पाँचतारे टाइगर प्यालेसका ६० कर्मचारी पुनर्वहालीको माग गर्दै होटल परिसरमै धर्नामा

308
Shares

बुटवल ।

रुपन्देहीकै पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी सञ्चालनमा रहेको पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्टमा नयाँ ब्यवस्थापन आएसंगै विवाद बढेको छ । एक वर्षअघि नयाँ व्यवस्थापनमा सेवा शुरु गरेसंगै तिलोत्तमा नगरपालिकास्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टमा कहिले कर विवाद त कहिले कर्मचारी आन्दोलनका कारण विवाद सृजना भएका हुन् ।

गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीसहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्दै शुरुवातमा विरोध भएको थियो । अहिले आएर कर्मचारी पुनर्वहालीको माग गर्दै आन्दोलनले नयाँ रुप लिएको छ । उनीहरुले श्रमिकहरुसँग २०८० पुस १३ गते गरेको सम्झौता पत्रको कार्यान्वयनमा व्यवस्थापन पक्षले चासो नदिएको भन्दै आन्दोलित भएका हुन । उनीहरुले रिसोटको बाहिर धर्ना सुरु गरेका छन् ।

कोरोनाकालमा निष्कासन गरिएका र अहिले पुनर्बहाली गरेका कर्मचारीहरुले सम्झौता पत्रमा पाउनुपर्ने उल्लेख भए पनि हालसम्म नपाएको उनीहरुको भनाई छ । श्रम अदालतले गरेको फैसला अनुसार क्षतिपूर्तिसहित प्रतिव्यक्ति १२ देखि १५ लाखसम्म कम्पनीले दिनुपर्ने भएपनि कर्मचारीहरुले कम्पनीको अवस्थालाई हेर्दै नयाँ व्यवस्थापन टिमसँग सम्झौता गर्दा प्रतिव्यक्ति राजीनामाको हकमा २ लाख ७० हजार र पुनर्बहालीको हकमा १ लाख ६५ हजार दिनुपर्ने सहमति गरिएको संघर्ष समितिका संयोजक चित्रबहादुर भण्डारीले बताउनु भयो । उहाँले राजीनामा दिएकाहरुलाई तत्कालै भुक्तानी दिनुपर्ने र पुनर्बहाली नभएकाहरुलाई किस्ताबन्दीमा दिनुपर्ने उल्लेख भए पनि हालसम्म कम्पनीले सम्झौतालाई कार्यान्वयन नगरेकाले आन्दोलन गर्नु परेको उहाँको भनाइ छ ।

नेपाल पर्यटन तथा होटल संबद्ध श्रमिक संघ का अध्यक्ष रोशन गुरुङ अनुसार कोरोनाको बेला निष्कासन गरिएकाहरुमध्ये क्यासिनोमा ४३ जना र होटलतर्फ २२ जनालाई पुनर्बहाली गरिएकोमा अझै क्यासिनोतर्फ १८ जना र होटलतर्फ चार जनालाई पुनर्बहाली गरिएको छैन । उहाँले आफूहरु अन्याय परेको हुँदा पनि कतैबाट साथ नपाएको बताउनु भयो । उहाँका अनुसार १ लाख ६५ हजारको दरले ८७ जनाको बक्यौता पारिश्रमिक जोड्ने हो भने ३६ लाख ३० हजार ६५ हजार रुपैयाँ बक्यौता देखिन्छ ।

यता श्रम अदालतले गरेको फैसला हेर्ने हो भने निकालिएकोदेखि पुनर्बहाली गरेको समयसम्म खाइपाई गरी आएको तलब गरी प्रतिव्यक्ति १२ लाख २५ हजार देखिन्छ । यसरी बक्यौता रकम जोड्ने हो भने १० करोड ६२ लाख ७५ हजार हुन आउँछ । तर स्थानीय स्तरमा पाँचतारे होटेल सञ्चालनमा रहेको र होटलको पछिल्लो अवस्था अत्यन्तै दयनीय भएको भन्दै पीडित श्रमिकहरुले होटलको अवस्था हेरेर आफूहरुले कम हिसाब गरे पनि टाइगर वान प्रालिले उक्त रकम समेत नदिने आलटाल गर्दै आएको गुनासो पोखेका छन । तर होटल का प्रमुख भने यसबारे बोल्न चाहदैनन ।