कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ मा


काठमाडौँ।

कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड ल्याउने विद्यार्थीका लागि आगामी भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले पूरक परीक्षाको मिति तय गरेको हो।

कक्षा १२ को बार्षिक परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पूरक परीक्षा दिन पाउँछन् । केहीबेर अघि सार्वजनिक भएको नतिजा अनुसार एक लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेड भएका छन् ।

आजै सार्बजनिक कक्षा १२ को नतिजामा ५२ दशमलब ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका बोर्डले जनाएको छ ।

यस्तै सबै विषयमा अनुपस्थित परीक्षार्थी संख्या पाँच हजार छ सय ३२ छ भने एक सय दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।

यस्तै कक्षा १२ को नतिजामा माथिल्लो जीपीए प्राप्त विद्यार्थीको संख्या नौ हजार पाँच सय ९१ रहेको छ ।