सूर्यविनायक-धुलिखेल सडक विस्तार नरोक्न मन्त्री दाहालको अनुरोध

बनेपाका स्थानीयले भने– सडक र पुल उचाल्न मिल्दैन

448
Shares

बनेपा। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहितको सरकारी टोलीले अरनिको राजमार्गको विस्तारित सडक आयोजना भक्तपुरको सूर्यविनायक देखि धुलिखेलसम्मको सडक क्षेत्र अवलोकन गरेको छ । दशक देखि बनेपाको पुलबजार क्षेत्र डुबानमा परी राजमार्गमा आवतजावत बन्द हुने गरेको, ब्यक्तिका घरहरु डुबानमा परी समस्या भएको र पानीको निकास व्यवस्थापन गर्न नसक्दा उत्पन्न परिस्थितीका बारेमा सरोकारवालाहरुसँग उक्त टोलीले जानकारी लिएको छ ।
 
मन्त्री दाहालसँगै मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, मन्त्रिका निजी सचिव प्रकाश आचार्य, स्वकीय सचिव हर्कराज राई लगायत, सुर्यविनायक धुलिखेल सडक खण्ड आयोजनाका प्रमुख, इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधिहरु सहभागि थिए । मन्त्री दाहालले सुर्यविनायक देखि धुलिखेलसम्म सडक विस्तारका क्रममा भएका प्रगति, समस्या तथा आगामी योजनामा सरकारका तर्फबाट गर्नु पर्ने कार्य विवरण जानकारी लिएका थिए । साँगा क्षेत्रको निर्माण र त्यसले पारिरहेको प्रभाव, साँगा देखि बनेपा खण्डको निर्माण र स्थानीयहरुले गरेको अवरोध, मुआब्जा वितरण, सडकका अन्य समस्याका बारेमा सरोकारवाला निकायले जानकारी गराएका थिए ।

 चालु वर्षका लागि पुल, मुआब्जा लगायतका विषयलाई प्राथमिकतामा राख्दै नागरिकहरुले उठाएका सवाललाई सम्बोधन गर्दै सडक निर्माण समयमा नै सम्पन्न गर्न मन्त्री दाहालले सडक विभाग र आयोजनालाई निर्देशन दिएका छन् । बनेपा खण्डमा नगर प्रमुख शान्तिरत्न शाक्य आफैले हस्ताक्षर गरेर सुरु भएको निर्माण कार्य उनि स्वंय उपस्थित भई स्थगित गर्ने चेतावनी दिएका छन् । पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको आयोजनाले जानकारी दिएको छ । बनेपा क्षेत्र हरेक वर्षातमा डुब्दै आएको छ । केही दिन अघि मंगलबार राति परेको केही  घण्टाको पानीले पनि बनेपा, श्रीखण्डपुर क्षेत्र डुबान भएको थियो । स्थानीयहरुले पुल र सडकको उचाइ बढाउन नहुने बताउँदै आएका छन् । 

सूर्यविनायक धुलिखेल सडक खण्ड निर्माण कार्यमा २७ प्रतिशत प्रगति भएको छ । सुर्यविनायक–साँगा खण्डमा २५ र साँगा–धुलिखेल खण्डमा ३० प्रतिशत निर्माण कार्य सकिएको छ । साइड वाल, कल्र्भट लगायतका महत्त्वपूर्ण निर्माणका कार्यहरु ८८ प्रतिशत सकिएको छ । पर्याप्त बजेटको श्रोत नहुँदा निर्माण ब्यवसायीहरुले तोकिएको समयमा सडक निर्माण कार्य सक्ने सम्भावना कम हुँदै गएको छ । ‘सुर्यविनायक–धुलिखेल सडक खण्डमा २७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार निर्माणको ८० प्रतिशत काम सकिएको छ’– आयोजनाका इन्जिनियर नारायण लामिछानेले भने–‘यतिखेर ४०–४५ प्रतिशत कार्य सकिनु पथ्र्याै । चालु आवमा ५४ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएकाले निर्माण ब्यवसायीहरुलाई कामको चाप भए पनि प्रगति निकाल्ने गरी कार्य गराउन असम्भव भयो । तर पनि सरकारले ८३ करोड थप गरेकाले ढिलो गरी भए पनि सम्पन्न भएको कार्यको भुक्तानी सम्भव भयो ।’ 

पूर्वाधार निर्माणको धेरै कार्य सकिएकाले अब देखिने प्रगतिमा धेरै खर्च हुनेछ । उक्त खर्चको रेसियो आगामी वर्ष झन्डै ३ अर्ब बराबरको हुनेछ । तर सरकारले आयोजनाको सम्पूर्ण खर्च समेत गरी एक अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । श्रोत सुनिश्चित नहुँदा निर्माण ब्यवसायीहरुले मजदुर तथा निर्माण सामाग्री ब्यवस्थापनमा ढिला सुस्ति गर्नेछन् । जसका कारण तोकिएको समयमा आयोजनाको कार्य सम्पन्न हुने छैन । सडक आयोजनाले निर्माण सकिए लगत्तै सडकमा ग्राभेल, कालोपत्रेका लागि बेस विछ्याउने र पिचको कार्य सुरु गर्ने बताए । उक्त कार्य सुरु भए पछि प्रगति र खर्च दुबै धेरै देखिन्छ । तर पनि सरकारसँग पर्याप्त बजेट नभएकाले समयमै उक्त कार्य हुनेमा आशंका गरिएको छ । स्थानीय सरकारको समन्वयमा ढल तथा खानेपानीका लाईनहरुको मर्मत, सम्भार तथा विस्तार, विजुलीका लागि विद्युत्त पोलहरुको विस्तार लगायतका अन्य कार्यहरु भइरहेको आयोजनाका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद दासले बताए । 

सरकारले आर्थिक वर्ष २०८०÷२०८१ का लागि बजेटमा ५४ करोड विनियोजन गरेको भए पनि पछि ८३ करोड रकम थप गरेको थियो । कुल बजेट १ अर्ब ३७ करोडमा १ अर्ब १४ करोड भुक्तानी भएको छ । १५ करोड रुपैयाँ जगाते, भैसेपाटी स्थित विकटेश्वर र बनेपा स्थित पुलबजारको पुल निर्माणका लागि आवश्यक ब्यवस्थापनका लागि खर्च भएको छ । आगामी आर्थिक वर्ष २०८१÷२०८२ का लागि १ अर्ब २४ करोड रकम विनियोजन भएको छ । सोही शीर्षकबाट १५ करोड रुपैयाँ मुआब्जा शिर्षकमा विनियोजन भएको छ । घर टहरा लगायत कुनै कुनै स्थानमा जग्गाको समेत मुआब्जा दिनु पर्ने छ । २८ किलो नजिकै पेट्रोल पम्प अगाडीको ४ रोपनी जग्गाको सरकारी दररेटमा मुआब्जा उपलब्ध हुने भएको छ भने साँगा लगायतका केहि स्थानमा रहेका घर टहराको मुआब्जा भुक्तानी हुनेछ । जगाती लगायतका स्थानमा रहेका घरहरुको पनि मुआब्जा सोही शीर्षकबाट भुक्तानी हुनेछ । पुल निर्माणका लागि १२ करोड रकम विनियोजन भएको छ । करिब ८६ करोड रकम मात्रै निर्माण क्षेत्रमा खर्च हुनेछ ।


 सडक आयोजना निर्माण भइरहँदा धुलिखेलबाट विद्युत्तका पोलहरु धमाधम गाड्न सुरु गरिएको छ । गाडिएका विद्युत्त पोलहरुमा एंगल राख्ने काम सुरु भएको छ । तार राख्ने कार्य छिट्टै गर्ने गरी सुरु तयारी गरिएको छ । बनेपाको बुडोलसम्म पोलहरु गाडी सके पछि बनेपा बजार आतंकित भएको छ । सोही  क्रममा पोल गाडिँदा बनेपामा बनी सकेका घरहरुको झ्यालमा तार पुग्नेछ । जोखिम धेरै हुने भएकाले आयोजनाले बजार क्षेत्र भित्र पोल राख्ने स्थानको खोजी गरिरहेको छ । ‘बनेपा बजार क्षेत्रमा विद्युत्त पोल र तारबाट उत्पन्न संकट आउन नदिन पोल गाड्ने र दीर्घकालिन समस्या समाधानको पहल भइरहेको छ’–आयोजना प्रमुख दासले भने–‘बजार आतंकित हुनु पर्दैन । त्यसको व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।’