त्रिविमा लफडा : पदाधिकारीका कारण नीति तथा कार्यक्रम पास हुन सकेन

4.89k
Shares

–स्वागत मन्तव्य पढ्न नपाएकोमा उपकुलपति दुःखी
–नीति तथा कार्यक्रम अनिश्चित
–त्रिवि भन्छ : बजेट पास भइसक्यो

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको गम्भीर त्रुटिका कारण त्रिविको नीति तथा कार्यक्रम पास हुन नसकेको खुलासा भएको छ । पदाधिकारीले त्रिवि सभामा पास गर्ने तयारी गरेको नीति तथा कार्यक्रमको बारेमा बुँदागत छलफल गर्न कुलपति एवं प्रधानमन्त्री केपी ओलीसमक्ष समयमै ड्राफ्ट पेस गर्नुपर्ने व्यवस्था छ। त्यसो नगरेका कारण कुलपतिले हाललाई नीति तथा कार्यक्रम पास नहुने जनाउ दिनुभएको थियो।

उपकुलपतिसँग नीति तथा कार्यक्रमका बारेमा बेलैमा जानकारी दिन नसक्दा नीति तथा कार्यक्रम पास हुन नसकेको हो । अघिल्ला उपकुलपतिहरूले सिनेटमा पास गर्ने नीति तथा कार्यक्रम १५ दिनअगावै कुलपतिलाई दिने र कुलपतिले बुँदागत छलफल गरेपछि मात्र सभामा पेस गर्ने परम्परा थियो ।

हालका पदाधिकारीले कुलपतिसमक्ष तीन दिनअघि बैठकमा उपस्थिति हुन निमन्त्रणा पत्रसहित नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो । हतारमा पेस गरेको नीति तथा कार्यक्रम अध्ययन गर्न नभ्याएको कारण पछि पेस गर्ने निर्णय भएको हो। स्रोतका अनुसार अधिकांश बुँदा उपकुलपतिले मनोमानी रूपमा पेस गरेको कारण पास हुन नसकेको हो। पूर्वपदाधिकारीका अनुसार १५ दिनअघि नीति तथा कार्यक्रमका ड्राफ्ट पेस गरेपछि कुलपतिसहितको अधिकारीले अध्ययन गर्ने चलन छ । बुँदागत छलफल गरी कुलपतिको अनुमति लिएपछि मात्र सिनेटमा पेस गर्ने प्रचलन छ ।

त्यसविपरीत एकाएक नीति तथा कार्यक्रम तयार गरेर प्रस्तुत गर्न थालेपछि कुलपतिले रोक्नुभएको ती पदाधिकारीको भनाइ छ । अघिल्ला प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल र शेरबहादुर देउवा, केपी शर्मा ओलीलगायत सबै कुलपतिको कार्यकालमा नीति तथा कार्यक्रमलाई पूर्ण अध्ययन गरेपछि मात्र सिनेटमा पेस गर्ने र बैठकले पारित गर्ने प्रचलन थियो । ‘त्यसो नगरी एकाएक पारित गर्ने गरी उपकुलपतिसहितका पदाधिकारीले कुलपतिलाई पेस गरेका कारण समस्या भएको हो’ –पूर्वपदाधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

तीन पदाधिकारीले मनोमानी गर्न खोजेको कारण कुलपतिले नीति तथा कार्यक्रम केही दिनका लागि रोक्नुभएको ती पदाधिकारीको भनाइ छ । साधारणतया त्रिविसभा त्रिविको वार्षिक दिवसको अवसरमा बस्ने परम्परा छ। त्यस सभामा ग्रेस लिस्ट र बजेट पारित गर्ने गरिन्छ । हिउँदे सभामा कानुन संशोधन गर्ने र आवश्यक परेमा नयाँ कानुन निर्माण गर्ने हो।

साउन १५ मा बसेको सिनेटले ग्रेस लिस्ट पारित गर्ने एजेन्डासहित सभा बस्यो । सोही अनुसार ग्रेस लिस्ट र बजेट पनि पारित भएको छ । त्रिविसभा विश्वविद्यालयको व्यवस्थापिका हो। सबै प्रस्ताव १५ दिनअगावै सिनेट सदस्यसमक्ष पुर्‍याउनुपर्छ। त्रिविका पदाधिकारीले त्यसो नगरी प्रि–सिनेटको नाममा एक दिनअघि मात्र पेस गरेका थिए । प्रि–सिनेटमा समेत नीति तथा कार्यक्रमको विवाद भएको थियो।

‘प्रि–सिनेटमा पनि सभासद्को चर्को विरोधका कारण बजेट र ग्रेस लिस्ट गरी दुई एजेन्डा मात्र सभामा लाने सहमति भएको थियो। तर, पदाधिकारीहरूले सभामा सबैलाई छलेर नीति तथा कार्यक्रम समेटेपछि प्रधानमन्त्री तथा कुलपतिले आफूसँग कुरा भएअनुसार हाललाई नीति तथा कार्यक्रम पेस गर्ने काम स्थगित गर्नुभएको हो’ –स्रोतको भनाइ छ।

त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले कुलपतिसँग छलफल भएअनुसार नीति तथा कार्यक्रम पेस गरेको दाबी गर्नुभयो । ‘हामी तीनै जना पदाधिकारी कुलपतिसँग भेट गर्न बालुवाटार पुगेका थियौं, लामो समय छलफल भयो। उहाँकै निर्देशनअनुसार नीति तथा कार्यक्रम सभामा पेस गरेका हौं’ –उपकुलपति प्राडा बरालको भनाइ थियो। उहाँले नीति तथा कार्यक्रमको बारेमा कुलपति ओलीलाई केही दिनअघि नै जानकारी दिएको बताउनुभयो ।

‘नियमअनुसार त्रिवि सिनेटको बैठक बस्नु १५ दिनअघि सिनेटका सदस्यलाई निति तथा कार्यक्रम र बजेटको कपी उपलब्ध गराउनुपर्छ । त्यसअघि कुलपति र सहकुलपतिसँग छलफल गरी नीति तथा कार्यक्रम तयार गर्नुपर्ने परम्परा छ’ –त्रिविका पूर्वउपकुलपति प्राडा धर्मकान्त बास्कोटाले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँले आफू उपकुलपति हुँदा तत्कालीन कुलपति शेरबहादुर देउवासँग सिनेटरलाई नीति तथा कार्यक्रमको ड्राफ्ट दिनुअघि कुलपतिसँग व्यापक छलफल गरी सिनेटमा पेस गरेको स्मरण गराउनुभयो।

उहाँले भन्नुभयो– ‘अहिलेका उपकुलपतिले केही कमजोरी गर्नुभएको कारण समस्या देखिएको हो ।’ उच्च स्रोतका अनुसार उपकुलपतिले नीति तथा कार्यक्रममा आफूअनुकूलको विषयवस्तु पेस गरेका कारण सभामा पेस हुन नसकेको हो । उपकुलपति प्राडा बरालले त्रिविको भिजन २०३० र राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार आफूले नीति तथा कार्यक्रम तयार गरेको स्पष्ट पार्नुभयो।

उहाँले त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष लालुप्रसाद पौडेल समितिले तयार गरेको नीति तथा कार्यक्रमलाई सभामा पेस गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब कुलपतिज्यूले कहिले नीति तथा कार्यक्रम पास गर्नुहुन्छ थाहा छैन, समग्रमा बजेट पास भएपछि नीति तथा कार्यक्रममा उल्लेख भएको व्यवस्थाअनुसार बजेट परिचालन हुनेछ ।’

उपकुलपति बरालले आफूलाई नीति तथा कार्यक्रम पारित नभएकोमा कुनै गुनासो नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘मेरो एउटामात्र आपत्ति छ मलाई स्वागत मन्तव्यसमेत गर्न दिइएन, त्यसमा नरमाइलो लागेको छ ।’ उहाँले सबै प्रक्रिया पूरा गरेर नीति तथा कार्यक्रम तयार गरेको दाबी गर्नुभयो ।