भोटोजात्राको सम्पूर्ण तयारी पूरा

644
Shares

ललितपुर ।

सहकालका देवता रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो देखाइएसँगै अढाइ महिनासम्म चलेको रथजात्रा आइतबार समापन हुने भएको छ ।

गुठी संस्थान ललितपुरका अनुसार रातो मच्छिन्द्रनाथको हीरा, मोती मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेको आसपासमा देखाइने छ । यसपटक संस्थाका प्रमुख वैकुण्ठ आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक भोटो देखाउनुहुनेछ । भोटो जात्राका लागि ज्योतिषीहरूले निकालेका साइतअनुसार रातो मच्छिन्द्रनाथको रथ गत बिहीबार लगनखेल, इटिटोलबाट तानेर जावलाखेल पुर्‍याइएको थियो । रथ जावलाखेल पुर्‍याइएको चार दिनपछि भोटो देखाउने परम्परा रहेको छ।

भोटोजात्राको सुरुआतबारे ऐतिहासिक अभिलेख नभए पनि यससँग जोडिएको किंवदन्ती भने जनमानसमा चर्चाको विषय रहेको छ । किंवदन्तीअनुसार मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहास्वरूप बहुमूल्य गहना र हीराजडित भोटो पाएका थिए । किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले ।

खोजी गरेर कहीँकतै नपाएपछि जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा एक राक्षसले लगाएको देखेको बताइन्छ । ती किसानले यो भोटो मेरो हो भनेर माग्दा दुई जनाबीच व्यापक विवाद हुन पुग्दा दुवैले भोटो आफ्नो नै भएको प्रमाण पेस गर्न सकेनन् । सो विवाद राजासमक्ष पु¥याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो ‘मेरो हो भन्छ, उसैलाई नासोका रूपमा दिने सर्तमा यो भोटो कसको हो’ भनी देखाउने जात्रा शुरू गरेको थियो । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिँदै आएको किंवदन्ती रहेको छ ।

भोटो अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री केपीशर्मा ओलीलगायत मन्त्रीगण संवैधानिक आयोगका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू आज अपराह्न जावलाखेल पुग्ने कार्यक्रम रहेको छ । सोका लागि सम्पूर्ण तयारी पूरा भइसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताउनुभयो । भोटो जात्राको अवलोकनपछि राष्ट्रपतिले जीवित देवी कुमारीको दर्शन गर्ने परम्परा रहेको छ ।

भोटो जात्राका लागि गृह मन्त्रालयले शनिवार नै पत्राचार गरिसकेको छ । गृहले गरेको पत्राचारमा विशिष्ट व्यक्तिहरूलाई ३ः३० बजेभित्र र राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री हकको ४ बजेभित्र जावलाखेल पुग्न भनिएको छ । जात्रामा विशिष्ट व्यक्तिहरूको सुरक्षासहित एकीकृत सुरक्षा योजना तयार भइसकेको र ट्राफिक व्यवस्थापनदेखि अन्य आवश्यक व्यवस्थापनको तयारी पनि पूरा भइसकेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।

सबैको समन्वय र सहयोगमा तयारी सम्पूर्ण कार्य पूरा भइसकेको जनाउँदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भोटो देखाउने कार्यको समन्वय गुठी संस्थान र सरसफाइदेखि मञ्च सजावटलगायत कार्य ललितपुर महानगरपालिकाले गर्ने बताउनुभयो ।

भोटो जात्रासँगै परम्परागत बाजागाजा, गुरुजुको पल्टन र भक्तजनको लावालस्करका साथ रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिने छ। मीननाथको रथ तानेर ललितपुरको टंगलमा पुर्‍याइने छ। सो कार्यसँगै यस वर्ष अढाइ महिनासम्म चलेको रातो मच्छिन्द्रनाथको रथयात्रा समापन हुनेछ । गत वैशाख १२ गते बुधबार रातो मच्छिन्द्रनाथलाई लगनखेलमा महास्नान गराएसँगै पुल्चोकमा रथ बनाउने कार्य शुरू गरिएको थियो भने वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाको रथारोहण गरिएको थियो। वैशाख २९ गते शनिबार रथ पुल्चोकबाट तानेसँगै रथयात्रा शुरू भएको थियो ।

काठमाडौं उपत्यकामा अनावृष्टि भएपछि गुरुजु बन्धुदत्त आचार्यको सल्लाहअनुसार राजा नरेन्द्रदेवले भारतको कामरूपकामाक्षा (आसाम) बाट मच्छिन्द्रनाथ काठमाडौंमा ल्याइएको इतिहास रहेको छ। संस्कृतिको अध्ययन गर्दै आएका राजेश बज्राचार्यका अनुसार इस्वी सन् ६४४ देखिको ६८० बीचमा रथजात्राको परम्पराको थालनी भएको थियो।