किन हुँदैछ “शेम अन ओलम्पिक ट्रेन्ड”

280
Shares



“शेम अन ओलम्पिक ट्रेन्ड” को अर्थ हुन्छ ओलम्पिक प्रवृत्तिमा लाज । यो जारी ओलम्पिकमा भइरहेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । पेरिसमा जारी ३३औं समर ओलम्पिक अहिले एकपछि अर्को विवादका घटनाका कारण आलोचित बनिरहेको छ ।

यसअघिका ओलम्पिकमा भन्दा पृथक ढंगले आयोजना गरिएको उद्घाटन समारोहदेखि नै आलोचना सुरु भएको थियो। किनभने वर्षाकाबीच यसपटक सहभागी राष्ट्रहरुका खेलाडी र पदाधिकारीहरुको मार्चपास शेन नदीमा डुङ्गामार्फत गराएको थियो । वर्षाको आवाजका कारण उद्घाटनका कतिपय प्रस्तुति प्रभावित हुनुका साथै मार्चपासमा सम्मिलितहरु पनि पानीले रुझेका थिए । यो विषयलाई लिएर वास्तवमै के यो ओलम्पिकको उद्घाटन उत्कृष्ट रह्यो र ? भनेर प्रश्न उठाइयो ।

यीबाहेक जारी ओलम्पिकमा कतिपय अनौठो कुराहरु देख्न पाइरहेका छौं । उद्घाटनकै बेला हिजाब पहिरिएका एकजना एथ्लीटलाई प्रतिबन्ध गरिएको घटनाले आयोजकको ब्यापक आलोचना भयो। अहिले अर्को एउटा नयाँ विवाद चरमोत्कर्षमा छ। पेरिस ओलम्पिकको छैटौँ दिन बिहीबार महिला बक्सिङको ६६ किलो तर्फको प्रतिस्पर्धामा एउटा नौलो घटना घट्यो।
इटालीकी महिला खेलाडी एन्जेला कारिनीले खेल शुरु भएको केही क्षणभित्रै दुई शसक्त मुक्का खाएपछि ४६ सेकेन्डभित्र खेल रोकेर नखेल्ने निर्णय गरेको विषयले विवादको रूप लियो ।

कारिनी र अल्जेरियाकी बक्सर इमान खलिफाबीच भिडन्त भएको उक्त खेलमा इमानले ४६ सेकेन्डमा जित हासिल गरेकी थिइन्। अनुहारमा लागेको पञ्चका कारण इटालीकी खेलाडीले खेल परित्याग गरेकी थिइन् । खेलपछि एन्जेलाले इमान पुरुष भएको आरोप लगाउँदै आफुलाई सुरक्षित राख्न पुरुषसँग नखेल्ने भन्दै खेल परित्याग गरेको बताइन् ।

एन्जेलाले इमानमा अहिले पनि पुरुष खेलाडीकै अंश रहेको दाबी समेत गरेकी छन् । आफुले अहिलेसम्म बक्सिङका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा भिडन्त गरेको र पञ्च पनि खाएको बताउँदै त्यस्तो शक्तिशाली पञ्चको सामना आफुले कहिल्यै अनुभव नगरेको बताइन् ।
इमान ट्रान्सजेन्डर खेलाडी

वास्तवमा इमान एक ट्रान्सजेन्डर खेलाडी हुन् । उनी सन् २०२२ मा लिङ्ग परिवर्तन गर्दै पुरुषवाट महिला बनेकी थिइन् । इमानले सन् २०२३ को वल्र्ड च्याम्पियनसिपमा जेन्डर एलिजिबिलिटीको मापडण्ड पुरा गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु परेको थियो। तर, इमानीलाई पेरिस ओलम्पिकमा भने खेल्ने अनुमति प्राप्त भएको थियो ।

गत वर्ष सम्पन्न वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा इमान फाइनलसम्म पुग्न सफल भएकी थिइन् । तर, त्यसपछि उनलाई डिस्क्वालिफाई गरिएको थियो । वल्र्ड च्याम्पियनसिपमा पनि उनलाई पुरुष भएको आरोप लागेपछि टेस्ट गर्दा उनको शरीरमा टेस्टोस्टेरोनको मात्रा निकै बढी पाइएको थियो । तर, सन २०२२ को वल्र्ड बक्सिङ च्याम्पियनसिपमा उनले रजत पदक जित्न सफल भएकी थिइन् ।

कारिनीको यस घटनाबारे इटालियन प्रधानमन्त्री जर्जिया मेरोनीले यो कुनै प्रतिस्पर्धा नै नभएको र समानताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताइन् ।

यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र पेरिस ओलम्पिकको बक्सिंग युनिटले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रत्येक ब्यक्तिलाई बिना भेदभाव खेलकुदमा सहभागी हुने अधिकार रहेको उल्लेख गर्दै सबै खेलाडीले पेरिस ओलम्पिकको बक्सिंग युनिटले तोकेको मेडिकल नियम पालना गर्नुपर्ने भनिएको छ ।

पेरिस ओलम्पिकका लागि भएका नियमहरू तयार गर्न पेरिस बक्सिंग युनिटले अघिल्लो पटक भएको टोकियो ओलम्पिकमा खेलाडीहरुको उमेर र लिंग राहदानीको आधारमा लिइएको विज्ञप्तिमा उल्लेख छ । उक्त घटनाको संवेदशीलतालाई मध्येनजर गरी इन्टरनेश्नल बक्सिंग एसोसिएसन (आईबीए) ले इटालीकी कारीनीलाई ५० हजार अमेरिकी डलर पुरस्कार रकम दिने निर्णय समेत गरेको छ ।

त्यस्तै, उनको बक्सिंग संघ र उनका कोचलाई थप २५ हजार अमेरिकी डलर प्रदान गर्ने बताइएको छ । ट्रान्सजेन्डरका कारण विवादमा अल्जेरियाकी इमान मात्र होईन ताइवानकी डबल विश्व च्याम्पियन लिन यु–टिंग पनि जोडिएकी छन् ।
यी दुवैलाई २०२३ विश्व च्याम्पियनशिपमा आईबीएको नियमहरूको उल्लंघन गरेको कारण अयोग्य ठहराइएको भएपनि पेरिसमा प्रतिस्पर्धा गर्न अनुमति दिइयो । आईबीएको नियमअनुसार बक्सिंगको महिला स्पर्धामा पुरुष एक्सवाई शुक्रकीट भएका खेलाडीहरूलाई प्रतिबन्धित गरिएको छ ।

पेरिस ओलम्पिकलाई “शेम अन ओलम्पिक ट्रेन्ड“ भनिनुको कारण बक्सिंगको उक्त एउटा घटना मात्र होइन, अन्य आलोचना यसप्रकार छन् ।
—उद्घाटन समारोहमा वोकनेस/वोक कल्चरको एजेण्डा खुल्ला रूपमा देखाइएको ।
—दक्षिण कोरियालाई उत्तर कोरिया भन्दै परिचय दिइएको ।
—एक अस्ट्रेलियाली खेलाडीलाई दिउँसै लुटपाट गरिएको ।
—स्पोर्ट्स भिलेजमा खाद्यसामग्रीको अभाव देखिएको ।
—खानेकुरा कम भएकाले खेलाडीलाई थुप्रै देशका खेल संघहरूले आ–आफ्ना भान्छे पठाउनु परेको ।
—स्पोर्ट्स भिलेजमा खेलाडीलाई असुविधाजनक कार्डबोर्डको बेड र प्लास्टिक फोमको बिछ्यौना दिइएको ।
—पर्यावरण बचाउनको लागि कोठाहरूमा गर्मीको समयमा एअर कन्डीसन नराखिएको । जसको प्रत्यक्ष असर नर्वे, स्वीडेन जस्ता चिसो मौसम भएको देशका खेलाडीहरूलाई परेको ।
—भारी वर्षाले सीवेज ट्रीटमेन्ट प्लान्टको ओभरफ्लो हुँदा पेरिसको मुख्य नदी सेनमा मल भरिने सम्भावना भएकोले वाटर स्पोर्ट्स प्रभावित हुने सम्भावना बढेको ।
—क्यानाडाका ट्रायथलन खेलाडी टाइलर मिस्लावचुकले रेसका क्रममा १० पटक वान्ता गरेको फोटो भाइरल भएको कारण प्रदूषित सेन नदी पार र उच्च तापक्रम ।
—एकजना खेलाडीले “अल्लाहु अकबर” को नारा लगाएपछि ओलम्पिकलाई पनि फिफाजस्तै प्रचारको माध्यम बनाइएको हो की भने चिन्ता बढाएको ।
—फ्रान्स विश्वको सातौं ठूलो अर्थव्यवस्था भएपनि फ्रान्सभन्दा तल रहेको ब्राजिलमा २०१६ मा भएको रियो ओलम्पिक खेलहरूमा पनि यस्ता गडबडीहरू नदेखिएको ।
—अर्जेन्टिना र मोरोक्कोबीच भएको फुटबल खेलको नतिजा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) जस्तो अत्याधुनिक र चुस्त प्रविधिको प्रयोगका बावजूद खेल सकेको दुई घण्टापछि नतिजा परिवर्तन गर्नु जारी ओलम्पिकको अर्को एउटा कमजोर पक्ष मानिएको ।