नेपाल प्रहरीमा असफल विद्रोहको प्रयास


काठमाडौं ।

नेपाल प्रहरीका प्रहरी अतिरिक्त मानिरीक्षक श्याम ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान टोली नै गठन गरेर छानबिन शुरू गरेको छ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेको पक्षमा खुलेर लागेका एआईजी ज्ञवालीले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई हटाएर आफू आईजीपी बन्न गरेको षड्यन्त्र छताछुल्ल भएपछि प्रहरी प्रधान कार्यालयले ज्ञवालीमाथि छानबिन गर्न समिति गठन गरेको हो।

गत असार १० देखि १२ सम्म अमेरिकाको न्युयोर्कमा भएको फोर्थ युनाइटेन नेसन्स चिफ अफ पोलिस समिट (यूएनसीओपीएस) मा भाग लिन गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीमा महानिरीक्षक कुँवर र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल गएका थिए ।

सोही बेला एआईजी ज्ञवालीले सशस्त्र प्रहरी बलको सहयोगमा भुटानी शरणार्थी काण्डमा मुछिएका बेचन झालाई भारतबाट समातेर नेपालको सीमामा ल्याएर नेपाल प्रहरीले पक्राउ गरेको र शरणार्थी काण्डलाई आफूले अनुसन्धान गर्ने भन्दै मन्त्री लामिछानेलाई ब्रिफिङ गरेका थिए ।

अमेरिकमा रहेका दुवै संगठन प्रमुखलाई हटाउने खेलमा गृहमन्त्री लामिछानेको समेत सहमति रहेको रहस्य खुलेपछि प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीमाथि एक्सन लिइएको हो । सशस्त्र प्रहरी बलका एआईजी नारायणदत्त पौडेलको निर्देशनमा दिल्लीमा रहेका बेचन झालाई सशस्त्र प्रहरी टोली दिल्ली पुगेर नेपाल–भारत सीमामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको स्रोतको दाबी छ ।

यस खेलमा सशस्त्रका एआईजी पौडेलको समेत संलग्नता भेटिएपछि सशस्त्र प्रहरी बलले परिपत्र नै जारी गरेर कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले विदेशी दूतावासदेखि राजनीतिक दलका नेताहरूसँग भेट नगर्ने र भेट्न पर्ने भए संगठन प्रमुखको स्वीकृति अनिवार्य लिनुपर्ने र त्यस्तो हर्कत गरेको देखिए कारबाही गर्ने चेतावनी दिइएको थियो ।

असार १० गते अमेरिका प्रस्थान गरेको उक्त टोली १८ गते स्वदेश फर्किएको थियो । त्यही बीचमा दुवै संगठनका एआईजीहरूमाथि आईजीपी हटाएर प्रहरीमा असफल विद्रोह गराउने खेलमा सामेल भएको आरोप लागेको छ । एआईजी ज्ञवालीमाथि छानबिन गर्न अर्का एआईजी टेकप्रसाद राईको अध्यक्षमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

समितिमा एसपी प्रकाश मल्ल, कानुन शाखाका डीएसपी रुकबहादुर खड्का रहेका छन् । ज्ञवालीमाथि नेपाल प्रहरीभित्र विद्रोह गर्न खोजेको, प्रहरी महानिरीक्षक हटाउने खेलमा प्रमुख भूमिका खेलेको, सीआईबी प्रमुखका रूपमा रहेर काम गर्दा तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष पक्राउ गरेर विवादास्पद निर्णय गरेको, एलओडी क्लबमाथि छानबिन गर्ने नाममा बार्गेनिङ गरेको लगायतका दर्जन आरोपमाथि छानबिन समितिलाई अनुसन्धान गर्न निर्देशन दिइएको छ ।

एआईजी ज्ञवालीमाथि सीआईबी प्रमुखका रूपमा आपराधिक लाभ लिनुका साथै नेपाल प्रहरीभित्र विद्रोह गराउने सम्मको योजना बनाएको अभियोगमा छानबिन शुरू भएकाले अभियोग प्रमाणित भए ज्ञवाली पदमा रहँदै जेल जाने सम्भावना बढेको छ। ज्ञवाली नागरिकता विवादमा पनि मुछिँदै आएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था सुशासन समितिमा एआईजी ज्ञवालीमाथि छानबिन गर्न एआईजी राईको अध्यक्षतामा अनुसन्धान टोली गठन गरेको जानकारी गराउनुभएको थियो ।

यता, सशस्त्र प्रहरी बलका एआईजी पौडेलमाथि पनि अनुसन्धान शुरू भएको र उहाँको पनि संलग्नता देखिए कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखककले गृह सचिव अर्याललाई निर्देशन दिनुभएको छ। पछिल्लो समय सुरक्षा संगठनमाथि राजनीतिक दलले धावा बोल्न थालेपछि संगठनमा कार्यरत उच्च अधिकृतहरू विभिन्न खेलमा सामेल हुन थालेका छन्।