान्न दिने हाम्रो देश आज त्यही खाद्यान्नका लागि विदेशीको गुलामी गर्नुपर्ने अवस्थामा पुगेको छ । छिमेकी राष्ट्र भारत वा अन्य देशले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने परिस्थित सिर्जना भएको छ । २०४१ सालअघि जग्गाको खण्डीकरण वा प्लाटिङ गरिँदैनथ्यो । ०४१ सालमा भूमाफिया, जग्गा दलालीहरुले खेतीयोग्य जमिनसमेत प्लाटिङ गर्ने पोलिसी ल्याए । र, सोहीअनुरुप अघि बढे । गरिब कृषकसँग रोपनीको पाँच/दश हजारमा जग्गा खरिद गरे। अनि त्यो जग्गामा डोजर चलाई खण्डीकरण गरेर आनाकै ६० देखि ७० लाखमा बेचबिखन गरे । अटो शोरुमहरुले पनि भारतमा एक लाखमा पाइने सवारीसाधन नेपलमा पाँच लाखदेखि २५ करोडसम्ममा बेचे ।

०४० सालअघि नेपालको एक रुपियाँ पनि विदेशी ऋण थिएन । तर, चार दशकको बीचमा नेपाल सरकारले विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ । अहिले प्रत्येक नेपाली जनताको टाउकोमा लाखौं रुपियाँ विदेशी ऋण छ । साढे चार दशकअघि मुलुकमा सरकारी बैंकबाहेक प्राइभेट बैंक तथा वित्तीय संस्था थिएनन् । सरकारी बैंकहरु कृषि विकास बैंक, नेपाल राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेड मात्रै थिए ।

त्यति बेला कमै जनता बैंकका ऋणी थिए अथवा कोही पनि ऋणी नै थिएनन् भन्दा पनि हुन्छ । भनिन्थ्यो, ऋण भनेको घिन हो । तर, अहिले हरेक जनता ऋणी छन् । कोही बैंकको ऋणी छन् त कोही लघुवित्त, सहकारी, फाइनान्सको । त्यस्तै, अधिकांश व्यक्तिका पनि ऋणी छन् । घरजग्गा, गाडी, शेयरजस्ता वस्तुमा लगानी गर्न बैंक, वित्तीय संस्थाबाट समेत सर्वसाधारणले कर्जा लिएका छन् । अहिले त्यही कर्जा तिर्न नसकेर उनीहरुको उठीबास लागेको छ । चार दशकको बीचमा नेपालमा थुप्रै विदेशी लगानी भित्रिएको छ ।

अहिले मुलुकमा सञ्चालित प्राइभेट बैंकहरुमा सबै विदेशी व्यक्तिको लगानी छ । हामी सर्वसाधारण कर्जा लिएर विदेशीलाई ब्याज तिरिसकेका छौं । यता, सरकार पनि विदेशीसँग ऋण लिई ब्याज तिरिरहेको छ, त्यो पनि जनताले तिरेको करबाट । रोचक त के छ भने, जनता र सरकार दुवै विदेशीलाई नै ब्याज तिरिरहेका छन् । अनि कसरी हाम्रो देश उँभो लाग्छ ? हामी यहाँ कर्जा लिएर घर बनाइरहेका छौं तर फाइदा विदेशीलाई भएको छ ।

किनकि त्यो घर बनाउँदा त नेपालमा सञ्चालित विदेशीको बैंकले कर्जा प्रवाह गरेको हुन्छ नि त । हामी नेपाली विदेशीलाई धनी बनाउने काम गरिरहेका छौं तर अहिले पनि हामीले यो कुरा बुझ्न सकेका छैनौं । अहिले सहकारीका बचतकर्ताहरु आन्दोलित छन् । सहकारीले पैसा खाइदिएपछि घर न घाटका बनेका उनीहरु आन्दोलन गरिरहेका छन् । कहिले माइतीघरमा अनशन बस्छन् त कहिले साङ्लो बनाएर आन्दोलन गर्छन् ।

समय एउटा चक्र हो । भनिन्छ कि समय फर्केर आउँदैन । समय निकै महत्त्वपूर्ण हुन्छ । समयानुसार चल्न नसक्ने व्यक्तिले भविष्यमा प्रगति गर्न नसक्ने बताइन्छ । यता, बिहान भएपछि घाम लाग्छ त बेलुका भएपछि अँध्यारो वा रात पर्छ । कुनै बेला रजगज चलेको बैंक, वित्तीय संस्था आज टाट पल्टिने अवस्थामा पुगेका छन् । हिजो यिनीहरुले सीधासाधा जनतालाई ठग्नु ठगे । करोडौंको धितो लाख रुपियाँ ऋणमा पचाएर ऋणीलाई सडकछाप बनाइदिए । बचतकर्ताको समेत पैसा खाइदिएका छन् । बैंक, वित्तीय संस्थाबाट नठगिएको शायदै कोही होला । तर, पर्दाभित्र बसेर बैंक, वित्तीय संस्थाबाट सर्वसाधारण ठग्न लगाउने नेताहरु नै हुन् । किनकि यिनीहरुकै कार्यकर्ताले बैंक, वित्तीय संस्था खोलेका छन् । बिमा कम्पनी खोलेका छन् । घरजग्गा, गाडी र शेयर दलाली पनि यिनैका कार्यकर्ता हुन् ।

राजनीतिक दलहरुकै कारण सर्वसाधारण ठगिएका छन् । देश कंगाल भएको छ । दलहरुले देशको विकास होइन, विनाश गरेका छन् । अहिले देश र जनता नै ऋण भएका छन् । पहिला काल आएर मानिसको ज्यान जान्थ्यो भने अहिले बैंक, वित्तीय संस्थाको ऋण तिर्न नसकेर, बचत खाइदिए वा खान नपाएर जनताले आत्महत्या गरिरहेका छन् ।
– रुषा थापा, भक्तपुर ।