कुटपिटको घटना थमथमाउन पूर्वआईजीपीको शक्ति प्रयोग

जाहेरी लिएन, अभद्रमा मुद्दा चलाइयो

238
Shares

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भलिबल खेलमा सामान्य विवाद हुँदा जातीय विभेदसँगै कुटपिटसमेत भएको छ । यही १० गते माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङस्थित बाराही आधारभूत माविको खेलमैदानमा दिउँसो भलिबल खेल्दा सामान्य भनाभन भएको थियो।

विशाल परियार र अमृत गौतमबीचको विवादलाई लिएर अर्का व्यक्ति अरुण गुरुङले ‘तँ दमैलाई मार्दिन्छु’ भन्दै मैदानमै धम्काएका थिए। गुरुङले परियारकै अघि फोन गरेर अन्य व्यक्तिलाई समेत बोलाएको आरोप छ। अरुणले राति १० बजेको समयमा विशालको घरमा पुगी झ्यालढोका तोडफोड गरी उनलाई कुटपिट गरेका थिए। छोरालाई जोगाउँदा आमा माथिसमेत उनीहरूले प्रहार गरेका थिए।

गुरुङ बस्ती रहेको उक्त समुदायमा यसअघि यस्ता घटनाहरू भइरहे पनि बाहिर आउन सकेको थिएन। घटनापश्चात् पीडित पक्ष जाहेरी दिन वडाप्रहरी कार्यालय बगर जाँदा पूर्व आईजीपी हेमबहादुर गुरुङको दबाबका कारण जाहेरी दर्ता हुन सकेन। विशालले अरुण गुरुङ, आशिष गुरुङ, राजेश गुरुङ देवी गुरुङ, अस्मिता गुरुङ, अमृत गौतम, अनिल विक र विनोद विक गरी सात जनाविरुद्ध जाहेरी दिए पनि प्रहरीले दर्ता नगराएपछि अभद्र व्यवहारको मुद्दा हाल्न बाध्य हुनुभएको हो।

‘खासमा मेरो विवाद अमृत गौतमसँग हो अरुण गुरुङसँग होइन । अमृतले मुख छाडेपछि मैले भाइ त्यस्तो नबोल राम्ररी खेल भन्दा एक्कासि अरुण गुरुङले ‘तँ दमैलाई मार्दिन्छु’ भन्दै अरूलाई मेरैअघि फोन गर्‍यो। मैले त सामान्य विवादमै सकिन्छ भन्ने सोचेको थिएँ’, विशालले भन्नुभयो– ‘राती घरमै आएर मार्दिन्छु कतै नभाग भनेर धम्की पनि दिएको थियो नभन्दै राती साढे १० बजे घरमा आई तोडफोड गरी म र आमालाई कुटपिट गरे।’

उक्त घटनाको भिडियोमा चिर्पट दाउराले प्रहार गरेको स्पष्ट हुँदासमेत प्रहरीले अभद्र व्यवहारको मुद्दा नचलाउनुले पीडकसँग प्रहरी मिलेको प्रष्ट हुन्छ। जिल्ला प्रहरी कार्यालयमा पुगी गेटमा समेत नाम टिपाई मुद्दा शाखामा पुगेका उनीहरूलाई त्यहीँबाट प्रहरीले वडाले हेर्ने मुद्दा भन्दै फर्काएको पाइन्छ।

वडा प्रहरीले पहिला जाहेरी नै लिन नमाने पनि पछि भने जाहेरीमा किटान भएका पूर्वआईजीपी हेमबहादुरको मान्छेको नाम कटाएपछि मात्रै जाहेरी लिने र त्यो पनि ज्यान मार्ने उद्योगमा दर्ता गराउन नमानेपछि पीडितले अभद्र व्यवहारको मुद्दा दर्ता गराउन बाध्य भएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले भने जाहेरी लिन नमानेको विषयबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिनुभयो।