नेपथ्यको गुञ्जन

14
Shares

लोकप्रिय र पुरानो सांगीतिक पप ब्यान्ड नेपथ्य हरेक पुस्तामाझ उत्तिकै लोकप्रिय छ। ९० को दशकमा स्थापित ब्यान्डले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, जोमसोमै बजारमा, भेडाको उनजस्तो, हिमाल चुचुरे, रेशम, चरी म¥यो सिसैको गोलीलेजस्ता गीतमार्फत् जनमानसमा लोकपप, लोकरक शैंलीका गीत संगीत प्रस्तुत गर्दै आएको छ।

म्युजिक लभरमाझ लोक तथा रक शैलीका गीतमा स्वाद बसाउने नेपथ्य देशदेखि विदेशसम्म सर्वाधिक व्यस्त ब्यान्डमध्ये एक हो । सन् १९९३ मा पोखरेली युवाहरू अमृत गुरुङ दीपकजंग राणा, भीम पुनहरूबाट शुरू भएको ब्यान्डमा पछि रविन श्रेष्ठ, सुरेश पुन र बुद्धि गुरुङहरू जोडिएका थिए।

कन्सर्टका लागि हाल अमेरिका पुगेको ब्यान्डले सन् १९९३ मा आफ्नो पहिलो गीतको रूपमा आँगनैभरि हिउँ ल्याएको थियो। हालसम्म नेपथ्य ब्यान्डमा भित्रिने र बाहिरिने सदस्यको संख्या लामै छ । हाल ब्यान्डका भोकलिस्टमा अमृत गुरुङ छन् भने ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गीतारमा सुविन शाक्य, गीतारमा निजर गुरुङ र मादलमा शान्ति रायमाझी रहेका छन्। सन् २०१० सम्म एल्बम निकालिरहेको ब्यान्डले त्यसयता एकल गीत सार्वजनिक गर्दै आएको छ।

शब्द, संगीत र लयजस्ता गीतका तीनै महत्वपूर्ण पक्षले दर्शकलाई मोहित तुल्याउन सफल नेपथ्यले तीन दशक लामोे यात्रा तय गरिसकेको छ।

ब्यान्डमा रहेका अमृत गुरुङ र दीपकका साथमा सुरेश पुन, बुद्धि गुरुङ र नेपथ्यका पुराना भोकलिस्ट रविन श्रेष्ठ मिलेर सन् १९९३ मा ब्यान्डकै नामबाट पहिलो एल्बम नेपथ्य तयार पारेका थिए।

पहिलो एल्बमका लागि गीत रेकर्ड गर्दा ब्यान्डका सदस्यहरूले पाँच–पाँच हजार उठाएका थिए । उनीहरूले हङकङ जान ठिक्क परेका एकजना साथीसँग १८ हजार लिएर तीन सय प्रतिएल्बम निकालेका थिए । एल्बम बिक्री गरेर पैसा पाएपछि मात्र ती साथी हङकङ गएका थिए।

महँगा होटल तथा हलमा तामझामका साथ एल्बम रिलिज गर्ने त्यो जमानामा उनीहरूले कमलादीस्थित गणेश मन्दिरमा पुगी गणेशलाई एल्बम देखाएर रिलिज गरेका थिए।


नेपथ्य शब्दको अर्थ ब्याकग्राउन्ड अर्थात् पर्दापछाडिको स्थान हुन्छ । यो नाम नेपथ्य स्थापनाकालका एक सदस्य दीपकजंग राणाले जुराइदिएका थिए । दीपक हाल पाइलट छन्। ब्यान्ड स्थापनाकालकै सदस्य भीम पुन पहिलो एल्बम रिलिज गर्नुअघि नै विदेशिएका थिए। दीपकजंग राणा पाइलट पढ्न विदेशतिर लागेका थिए। त्यस्तै, ब्यान्डका प्रमुख भोकलिस्ट रविन श्रेष्ठ पनि हङकङ पुगेका थिए। रविन हाल बेलायतमा छन्।

नेपथ्य ब्यान्डलाई निरन्तरता दिने क्रममा अमृत गुरुङ धेरैपटक विचलित भएका छन्। आफ्ना साथीहरूले क्रमैसँग ब्यान्ड छोडेपछि एक्ला बनेका गायक अमृत दीपकजंग राणा पाइलट अध्ययनका लागि जर्मनी जाँदा निकै विछिप्त बनेका थिए। त्यही रात उनले अभावैअभाव भयो तिमीबिना यो जीवन बोलको गीत लेखेका थिए।

अमृत गुरुङका पिताले उनलाई गीत संगीतमा लागेर भविष्य राम्रो हँुदैन भनेका थिए। उनका पिताले भनिरहन्थे रे बाटुलेचौर (पोखरास्थित अमृतको गाउँ) मा नपढेका गाइने छन् । हाम्रो घरमा चाहिँ पढेको गाइने छ।

ब्यान्डका प्रमुख भोकलिस्ट अमृत गुरुङलाई सन् २००५ मा फ्यारेन्जाइटिस रोगका कारण घाँटीमा समस्या भएको थियो। हाई पिचमा गाउने बानी भएका उनलाई डाक्टरले अब गीत नगाउ भन्दा ठूलो झट्का लागेको थियो। उनले सो समस्याका कारण जुस, मासहारी खाना, मदिराजस्ता धेरै खालका खानेकुरा त्यागेका छन्। त्यस्ता खाने कुरा या गायन क्षेत्रमध्ये एक छान्नुपर्ने भएपछि उनले खाने कुरा त्यागेका थिए।

सन् २०१३ मा नेपथ्य ब्यान्डले लन्डनस्थित संसारकै प्रसिद्धमध्ये एक वेम्ब्ली एरिनामा आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो। नेपथ्य नै त्यहाँ प्रस्तुति दिने पहिलो नेपाली ब्यान्ड थियो।

नेपथ्यले देशमा द्वन्द्व चरम अवस्थामा पुगेका बेला सन् २००२ मा देशका विभिन्न स्थानमा म्युजिकल टुर गरेको थियो। त्यसपछि विभिन्न मितिमा सुन्दर शान्त नेपाल, शान्तिका लागि शिक्षा, नेपथ्य फर अल, मानवताका लागि संगीतजस्ता कन्सर्टमार्फत नेपथ्यले सामाजिक कार्यका लागि पहल गर्दै आइरहेको छ। ब्यान्डले सांगीतिक यात्रामार्फत उठेको करोडौं सामाजिक कार्यका लागि खर्चिएको पनि छ।

सुन्दा अचम्म पनि लाग्न सक्छ यति ख्याति कमाएका गायक अमृत गुरुङ खेतबारी र गोठमा सहजै काम गरिरहेको अवस्थामा भेटिन्छन्। हो, कन्सर्ट र कार्यक्रम नभएका समयमा गायक अमृत गुरुङलाई पोखरास्थित आफ्नै खेतवारी र गोठमा काम गरिरहेको भेटिन्छ।

कार्यक्रम नभएका बेला पोखरास्थित आफ्नो गाउँमै बसोबास गर्ने अमृत जतिसक्दो हिँडेरै यात्रा तय गर्ने गर्दछन्।