कांग्रेसबाट कर्णालीमा मन्त्री बन्ने चार जनाको नाम सिफारिस


सुर्खेत ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ ।

दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिएका छन् ।

सिफारिस मन्त्रीहरुमा विजया बुढा हुम्ला, राजीवविक्रम शाह जाजरकोट, सुरेश अधिकारी सल्यान र घनश्याम भण्डारी दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नेकपा माओवादी केन्द्रका चार मन्त्रीले यही साउन ७ गते सरकारबाट समर्थन फिर्ता लिँदै मुख्यमन्त्री कँडेलसमक्ष राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त रहेका थिए ।

केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि कर्णालीमा एमालेकै नेतृत्वमा सरकार बन्ने सहमति अनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाएको हो ।