उपत्यकाको विभिन्न ठाउँमा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

714
Shares

काठमाडौँ ।

साउन १६ गते अविरल वर्षाका कारण उपत्यकाको विभिन्न ठाउँमा डुवानमा परेकाहरुको उद्धार गरिएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा वर्षाको कारण गोदावारी खोलामा पानीको बहाव बढी डुवानमा परेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश व्यासी भक्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो । यसैगरी काठमाडौ महानगरपालिका–१० शंखमुल क्षेत्रको २ वटा घरभित्र छिरेको पानी सशस्त्र प्रहरी बल नेपाल नं। २० विपद् उद्धार गण सिनामंगलको सुरक्षा फौजले प्रोटेबल पम्प प्रयोग गरी फालिएको छ ।

यसैगरी थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाग्मती नदिको पानी पसेर डुवान भएकोमा सोही गणबाट खटिएको विपद् उद्धार तालिम प्राप्त फौजले बस्तीको पानी कटान गर्ने कार्य गरेको छ ।

अविरल वर्षाको कारण काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं। १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले उद्धार गरेको छ । अबिरल बर्षाको कारण बाढिमा फसेको खबर पाएपछी बिहान ५ बजे सो गणबाट फौज परिचालन गरिएको थियो । उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो ।

यसैगरी साँखु भोटेचौर सडकखण्ड अन्तर्गत देउरालीमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौज र स्थानीय वासिन्दाले स्काईभेटरको सहायताले सुचारु गरेको छ ।

काठमाडौको नागार्जुन नगरपालिका–३ ईचङ्गुनारायणस्थित लकजोल टोलमा वर्षाको कारण पहिरो आई पुरिएको टहरामा रहेको खाद्यन्न, लत्ताकपडा, भाडावर्तन तथा पशुचौपाया सशस्त्र प्रहरी बल नेपाल नंं । १९ बगलामुखी विशेष कार्यदल गणबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।

यसैगरी ललितपुरको सानेपास्थित राजतिर्थमा अविरल वर्षाको कारण बाग्मती नदिमा आएको बाढिले डुवानमा परेका ६ जनाको सशस्त्र प्रहरी बल नेपाल नं . २१ दक्षिणकाली गणको सुरक्षा फौजले सकुशल उद्धार गरेको छ ।