सौर्य जहाज दुर्घटना : ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइयो


काठमाडौँ।

गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजको ‘ब्ल्याक बक्स’ परीक्षणका लागि सिङ्गापुर लगिएको छ।

अठार जनाको ज्यान जानेगरी भएको दुर्घटनापछि सरकारले गठन गरेको दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमन आफैँ ब्ल्याक बक्स लिएर सिङ्गापुर पुगेको छन्।

अध्यक्ष लालका अनुसार अनुसन्धान जारी छ।

किन लगियो सिङ्गापुर

ककपिट भोइस रेकर्डर नेपालमा पनि सुन्न सकिने अवस्था छ। तर, त्यसलाई खोलिसकेपछि कुनै कारणले डेटा उड्यो वा रिकभर गर्नु पर्‍यो भने त्यसलाई ‘रिट्रिभ’ गर्ने विश्वसनीय क्षमता र सुविधासम्पन्न प्रयोगशाला यहाँ नभएकोले सिङ्गापुर लगिएको जानकारहरु बताउँछन्।

ब्ल्याक बक्स के हो ?

ब्ल्याक बक्स खासमा एक रेकर्डर हो । यो विमानको पछिल्लो भाग (पुछार) मा राखिएको एक महत्त्वपूर्ण उपकरण हो । सुरक्षाको दृष्टिले यसलाई विमानको पछिल्लो भागमा राख्ने गरिएको हो । यो बलियो धातु टाइटेनियमबाट बनाइएको हुनाले आगोले जलाउन सक्दैन । ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ । दुर्घटनापछि विमान समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।

ब्ल्याक बक्समा विमान दुर्घटना हुनुभन्दा अगाडिको २ घण्टाको कुराकानी तथा आवाज र २५ घण्टासम्मको उडानसम्बन्धी सूचना रेकर्ड हुन्छन् । विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सुरक्षित हुने गरी निर्माण गरिएको हुन्छ । यसमा रेकर्ड भएका कुराकानी वा आवाजको आधारमा विमान दुर्घटनाको कारण पत्ता लगाउन सकिन्छ । ब्ल्याक बक्समा रेकर्ड हुने ककपिटमा गरिएको कुराकानीसँगै इन्जिन तथा आपत्कालीन संकेतहरूको आवाजले दुर्घटनाका समयमा जहाजको अवस्थाबारे बुझ्न सकिन्छ । त्यसका साथै, जहाजका पाइलट तथा को–पाइलटले गरेको कुराकानी पनि ब्ल्याक बक्सबाट नै थाहा हुन्छ ।

ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । पहिलो, फ्लाइट डाटा रेकर्डर (एफडीआर) ले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने अर्को, ककपिट भ्वाइस रेकर्डर (सीभीआर) ले ककपिटमा पाइलटहरूबीच भएको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।

ब्ल्याक बक्सको रंग भने कालो हुँदैन । विमान दुर्घटनामा परेको खण्डमा सजिलैसँगै पत्ता लागोस् र टाढैबाट देखियोस् भनेर यो सुन्तला रङको बनाइएको हुन्छ । यो पहिलो पटक सन् १९५३ मा अस्ट्रेलियामा निर्माण गरिएको हो ।