पार्टीमा गुटबन्दी अन्त्य गर्ने ओली उद्घोष: ‘पेलेरै गुटबन्दी अन्त्य गर्ने कि समेटेर ?’

364
Shares

काठमाडौं ।

सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र पछिल्लो जिम्मेवारी बाँडफाँटलाई लिएर असन्तुष्टि छाइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई गुटविहीन बनाउने दाबी गर्दै कसैलाई पनि गुट नबनाउन चेतावनी दिनुभएको छ।

तर, अध्यक्ष ओलीले पार्टीभित्र सबैलाई मिलाएर भन्दा पनि आफूअनुकूल पेलेरै लाने नीति अपनाएको भन्दै असन्तुष्टि देखिएको छ। अध्यक्ष ओलीले बिहीबार प्रदेश इन्चार्जदेखि केन्द्रीय कमिटीमा जिम्मेवारी दिएको विषयलाई लिएर कतिपय अग्रज नेताहरूले असन्तुष्टि जनाएका छन्। यस्ता असन्तुष्टि सुनिएपछि ओलीले पार्टीमा कुनै गुट बनाउने कुरा स्वीकार्य नहुने चेतावनी दिनुभएको हो।

आइतबार पार्टीको नवनियुक्त उपाध्यक्ष, केन्द्रीय सदस्यसहित नयाँ जिम्मेवारीमा आएका नेताहरूको शपथग्रहणमा ओलीले असन्तुष्ट स्वरहरूलाई निस्तेज गर्ने अभिव्यक्ति दिनुभयो। उहाँले पार्टीमा कुनै पनि हिसाबले गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिँदै भन्नुभयो– ‘हाम्रो पार्टीमा कतिपयले डेमोक्रेसीका नाममा उचाल्ने काम गरिरहेका हुन्छन्। तर, म गुटबन्दीलाई पार्टीमा छेउ पनि पर्न दिन्नँ आफू पनि गर्दिनँ ।’ यद्यपि, उहाँले यसो भन्दै गर्दा दोस्रो पुस्ता नेताहरूबीच नै संघर्ष चलिरहेको पाइन्छ। पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच नेतृत्वसँग को नजिक हुने र पार्टीमा हाबी हुने भन्ने प्रतिस्पर्धा नै चलेको नेकपा एमालेका एक पदाधिकारीले बताए।

पार्टी अध्यक्षलाई नै मन्त्री छनोटको जिम्मेवारी दिएको एमालेले ओलीले आफू निकटकालाई मात्रै सरकारमा पठाएको आरोप खेप्नुपरेको छ । योसँगै पार्टीको जिम्मेवारी हेरफेरमा समेत यसैको निरन्तरता रहेको नेताहरूले टिप्पणी गरेका छन् । ‘अध्यक्षले फरक विचार भएकालाई पेलेरै गुटबन्दी अन्त्य गर्ने कि समेटेर ? भन्नेमा अन्योलमा छौं, उहाँ पेलेरै अघि बढ्ने मुडमा पुग्नुभएको देखिन्छ, जसलाई राम्रो मान्न सकिँदैन, सबैलाई समेट्नुपर्छ भन्ने हाम्रो मान्यता हो’ –नेताहरूको भनाइ छ।

‘पार्टीलाई गुटरहित बनाउने भनेको आफ्ना वरिपरि घुम्नेहरूलाई मात्रै अवसर दिने भनेको जस्तो भएको छ’, नेकपा एमाले निकट रहेका एक वाम विश्लेषकले नेपाल समाचारपत्रसँग भने– ‘पार्टीमा विभिन्न विचार समूह हुन्छन् । ती विचार समूहले फरकफरक विचार निर्माण गर्छन् र पार्टी बलियो हुन्छ। तर, पछिल्लो समय एमाले पार्टीमा फरक विचार राख्नेहरू सधैं विद्रोहीजस्तो हुनुपरेको छ। नेतृत्वले नै सरकारमा पठाउँदा होस् या पार्टीको जिम्मेवारी दिने सन्दर्भमा समेत फरक विचार राख्नेलाई पाखा लगाउने नीति अपनाएको देखिन्छ । यसले नेताहरूबीच थप आशंका र द्वन्द्व हुन सक्छ ।’

ओलीको अभिव्यक्ति र कार्यशैलीमा फरक रहँदै आएको पार्टीकै कतिपय नेताहरूले बताएका छन् । गत मन्त्रिपरिषद्मा सिफरिस गर्दा समावेशिताको सिद्धान्तलाई अंगीकार नगरेका प्रधानमन्त्री ओलीले आफू वरिपरि घुम्नेहरूलाई मात्रै मन्त्री बनाएर बेलाबखत असन्तुष्टि व्यक्त गर्नेहरूलाई पाखा लगाएको आरोप छ।

त्यस्तै बिहीबार प्रदेश इन्चार्ज तोक्ने सन्दर्भमा पनि अध्यक्ष ओलीले पुरानै शैली अपनाएको नेताहरूले टिप्पणी गरेका छन् । तर, उनीहरूले सार्वजनिक रूपमा खुलेर बोल्न सकेका छैनन्। अध्यक्षओलीले पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका नेताहरूलाई तर्साउने गरी अब गुट अस्वीकार्य नहुने चेतावनी दिएसँगै नेताहरूले बोल्नुअघि होस पुर्‍याउनुपर्ने अवस्था आएको एमालेका एक केन्द्रीय सदस्यले बताए। लोकतन्त्रको लामो अभ्यास गरेको एमालेभित्र फरक विचार राख्दैमा नेतृत्वको नजरमा सधैं विद्रोही सावित हुने भय नेताहरूमा थपिएको उनको भनाइ छ ।

गत महाधिवेशनमा ओलीसँग अध्यक्ष लडेका भीम रावल पार्टीबाट निस्काशन जस्तै हुनुपरेको छ भने केही समय माधव नेपाल समूहमा लागेका १० भाइ नेताहरूले पार्टीमा कुनै महत्वपूर्ण जिम्मेवारी पाउन सकेका छैनन्। गुटविहीन एमाले बनाउने ओलीको परिकल्पना भनेकै पार्टीमा एकाधिकार कायम गर्ने जस्तो देखिएको नेताहरूको टिप्पणी छ।

यसले पार्टी अनुशासनमा केही राम्रो गरेजस्तो देखिए पनि निर्वाचनमा आन्तरिक असहयोगको खतरा बढ्ने कतिपय नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।