प्रदेश प्रमुख : देवकोटा आए, शर्मा गए


हेटौंडा।

 काठमाडौंमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएको भोलिपल्ट बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हेटौंडास्थित कार्यालयमा औपचारिकरुपमा पदभारग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका देवकोटाले प्रदेश प्रमुखको कार्यालयमा पदभारग्रहण गरेका हुन् । देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख भएका छन् ।

कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख यादबचन्द्र शर्मालाई बिदाइ गरिएको छ । नवनियुक्त प्रदेश प्रमुख देवकोटाले शर्मालाई माला र खादा लगाएर बिदाइ गरे । देवकोटालाई साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । 

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङ, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्रीहरु, सरकारी सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

बागमती प्रदेशका हालसम्मका प्रदेश प्रमुखमा अनुराधा कोइराला (२०७८ बैशाख २० देखि २०७८ साउन १२ सम्म), विष्णुप्रसाद प्रसाईं (२०७६ कात्तिक १८ देखि २०७८ भदौ ३ सम्म), यादबचन्द्र शर्मा (२०७८ भदौ ३ देखि पदमुक्त गर्ने साउन १४ को मन्त्रिपरिषद् निर्णयसम्म) र देवकोटा (नियुक्त गर्ने साउन १४ को मन्त्रिपरिषद् निर्णय) हुन ।

संघीय सरकारमा प्रतिनिधित्व गर्ने ठूला दलहरु आफूनिकटका व्यक्तिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने प्रचलन छ । बिदा भएका शर्मा प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) को सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त गरिएका हुन् । शर्माको स्थानमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले कैलालीको धनगढीका देवकोटालाई प्रदेश प्रमुख बनाएको हो । उनी  एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य रहेको  बताइएको छ ।