टीआरसीमा जुट्यो सहमति, प्रतिवेदन शीर्ष नेतालाई बुझाइने


काठमाडौँ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा टुंगिन बाँकी सबै विषयहरूमा सहमति जुटेको र अब प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइने नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बताए।

उपमहासचिव शर्माले भने, बाँकी ४ वटा विषयहरू थिए, त्यसलाई आज हामीले सहमतिको साथ टुंगो लगाएका छौँ। अब हामी प्रतिवेदन नेताहरूलाई बुझाउने छौँ। त्यसपछि समितिले आफ्नोे विधि अनुसार अघि बढाउँछ। यसमा सहमति हुनु ठूलो कुरा हो।’

सुरक्षाकर्मी, बहिर्गमित योद्धाको बारेमा पनि स्पष्ट पारिएको उनले बताए। ‘गम्भीर मानव उल्लंघनको विषयमा नियतवस वा स्वेत्छाकारी हुने भन्ने उल्लेख गरेका छौँ,’ उनले भने।

गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र उपमहासचिव शर्मा सदस्य रहेको संयन्त्रले भोलि बेलुकीसम्म तीन शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउनेछन्।

त्यसपछि समितिले आवश्यक प्रक्रिया पुर्‍याएर कानुन पारित हुनेछ।

मुख्यतः पीडितलाई सम्बोधन होस् भन्ने आधारमा माग अनुसार नै टुंग्याइएको उनले बताए।

एमाले मुख्य सचेतक बर्तौलाका अनुसार गम्भीर मानव अधिकार उल्लंघनजस्ता विषयहरू पेचिलो बन्दै गएपनि बिहीबार सहमति जुटेको छ। पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने उनले बताए।

‘सजाय मागदाबीको अन्योल थियो। २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने। पीडितलाई केन्द्रमा राखेर गर्ने गरी अघि बढेका छौं,’ उनले भने।

उनले अब नेपालको शान्ति प्रक्रिया ठीक ढंगबाट २-३ वर्षभित्र टुंगोमा पुर्‍याउन सकिने बताए।