सुरक्षा संगठनप्रति गम्भीर होऊ


चेन अफ कमान्डमा चल्ने सुरक्षा संगठनमा अराजकता फैलियो भने यसले समग्र मुलुकको आन्तरिक सुरक्षामा समेत गम्भीर असर पर्छ । संसारभर सुरक्षा संगठनको मुटु भनेकै चेन अफ कमान्ड भएकाले यसलाई आत्मसात् गरेको पाइन्छ। नेपालमा पनि सुरक्षा संगठनमा सकेसम्म चेन अफ कमान्डलाई भत्कन नदिन हरपल प्रयत्न गरेको पाइन्छ।

चेन अफ कमान्ड भत्कियो भने त्यो संगठन निकम्मा साबित हुन्छ र संगठनभित्र अराजकता फैलन शुरु हुन्छ । यस्तै प्रयत्न नेपाल प्रहरीमा पछिल्लोपटक शुरु भएको थियो तर त्यो प्रयत्नले भने मूर्तरुप लिन नपाएको समाचारहरु सार्वजनिक भएका छन् । तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी ठगीको अभियोग लगाउने नेपाली कांग्रेसका नेताहरुलाई तह लगाउने नाममा प्रहरी संगठनमा विद्रोह गराउने प्रयास असफल भएको छ ।

जसको नेतृत्व गरेका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीमाथि प्रहरीले छानबिन गर्न समिति नै बनाएर अनुसन्धान शुरु गरेको छ । परम्परावादी दलबाट मुलुक बर्बाद भएको भन्दै चर्का नारा दिएर राजनीतिमा उदाएका लामिछानेले मुलुकमा कायम रहेको शान्ति सुव्यवस्थालाई खलबल्याउने प्रयास असफल भएको छ । आफ्नो व्यक्तिगत रिसइबी पूरा गर्न प्रहरी संगठनलाई प्रयोग गर्न खोज्ने लामिछानेको प्रयास निन्दनीय मान्नुपर्दछ ।

लामो इतिहास बोकेको प्रहरी संगठनलाई प्रयोग गरेर आफ्नो व्यक्तिगत अभिलाषा पूरा गर्न खोज्ने उच्च प्रहरी अधिकृतमाथि कारबाही गर्न सरकार पछि हट्नुहुँदैन । राजनीतिक दलले पनि आफ्ना स्वार्थ पूरा गर्न सुरक्षा संगठनको चेन अफ कमान्डमाथि धावा बोल्ने जुन परम्परा रहेको छ, त्यसको अन्त्य हुनुपर्दछ। यस्तै हर्कत सुरक्षा संगठनमा रहिरहने हो भने यसले मुलुकमा विद्रोहको बीउ नरोपिएला भन्न सकिँदैन। त्यसैले मुलुकलाई जोगाउने हो भने सुरक्षा संगठनमाथिको हस्तक्षेप तत्काल बन्द गरिनुपर्दछ।

अहिले छानबिनको दायरामा परेका एआईजी ज्ञवालीले गरेको हर्कतले मुलुकमा आन्तरिक द्वन्द्व नै सिर्जना गर्न खोजिएकाले यदि बाहिर सार्वजनिक भएका समाचारजस्तै ज्ञवालीको संलग्नता हो भने उनीमाथि हदैसम्मको कारबाही हुन जरुरी छ । आफ्नै संगठनका प्रमुखविरुद्ध लागेर कुनै व्यक्ति वा समूहलाई खुशी पार्ने नाममा दशकौंदेखि कायम रहेको चेन अफ कमान्डलाई भत्काउन खोज्ने जो–कोहीलाई पनि कारबाहीको दायरामा ल्याइनुपर्दछ।

प्रहरीमाथि धावा बोल्ने पूर्वगृहमन्त्रीमाथि पनि छानबिन गर्ने हिम्मत यो सरकारले राख्न सक्नुपर्दछ। आफूमाथि लागेको आरोपलाई अन्तै मोड्न प्रहरी संगठनका केही अधिकृतलाई प्रयोग गरेर आफ्नो अभिष्ट पूरा गर्नेमाथि कारबाही गर्न सरोकारवाला निकाय डराउनुहुँदैन। यस्तै रबैया कायम रहने हो भने यसले कालान्तरमा नेपालको आन्तरिक सुरक्षामा गम्भीर असर पर्ने देखिन्छ। यसतर्फ सबैको ध्यान जान जरुरी छ।