चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षा- उपाध्यक्ष घिमिरे 


काठमाडौँ। 

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले चीनको विकास अनुभव नेपालको लागि बहुमूल्य शिक्षा हुन सक्ने विचार व्यक्त गरेकी छन्  ।
फ्रेण्डस् अफ सिल्क रोड क्लबले शुक्रबार काठमाण्डौमा आयोजना गरेको नेपालको विकासका लागि चीनको अनुभव सम्बन्धी कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले चीनले छोटो समयमा हासिल गरेको विकास अनुभवबाट नेपालले धेरै शिक्षा लिएर अघि बढ्नुपर्ने विचार व्यक्त गरेकी हुन् । 

‘चीनले आफ्नो अर्थतन्त्रमा उल्लेखनीय रुपान्तरण गर्दै करोडौं मानिसहरूलाई गरिबीबाट मुक्त गराउन सफल भएको अनुभव विकासशील राष्ट्रहरूको लागि  महत्वपूर्ण प्रेरणाको स्रोत  हो ।’, उनले भनिन् ‘नेपालले आफ्नो विकासका लक्ष्यहरू हासिल गर्ने  यात्रा सुरु गर्दा यो चीनको अनुभवबाट शिक्षा लिनुपर्छ ।’

उपाध्यक्ष घिमिरेले नेपाल र चीनका बिचमा  जनस्तरमा राजनीतिक, आर्थिक, सांस्कृतिक लाभहरुको आदान–प्रदान हुँदै आएको चर्चा गर्दै त्यसको माध्यमबाट सम्पर्कका सञ्जालहरुलाई बढाउँदै  आर्थिक वृद्धिलाई उत्प्रेरित गर्न र आम नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरिन्  । 

चीन र नेपालले पूर्वाधार विकास, कृषि र ग्रामीण विकास, पर्यटन र ग्रामीण विकास, शिक्षा र क्षमता विकास तथा हरित विकास र वातारण संरक्षण क्षेत्रमा सँगै काम गर्न सक्ने  क्षेत्रहरू भएको भनाई उनको छ । ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क नेटवर्क मार्फत  सडक, रेल र हवाई सम्पर्कहरू बढाउँदा नेपालको लागि नयाँ आर्थिक अवसरहरू खोल्ने महत्वपूर्ण परियोजना हुन सक्ने बताउँदै उपाध्यक्ष घिमिरेले  चीनले कृषि आधुनिकीकरण, उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तर सुधार गर्न गरेको अनुभव आदान– प्रदान गरेर  नेपालको कृषि क्षेत्रमा रूपान्तरण ल्याउन सकिन्छ भनिन्  । 

यसैगरी चीनको सहयोगमा बनेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका बिभिन्न शहरमा सिधा हवाई सम्पर्क कायम गर्न आवश्यक भएको बताउँदै उपाध्यक्ष घिमिरेले नेपालको पर्यटन विकासका लागि यसले कोशेढुंगाको काम गर्छ भनिन् । ‘नेपाल र चीनले जलवायु परिवर्तन र वातावरणीय क्षतिको विश्वव्यापी चुनौतीहरूको सामना गर्दै, चीन र नेपालले हरित विकासका लागि सहकार्य गर्न सक्छन् ।’ उनले भनिन् ,  ‘यसबाट नवीकरणीय ऊर्जा, दिगो कृषि र वातावरणीय संरक्षणमा उच्चतम प्रविधि र उत्तम अभ्यासहरू समावेश गर्दै हाम्रो विकासलाई प्रकृतिसँग समन्वयमा ल्याउन सुनिश्चित गर्न सकिन्छ।’

उनले चीन र नेपालबीचको सम्बन्ध ऐतिहासिक रुपमा प्रगाढ छ, र आपसी सम्मान, विश्वास र समझदारीको बलियो आधारमा स्थापित भएको बताउँदै  नेपाल एक चीन नीति प्रति सधैँ प्रतिबद्ध रहेको दोहो«¥याइन्  ।