सुमो दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो


मकवानपुर ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार बिहान सुमो दुर्घटनाका हुँदा घाइते १० जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सवारी दुर्घटनामा सुमो चालक पर्सा वीरगञ्ज महानगरपालिका घर भइ ललितपुर बल्खु बस्ने ३३ वर्षीया जाकिर मिया र बारा आदर्श कोतुवाला गाउँपालिका–७ का औसान अन्सारी रहेका छन् ।

यस्तै दुर्घटनामा काठमाडौँ महानगरपालिका–१४ कालीमाटीस्थित एउटै गारमेन्टमा काम गर्ने भारतीय नागरिक ५० वर्षीय सोभरती अन्सारी, ३० वर्षीय सुनिल राम, ३५ वर्षीय प्रदिप राम, ४४ वर्षीय मोहमद मुस्लिम, २४ वर्षीय अनिल राम घाइते भएका हुन्।

त्यस्तै सुमो दुर्घटनामा भारत घर भइ हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटार बस्ने ४० वर्षीय सन्तोष रन्जन, ६१ वर्षीय सतेन, २० वर्षीय अफरोज आलम घाइते भएका छन् । घाइतेहरूको टाउको, शरीरका विभिन्न भाग, घाटी, छाती, खुट्टा, कुम, हातमा चोट लागेको छ । उनिहरूको काठमाडौँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ।

शनिबार बिहान ७ः२० बजे सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको थियो ।