कक्षा १२ को परीक्षाफल : नेपालीमा उत्कृष्ट, अंग्रेजीमा कमजोर


–नेपालीमा ९१, अंग्रेजीमा ७२ प्रतिशत उत्तीर्ण
–३ वर्षको तुलनामा परीक्षाफल सुधार
–१ सय ४२ मध्ये, १ सय ४ विषयमा परीक्षा

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थी नेपाली विषयमा उत्तीर्ण भएका छन्। अनिवार्य नेपालीमा ९१ दशमलव ३४ प्रतिशत उत्तीर्ण भएका छन् । नेपालीमा ३ लाख ८१ हजार ४ सय ४ जनाले परीक्षा दिएकामा ३ लाख ४८ हजार ३ सय ६३ विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डले दिएको जानकारीअनुसार अनिवार्य अंग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थीले एनजी अर्थात् अनुत्तीर्ण भएका छन् । अंगे्रजीमा ७२ दशमलव १ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। अंग्रेजी विषयमा ३ लाख ९० हजार ८ सय ८८ जनाले परीक्षा दिएका थिए । तीमध्ये २ लाख ८१ हजार ८ सय १८ जना मात्र उत्तीर्ण भएका छन् ।

सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयमा परीक्षामा सामेल भएका ३ लाख २३ हजार ७ सय ४४ जनामध्ये ८२ दशमलव ७ प्रतिशत उत्तीर्ण भएका छन् । सामाजिकमा २ लाख ६५ हजार ६ सय ९६ जना विद्यार्थी माथिल्लो तहमा पढ्न योग्य भएका छन् ।

बोर्डका अनुसार अनिवार्य गणितमा सहभागी ५७ हजार ६ सय ६४ मध्ये ४८ हजार ६ सय ४१ जना अनुत्तीर्ण भएका छन्। अनिवार्य गणितमा ८४ दशमलव ३५ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। विद्यालय आफैंले प्रयोगात्मक परीक्षाको नम्बर दिन पाउने व्यवस्था भएकाले सबै विषयमा प्रयोगात्मक परीक्षामा ९९ प्रतिशत उत्तीर्ण भएको तथ्यांकले देखाएको छ।

परीक्षामा १ सय ४२ विषय समावेश भए पनि बोर्डले १ सय ४ वटा विषयमा मात्र परीक्षा सञ्चालन भएको जनाएको छ। यो वर्ष ५२ दशमलव ९१ प्रतिशत उत्तीर्ण भएका छन्। समग्रमा हेर्दा विगत ३ वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष कक्षा १२ को परीक्षामा सुधार भएको छ। ०७८ सालमा ४६ दशमलव ४ र गत वर्ष ५१ दशमलव ९१ प्रतिशत उत्तीर्ण भएका थिए । यो वर्ष नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये झन्डै ५३ प्रतिशत उत्तीर्ण भएका थिए । १ लाख ८७ हजार २१ विद्यार्थी अनुत्तीर्ण भएका छन्।

यो वर्ष ३ दशमलव ६१ देखि ४ जीपीए ल्याउनेको संख्या बढेको छ। ९ हजार ५ सय ९१ विद्यार्थीले ३ दशमलव ९१ देखि ४ जीपीए ल्याएका छन्। परीक्षामा सहभागी कुल ४ लाख ९१ हजार ४ सय ९७ परीषार्थीमध्ये गत वर्ष यो जीपीए ल्याउने विद्यार्थीको संख्या ६ हजार ९ सय ७६ थियो । यो वर्ष ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४६ हजार ८ सय ९३, २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको ७८ हजार ७५, २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या ६१ हजार ३६ छ । त्यसै गरी ८ हजार २ सय ४० विद्यार्थीले २ दशमलव १ देखि २ दशमलव ४ जीपीए ल्याएका छन् ।

त्यस्तै १ दशमलव ६ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या १२ छ । बोर्डले यो वर्ष १ सय २२ जना विद्यार्थीको परीक्षा रद्द गरेको छ। प्रदेशगत नतिजाअनुसार सुदूरपश्चिम प्रदेश कमजोर देखिएको छ।

सो प्रदेशबाट ३५ हजार ६ सय २८ जनाले १२ कक्षाको परीक्षा दिएकोमा १४ हजार ४६ जना मात्रै उत्तीर्ण भएका छन् । २१ हजार ५ सय ८२ जना अनुत्तीर्ण भएका छन् । कर्णाली प्रदेशका २५ हजार ९ सय २० ले परीक्षा दिएका थिए । तीमध्ये १५ हजार ३ सय ५७ जना मात्र उत्तीर्ण भएका छन् । १० हजार ५ सय ६३ फेल भएका छन् ।

लुम्बिनीमा ६६ हजार ६ सय ४६ जनाले परीक्षा दिएका थिए । तीमध्ये ३१ हजार ९ सय ६० जना उत्तीर्ण भएका छन् । सो प्रदेशमा ३४ हजार ६ सय ६८ अनुत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा ३७ हजार ७ सय ४ जनाले परीक्षा दिएका थिए । तीमध्ये १८ हजार ६ सय ७१ जना उत्तीर्ण भएका छन् । १६ हजार ३८ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । वागमती प्रदेशमा १ लाख १६ हजार २ सय २ जनाले परीक्षा दिएका थिए । तीमध्ये ७८ हजार १ सय १६ उत्तीर्ण भएका छन् भने ३८ हजार १ सय ४६ अनुत्तीर्ण भएका छन् ।

तथ्यांकअनुसार मधेस प्रदेशका ४८ हजार ४ सय ५१ जनाले परीक्षा दिएका थिए । तीमध्ये २२ हजार ४ सय ५५ जना उत्तीर्ण भए भने २६ हजार ८६ जना अनुत्तीर्ण भएका छन् । सो प्रदेशमा उत्तीर्णभन्दा पनि अनुत्तीर्णको संख्या बढी छ । कोशीमा ६३ हजार १ सय ६७ जनाले परीक्षा दिएका थिए । सो प्रदेशबाट २८ हजार ३६ जना उत्तीर्ण भएका छन् । अनुत्तीर्ण परीक्षार्थीको संख्या ३५ हजार १ सय ३१ छन् । कोशी प्रदेशको हविगत पनि मधेसको भन्दा कमजोर देखिएको छ । कोशी प्रदेको शिक्षाको गुणस्तर खस्किएको छ ।

पूरक परीक्षा भदौ २५ र २६ मा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । हिजो शनिबार सार्वजनिक गरेको तालिकाअनुसार परीक्षाको मिति भदौ २५ र २६ गते रहेको छ ।

२०८१ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा ननग्रेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले मौका परीक्षा दिने पाउने व्यवस्था गरेको छ।

त्यस्तै, सैद्धान्तिकतर्फ अन्य विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा एनजी वा अनुपस्थित भएका विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ।