असार र साउनमा बाढीको ताण्डव

विपद्बाट डेढ महिनामा १ सय ४५ को मृत्यु

98
Shares

काठमाडौं ।

यस वर्ष वर्षात् शुरू भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्जन्य घटनाबाट करिब डेढ सय जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार अविरल वर्षासँगै आएको बाढी, पहिरोलगायतका विपद्मा परी गत जेठ २८ गतेदेखि साउन १६ गते दिउँसोसम्म १ सय ४५ जनाको मृत्यु हुनुका साथै ४ हजार ६३ घरपरिवार विस्थापित भएका हुन् ।

मंगलबार रातिबाट बुधबार बिहानसम्म निरन्तर परेको पानीले काठमाडौंको बल्खु खोलामा ४५वर्षीय रामसरूप महतको मृत्यु भयो भने भोजपुरमा ३० वर्षीय रमेश थारू र २६ वर्षीय श्यामकुमार थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।

अहिलेसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा २, कोशी प्रदेशमा २४, मधेस प्रदेशमा ६, वागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २४, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा १ सय ४५ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिनुभयो । हालसम्म बाढीका कारण १ सय ८४ घर डुबानमा परेका छन् । त्यस्तै, २ सय ४८ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

जेठदेखि हालसम्म ६ सय ७२ वटा पशुचौपायाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा १०, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, वागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा १ सय ७४ जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १४, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ गरी जम्मा ७३ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा २, वागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा २ र कर्णाली प्रदेशमा १ गरी ४७ जना बेपत्ता भएकोमा उनीहरूको खोजीकार्य जारी रहेको प्रवक्ता कार्कीले बताउनुभयो।

बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने र सडक अवरोध हटाउने कार्यका प्रहरीले सक्रियताका साथ सबैको समन्वयमा काम गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जलमग्न उपत्यका, प्रहरीको सक्रियता
मंगलबार रातिबाट बुधबार बिहानसम्म निरन्तर परेको वर्षाले काठमाडौं, ललितपुर र भक्तपुरका खोला भरिएर किनाराका बस्तीहरू डुबानमा परेका छन् । उपत्यका नै जलमग्न बनाएर जनजीवन प्रभावित भएको अवस्थामा सुरक्षा संयन्त्रको टोलीले आवश्यक उद्धार गर्ने र अवरोध हटाउने काम गरेको छ ।

ललितपुरको बालकुमारी, च्यासलमा रहेको एमाले पार्टी कार्यालय र च्यासल फुटबल ग्राउन्ड त्यस्तै सानेपा बल्खुदेखि शंखमूलसम्म करिडोरमा खोलाको सतह बढेर जलमग्न बनाएको थियो । इमाडोल क्रिस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल, सानेपा राम मन्दिर, शंखमूल पार्क, श्रमिक कान्ति कलेज, कुपण्डोल वडा कार्यालय, चाङ्गाथली बस्तीमा समेत खोला पसेको थियो। यी स्थानबाट डुबानमा परेका ३ बालक, ८ महिला, १३ पुरुष गरी जम्मा २४ जनाको प्रहरीले उद्धार गरेको जनाएको छ।

त्यस्तै, कीर्तिपुरस्थित अस्थायी प्रहरी पोस्ट सुन्दरीघाटको भवनभित्र वागमती खोलाको बहाव बढ्दा वृत्तको भवनमा स्थानान्तरण गर्नुपरेको छ भने प्रहरी प्रभाग कोटेश्वर मातहतका प्रहरी बिट झोलुङ्गे पुलको भवन डुबानमा परेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ।

काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबीखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ ।

भक्तपुर पनि डुबानमा

मंगलबार राति परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् । भक्तपुर भएर बग्ने हनुमन्ते खोला, मनोहरा खोला, महादेव खोला, खस्याङखुसुङ खोलाको बहाब बढेपछि बस्तीमा पसेका छन् । सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीले २८ जनालाई उद्धार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरको हनुमानघाट, जगाती, च्यामासिंह, राममन्दिर, बाराहीस्थान र सल्लाघारी आसपासका बस्तीमा बाढी पसेको छ । डुबानले तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। डा. इवामुरा स्मृति अस्पतालमा पनि पानी पसेको छ भने सिद्धिस्मृति अस्पतालमा पानी पसेपछि सेवा नै ठप्प भएको छ।

यसै गरी मध्यपुर थिमीको राधेराधे, चारदोबाटो, बालकोट, सागबारी, गठ्ठाघरको तल्लो भागका बस्ती, मनोहरा आसपासको सुकम्बासी बस्ती तथा बालीनाली डुबेका छन्। सूर्यविनायक नगरपालिका–४ स्थित मोर्डन कलेज अगाडि मगर गाउँमा महादेव खोला बस्तीमा पसेको छ । राधेराधेमा छ लेन सडकको सर्विस ट्रयाक नै खोलामा परिणत भएको छ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले उच्च सतर्कताका लागि आह्वान गर्नुका साथै उद्धारको आवश्यकता भए जानकारी गराउनसमेत आग्रह गर्नुभएको छ। उहाँले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी रातीदेखि नै उद्धारमा खटिएको बताउनुभयो। अविरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोको जोखिम बढेको उहाँको भनाइ छ।

नेपाल रेडक्रस सोसाइटीका जिल्लास्थित स्वयंसेवकहरू उद्धारमा खटिएका छन्। जिल्लास्थित राजनीतिक दलका प्रमुखहरूले पनि आवश्यक व्यवस्थापनमा सहयोग गर्न आफ्ना कार्यकर्तालाई निर्देशन जारी गरेका छन्।