चीनसँगको विकास साझेदारी अघि बढाउन आवश्यक


काठमाडौँ

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपालले चीनको आर्थिक नीतिबाट फाइदा लिन सक्नुपर्ने बताएकी छन्  । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको चीनको सीपीसीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले पारित गरेको असामान्य रुपको आर्थिक नीति सन्दर्भमा विकास साझेदारीमा नेपालको सम्भावना विषयक गोष्ठीलाई सम्बोधन गर्दै उपसभामुख घिमिरेले चीनको उक्त नीतिबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिइन् ।

 चीनको उक्त नीतिबाट २ सयभन्दा बढी मुलुकमा चीनले गरेको लगानीलाई असर पार्ने जिकिर गर्दै कार्यक्रममा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चीनको उक्त नीतिअनुरुप विकास साझेदार बन्न सके नेपालको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । उनले तेस्रो पूर्ण बैठकले चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थालाई जोड दिएको टिप्पणी गर्दै भनिन्  –“चीनले अमेरिकालाई उछिन्ने गरी विकासको गति बढाउँदै आधुनिकीकरण गर्ने नीति लिएको छ । 

चीनको आधुनिकीकरण भनेको पश्चिमीकरण नभई चिनियाँ विशेषताकै आधुनिकीकरण हो । यो आधुनिकीकरण र विकास चीनमा मात्रै सीमित हुने छैन, छिमेकमा पनि लागू हुनेछ । त्यसैले नेपालले यसमा साझेदारी गर्दै प्रगतितर्फ लम्कनुपर्छ ।” चीनले हरित अर्थतन्त्रमा पनि विशेष जोड दिएको बताउँदै उनले भनिन्  –“हाम्रो हिमाल र वातावरण जोगाउन चीनको योगदान महत्त्वपूर्ण हुन सक्छ । यसका लागि हामीले पनि गहन गृहकार्य अघि बढाउनुपर्छ ।”

कार्यक्रममा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालका महासचिव डा. कल्याणराज शर्माले तेस्रो पूर्ण वैठकले चीनको आगामी कार्यदिशा तयार पारेको हुँदा यसको गहन अध्ययन गरी चीनसँग विकासमा साझेदारी गर्ने दिशातर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । 

चीनको सीपीसीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले सन् २०३५ सम्ममा उच्चस्तरीय समाजवादी बजारमूलक अर्थतन्त्र प्रणालीको पूर्ण रुपमा निर्माण हुने, चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्था अझ पूर्णता पाउने, राष्ट्रिय शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरण पूरा हुने र यसै शताब्दीको मध्यकालसम्म सम्पूर्ण रुपमा समाजवादी आधुनिक शक्तिशाली राष्ट्र निर्माणका लागि बलियो जग बसाल्ने कुरा पनि दोहर्याएको छ । 

बैठकपछि जारी गरिएको विज्ञप्तिमा खुलापन नै चिनियाँ शैलीको आधुनिकीकरणको स्पष्ट पहिचान हुनुका साथै सम्पूर्ण प्रक्रियामा जनवादी विकास चिनियाँ शैलीको आधुनिकीकरणको मौलिक आवश्यकता भएको जिकिर पनि गरिएको छ ।