नीति, नैतिकता, संस्कृति र बीभत्स वर्तमान !

1.5k
Shares

नयति इति नीति । जसले अगाडि लिएर जान्छ त्यो नीति। नीतिको अभिप्रायगत अर्थ सभ्य मानवजीवनको सुविचारित बाटो हो। पूर्वीय विद्वान् कतिले यसलाई सहज र सर्वग्राह्य बनाउन सामान्य नीति नाम दिएका थिए। कतिले मानवनीति र मानवधर्मजस्ता शब्द पनि अघि सारे। समाज विकासका क्रममा आ–आफ्ना अनुभूति र आवश्यकताबोधका आधारमा विभिन्न नीतिहरु बने। जस्तै– शुक्रनीति, बृहस्पति नीति, विदुरनीति, कणिकनीति, चाणक्यनीति आदि।

पूर्वीय काव्य–महाकाव्यहरुमा पनि सन्दर्भ मिलाएर नीति समावेश गरिनु वाञ्छनीय मानिएको पाइन्छ । संस्कृत महाकाव्यकार भारवि र माघ यस क्षेत्रमा अग्रणी मानिन्छन् । पुराना साहित्यशास्त्रमा नीतिलाई विकृति, विसङ्गतिबाट मानिस मात्रलाई जोगाउने व्यवहार ज्ञान पनि भनिएको छ। यसरी नीतिले नीतिशास्त्रको रुपमा विकसित हुनुअघि यसबारे धेरै विमर्शहरु भएका साक्ष्यहरु इतिहासमा पढ्न पान्छन्।

संस्कृत भाषाको आदिकाव्य भनिने वाल्मीकि रामायणको प्रथम अध्यायमा रामको व्यक्तित्व वर्णन गर्ने क्रममा विशेषणका रुपमा नीति शब्दको प्रयोग भएकोे पाइन्छ– ‘बुद्धिमान् ‘नीतिवान्’ वाग्मी श्रीमान् शत्रुनिवर्हणः ।’ नीतिवान् अर्थात् नीतिअनुसार आचार–विचार भएका आदर्श व्यक्तित्व ।

आजको समाजमा नीति शब्दको एउटा प्रचलित अर्थ दाउपेच पनि हो । यो स्वाभाविक नभएर व्यवहारले उब्जाएको लाक्षणिक एवम् व्यञ्जनात्मक अर्थ हो जस्तो लाग्छ । नीतिको स्वाभाविक अर्थ त जीवनको सही बाटो नै हो । नीतिबाट नैतिकता बन्छ । निश्चित नीतिअनुसार चल्नु नै नैतिकता हो । नीतिअनुसार नचल्ने मानिसलाई अनैतिक भन्ने गरिन्छ ।

मानव इतिहासले के साबित गरेको छ भने, नीति अटल, अपरिवर्तनीय र सर्वग्राह्य निश्चिति भने होइन । यो ठाउँ, समुदाय र समयगत आवश्यकताअनुसार फरक–फरक हुन सक्छ । बेला–बेला बदलिन सक्छ । समाजले अपनाएका स्थितिमा नीति एक किसिमको कानुन नै हो । कति कानुनका प्रावधानहरु समाजका परम्परागत र प्रचलित नीतिका आधारमा बनेका हुन्छन् । सबै नीतिहरु बाध्यात्मक कानुन भने बनेका हुँदैनन् र पनि नीति अनुकूल आचरण नगर्नेलाई अनैतिक भनिन्छ । अनैतिक भनिनु कुनै पनि सभ्य समाजमा इज्जतको कुरा होइन ।

कानुन बनाएर गरेपछि जे पनि उचित हुन्छ भन्ने अत्याधुनिक ‘प्रजातान्त्रिक स्थापना’ले अहिले नेपालमा नीति र नैतिकता शब्दको इज्जत निमिट्यान्न पारेको छ । अनुकूल कानुन बनाउने, भ्रष्टाचार गर्ने र अकूत सम्पत्ति कमाउने सत्तासीन राजनीतिक नेतृत्वले किसिम–किसिमका अर्बाैं रकम भ्रष्टाचारका विराध राक्षसस्मारक काण्डहरु घटित गराएपछि समाजमा एउटा नयाँ शब्दसंयोजन चलनचल्तीमा आएको छ– नीतिगत भ्रष्टाचार । नीति नै भ्रष्टाचारमा मुछिएपछि अब प्रचलित नीति शब्दको अर्थ के हुने ? अथवा नीतिका अनेकौँ किसिमहरु हुने कि ? जस्तै– सदाचार नीति, लोकाचार नीति, दुराचार नीति, अत्याचार नीति, भ्रष्टाचार नीति, माफियाचार नीति, दलाल नीति आदि । राजनीति, अर्थनीति, कूटनीति, विदेशनीति भूराजनीतिजस्ता शब्दहरु त चलनचल्तीमा आइसकेकै छन् । लाग्छ, परम्परागत अर्थोत्कर्ष सकिएर अव नीति शब्द साँच्चिकै ‘आलु’ बनिसकेको छ । जेसँग मिसाए पनि हुने मध्यकालीन कवि शिखरनाथको आलु । जस्तै—
तर्कारीमध्य मीठो तरुल बनको ओल तामा पिँडालु,
रानी टूसा करेला सबसित मिलन्या मध्य सर्दार आलु ।

जहाँसम्म संस्कृतिको कुरा छ, यो संस्कारबाट शुरु हुन्छ । संस्कारको परम्परागत शब्दार्र्थ माझ्नु, मयल हटाउनु, सफा र चमकदार बनाउनु हो । अमिल्दो र अनावश्यक हटाएर चिरिच्याट्ट बनाउनु हो । मान्छेको मात्र होइन, घर, गोठ, बोट, बगैँचा, पाल्तु पशुपन्छी र सरसामानकोे पनि संस्कार हुन्छ । घर परिवारमा, छरछिमेकमा, समुदाय समाजमा र विद्यालय, महाविद्यालयहरुमा दिइने शिक्षण्–प्रशिक्षण संस्कारकै विविध स्तर र रुपहरु हुन् । संस्कार गर्भदेखि नै शुरु हुन्छ भन्ने मान्यता पनि समाजमा छ। कतिपय धर्म–संस्कृतिमा गर्भाधानदेखि मृत्युपर्यन्तका विधि कर्मकाण्डहरुलाई संस्कार नै भन्ने गरेको पाइन्छ ।

संस्कारबाट संस्कृति बन्छ । संस्कृतिले संस्कारको मात्र अर्थ बोक्दैन । कुनै पनि समाजको औपचारिक, अनौपचारिक चालचलन, रीतिस्थिति, जात्रापर्व, खानपान, परिधान, नाच–गीत, हाँसो–ठट्टा, पारिवारिकता, विवाह, नातासम्बन्ध, जन्मदेखि मृत्युपर्यन्तका तमाम विधि व्यवहार, चाडबाड, क्रिया, कर्म, पाठपूजा, बोलीवचन, सोचसमझ र परम्परागत कृषि, पशुपालन, उद्योग व्यवसायलगायत यावत् कामकुराका रीति, नीति र प्रक्रियालाई पनि संस्कृति शब्दले समेट्छ । यो संस्कृति शब्दले पाएको पारिभाषिक अर्थावलिसमेत हो । हामी सांस्कृतिक सोच–समझले खारिएका व्यक्तित्वलाई सुसंस्कृत भन्छौँ । यस क्षेत्रका विशिष्ट विद्वान्हरुको निक्र्यौलअनुसार संस्कृति त मानिसको दोस्रो प्रकृति नै हो ।

संसारमा जातजाति र समुदाय अनेक छन् । संस्कृति पनि अनेक छन् । हरेक जातजाति र समुदायका संस्कृति फरक–फरक छन् । नाच, गीत, सङ्गीत, वाद्यवादन, जात्रा, मेला सबै फरक–फरक छन् । खानपान, रहनसहन, विधि–व्यवहार फरक–फरक छन् । जीवन जिउने पद्धति, शैली फरक छन् । विधि निषेध फरक–फरक छन् । कर्तव्य र अधिकार नै पनि फरक–फरक छन् । धार्मिक कर्मकाण्ड पद्धतिहरु फरक–फरक छन् । चालचलन, रीतिस्थिति, परिधान, व्यवधान, नातासम्बन्ध र तिनका मूल्य–मान्यता सबै फरक–फरक छन् । खाद्य, अखाद्यका सूची फरक–फरक छन् । समुदायहरुबीच एउटाको दृष्टिमा आपराधिक कृत्य अर्काको परम्परागत संस्कृति र एउटाको संस्कृति अर्काका दृष्टिमा भयङ्कर अपराध मानिने स्थिति पनि भेटिन सक्छन् । अनेकौँ संस्कृतिका समुदायहरुको बसोबास रहिआएको देश तथा समाजमा संस्कृति–संस्कृतिका बीच समन्वय रहिआएको हुन सक्छ, संघर्ष चलिआएको पनि हुन सक्छ । भाषा, भूषा त संस्कृतिको स्थूल पहिचान हो नै । अझ गहिराइमा पुगेर अध्ययन गर्दा समग्र संस्कृति नै जातजाति र समुदायको पहिचान रहिआएको पाइन्छ ।

सबैले आफ्नो संस्कृतिलाई महान् ठान्छन्, भन्छन् । आफ्नो संस्कृतिको बखान गरेर अरुको संस्कृतिको बदख्वाइँ गर्नेहरु पनि समाजमा भेटिन्छन् । बदख्वाइँ गर्नेहरु आपूmलाई महान् विद्वान् पनि ठान्छन् । हामी आज जे छौँ, हाम्रो संस्कृतिकै प्रतिफल छौँ, हाम्रो संस्कृति महान् थियो र छ भने हामी विकास र प्रगतिमा पनि महान् हुन सक्नुपथ्र्यो, हुन सकेका छैनौँ, किन ? भन्ने कोणबाट सोच्ने विद्वान्हरु प्रायः पाइँदैनन् । हरेक संस्कृतिमा कतिपय महान् चलनहरु छन् । कतिपपय अधोगामी र नीच किसिमका चलन पनि छन् । राम्रोको संवद्र्धन, संरक्षण गर्नु र नराम्रोको पहिचान गरेर हटाउनु चेतनाको दायित्व हो ।

संस्कृति सहज, सरल र कम खर्चिलो हुन सक्छ । जटिल र बोझिलो पनि हुन सक्छ । समयक्रममा संस्कृतिमा विकृतिहरु गाँसिन पनि सक्छन् । वैदेशिक सम्बन्ध, सम्पर्क, अप्रत्याशित कमाइ, भ्रष्टाचार, तस्करी आदि कारणबाट मुलुक, समाज र समुदायहरुका परम्परागत संस्कृतिमा अजङ्गका विकृतिहरु गाँसिन आइपुगेका श्रव्यदृश्यहरु हामी आज भोजभतेर, व्रतबन्ध, विवाह आदि समारोहहरुमा देख्न र बेहोर्न पाइरहेका छौँ । नेपालको मौलिक संस्कृतिलाई माया गर्नेहरु यसमा चित्त दुखाइरहेका भेटिन्छन् । संस्कृतिमा नेपाली पन र नेपाली मनको जगेर्नाका लागि सार्थक प्रयत्न गरिरहेका व्यक्तित्वहरु भने कतै कोही भेटिँदैनन् । सांस्कृतिक क्रान्तिकै आवश्यकताको त अझै कुरै उठेको छैन ।

मानिसहरु विशेष जान्ने, सुन्ने हुँदै आएपछि संस्कृति शब्दका अगाडि विशेष विशेषणहरु भने लाग्न थालेका छन् । जस्तै– हिमाली संस्कृति, पहाडी संस्कृति, मैदानी संस्कृति, जातीय संस्कृति, अन्तर्जातीय संस्कृति, ग्रामीण संस्कृति, शहरिया संस्कृति, प्रचीन संस्कृति, अर्वाचीन संस्कृति, निवर्तमान संस्कृति, उदीयमान संस्कृति, पिछडा संस्कृति, विकासशील संस्कृति, विकसित संस्कृति, सामन्ती संस्कृति, पूँजीवादी संस्कृति, मिश्रित संस्कृति, प्रजातान्त्रिक÷लोकतान्त्रिक संस्कृति, धार्मिक संस्कृति, राजनीतिक संस्कृति, कृषि संस्कृति, औद्योगिक संस्कृति, व्यापारिक संस्कृति, लोक संस्कृति, म्रीयमाण संस्कृति, मृत संस्कृति, जीवन्त संस्कृति, अधोगामी संस्कृति, उध्र्वगामी संस्कृति, रुढिवादी संस्कृति, प्रगतिशील संस्कृति, वैज्ञानिक संस्कृति आदि ।
यसै त भौगोलिक अवस्थाका आधारमा पनि कति संस्कृतिहरु बनेका र चलेका छन् । तिब्बतका बासिन्दाहरुको परम्परागत पोशाक, जुत्ता, टोपी, खानपान, जीवनपद्धति नेपालका तराईका बासिन्दाहरुसँग मात्र होइन पहाडकै बासिन्दाहरुसँग पनि मिल्दैन । नेपालकै मनाङ, मुस्ताङलगायत हिमाली जिल्लाका माथिल्ला भेगमा बसोबास गर्नेहरुको भेषभूषा र खानपान तिब्बतेलीहरुसँग मिल्छ । तराईका बासिन्दाहरुको संस्कृति पारिका इन्डियनहरुसँग मिल्छ । यसलाई रोटी–बेटी पनि भनिन्छ । यो भूअवस्थाले सिर्जना गरेको अवस्था विशेषको सांस्कृतिक उत्पादन हो । यो एउटा लघुतम दृष्टान्त हो ।

आफ्नै संस्कृतिमा उभिएर हुर्केको विकास मात्र दिगो हुन्छ । यसै हो भने संस्कृति त विकासको पूर्वाधार बनिनुपर्ने हो । नेपालको राजनीतिमा व्याप्त भुइँफुट्टा चरित्रका कारण नेपाल र नेपालीका हितमा प्रतिबद्ध भएर सोचविचार एवम् व्यवहार बनाउनेतर्फ हुनुपर्ने प्रयत्नहरुको संस्कृति अझै आरम्भ भएको छैन । यसैले नेपालको भाग्य–भविष्य विदेशीका हातमा खेलौना बन्न पुगेको दारुण अवस्था नै आजको वर्तमान बनेको छ ।

धर्मका आधारमा पनि विभिन्न विधि–व्यवहारका संस्कृतिहरु बनेका पाइन्छन् । नेपालमा बोन, बौद्ध र हिन्दुधर्मका आधारमा बनेका धार्मिक विधि–व्यवहार र संस्कृतिहरु देख्न पाइन्छन् । यिनीहरुबीच सामञ्जस्य र समन्वय परम्पराले मेलमिलापको नमुना संस्कृति बनेको छ । नेपालमा एक धर्मको सहिनसक्नुका व्यवहारहरु अर्का धर्मवालाहरुले सही बस्नुपर्ने सहिष्णुताको सवाल कहिल्यै बनेन । सामञ्जस्य र समन्वयको परम्परा प्रभावी रहिआयो । यसैले नेपालमा धार्मिक सहिष्णुता छ भन्नु स्वाभाविक भनाइ होइन । निश्चित धर्म–संस्कृतिमाथि जथाभावी आलोचना र गालीगलौज नेपालको रैथाने धर्म–संस्कृतिको परम्परा होइन ।
यथार्थमा नेपाल हिन्दु देश होइन । यो त बोन सनातनी, बौद्ध सनातनी, किरात सनातनी एवम् हिन्दु सनातनीहरुको सझा धर्म–संस्कृतिको देश हो । यहाँ हिन्दु, बौद्ध, बोन र किरातधर्मीहरुको समान हैसियत छ । नेपाल धर्म–संस्कृतिका क्षेत्रमा इन्डियासँग नजिक छ भन्नु पनि सर्वथा गलत हो । नेपालको दक्षिणी भेगको धर्म–संस्कृति इन्डियासँग मिल्छ भने उत्तरी भेगको धर्म–संस्कृति चीनसँग मिल्छ । संस्कृतिमा नेपालको आफ्नै मौलिकता पनि कम छैन । जस्तै– दशैँ, तिहार नेपालमा आफ्नै मौलिकतामा विकसित संस्कृतिहरु हुन् ।

अहिले आएर हाम्रो मुलुकमा रैथाने संस्कृतिमा क्षयीकरण शुरु भएको छ । विदेशीहरुबाट परिचालित धर्मान्तरण आक्रमण तीव्र छ । खानपान, भेषभूषा र विचार–व्यवहारमा पश्चिमाहरुको प्रभाव व्यापक भएको छ । नेपालको शिक्षापद्धतिमाथिको पश्चिमा आधिपत्यमुखी प्रभावले रैथाने ज्ञान र सीपको भयङ्कर अपमान एवम् उपेक्षा भएको छ । हजारौँ वर्षदेखि विकसित र सुरक्षित रैथाने जनजीवनका कृषि, स्वास्थ्य उपचार र स्थानीय जरडीबुटीसम्बन्धी ज्ञान र सीपले संरक्षण र संवद्र्धनको अवसर पाएका छैनन् । पश्चिमा बहुराष्ट्रिय कम्पनीहरुबाट परिचालित औषधि र उपचार–व्यापारको आक्रामक चपेटामा परेर रैथाने नेपालीहरुको आफ्नो स्वास्थ्य आफ्नै हातमा राख्ने परम्परागत संस्कृतिको लोप भइसकेको अवस्था छ । हाम्रो स्वास्थ्य संस्कृति के हो, हाम्रै नयाँ पुस्तालाई थाहा छैन ।

हरेक क्षेत्रमा सांस्कृतिक विघटन देखिन थालेको छ । हाम्रो परम्परागत संस्कृति आज बीभत्स फोहोरका थुप्रामा पुरिन थालेको अवस्थामा देखिएको छ । संस्कृतिमा फोहोर छ भने माझेर फोहोरजति फाल्ने कि संस्कृतिलाई नै फोहोरमा डुबाइदिने ? प्रश्न जसले पनि गर्न सक्छ । उत्तर कसले दिने ? भनिन्छ, आफ्नै संस्कृतिमा उभिएर हुर्केको विकास मात्र दिगो हुन्छ। यसै हो भने संस्कृति त विकासको पूर्वाधार बनिनुपर्ने हो । नेपालको राजनीतिमा व्याप्त भुइँफुट्टा चरित्रका कारण नेपाल र नेपालीका हितमा प्रतिबद्ध भएर सोचविचार एवम् व्यवहार बनाउनेतर्फ हुनुपर्ने प्रयत्नहरुको संस्कृति अझै आरम्भ भएको छैन । यसैले नेपालको भाग्य–भविष्य विदेशीका हातमा खेलौना बन्न पुगेको दारुण अवस्था नै आजको वर्तमान बनेको छ।