गणतन्त्रमाथि प्रहार नहोस्


नेपालमा संसदीय अभ्यासको शुरुवात भएको दशकौं बितिसक्यो। राजतन्त्रबाट प्रजातन्त्र हुँदै गणतन्त्रमा प्रवेश गरेको नेपालले पछिल्लो समय यसको अभ्यास कसरी भइरहेको छ भन्नेबारे बहस शुरु हुन थालेको छ।

नेपालमा गणतन्त्रको विकल्प हुन सक्छ कि सक्दैन भनेर बहस हुनुलाई पक्कै पनि शुभ संकेतको रुपमा लिन सकिँदैन। झन्डै ७० वर्षको राजनीतिक संघर्षपछि नेपालमा संघीयतासहितको गणतन्त्र आएको लामो समय भएको छैन। अहिले नै गणतन्त्रको विकल्पको बारेमा खुल्लारुपमा छलफल हुनुलाई यो व्यवस्था असफल भन्ने कि गणतन्त्रलाई प्रयोग गर्नेहरुले गरेको विकृतिका रुपमा लिने ? जे भए पनि व्यवस्थाको बारेमा विकल्प छ कि छैन भनेर बहस हुनुलाई नेताहरुको असफल भिजन र सोच कारक भएको मान्न सकिन्छ । गणतन्त्र र संघीयता आफैँमा नराम्रो होइन तर यसलाई प्रयोग गर्नेहरुले आफ्नो अनुकूल प्रयोग गर्दा अहिले गणतन्त्रप्रति नै जनताको वितृष्णा जाग्नु पक्कै राम्रो होइन ।

कुनै पनि व्यवस्था आफैँमा नराम्रो हुँदैन। यसलाई कसरी प्रयोग गरिन्छ भन्ने विषय महत्वपूर्ण हो । नेपालमा गणतन्त्रलाई नेताहरुले आफू अनुकूल प्रयोग गर्दा व्यवस्थामाथि नै प्रश्न उठेको छ। यसलाई सामाजिक अभियन्ताहरुले बहस र पैरवी गर्नुपर्ने हो तर त्यस्तो भएको पाइँदैन । हिजो जनताको इच्छा थियो कि थिएन, जनताको नाम भजाएर नेपालमा गणतन्त्र स्थापनाका लागि ठूलो संघर्ष गरियो । त्यसपछि मुलुकमा गणतन्त्र पनि आयो तर गणतन्त्रको नाममा लुटतन्त्र मच्चिन थालेपछि व्यवस्थामाथि धावा बोल्ने काम गरिएको छ । गणतन्त्रमाथि आक्रमण गर्ने क्रम तीव्ररुपमा अघि बढेको अवस्था छ। यसमा कसको कति दोष छ ? छलफल हुन जरुरी छ । कुनै अमुक नेताका कारण व्यवस्थामाथि प्रहार गर्नेमाथि जनता जागरुक हुन जरुरी छ । सुन्दर व्यवस्थालाई नै कुरुप बनाउनेमाथि निगरानी राख्नुपर्ने देखिन्छ ।

अब पनि हामीले यो व्यवस्था राम्रो, त्यो व्यवस्था नराम्रो भनेर बहस गर्नुभन्दा अहिलेको व्यवस्थालाई कसरी सहीरुपमा प्रयोग गर्न सकिन्छ भनेर छलफल गर्नु जरुरी छ । मुलकभित्रका र बाह्य शक्ति अहिले मुलुकलाई अस्थिर बनाउन लागिपरेको देखिन्छ। आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने समूह नै निरन्तररुपमा गणतन्त्रमाथि प्रहार गरिरहेका छन् भने बाह्य शक्ति नेपालमा अस्थिरता उत्पन्न गरी आफ्नो अभिष्ट पूरा गर्न लागिपरेको देखिन्छ।

यस विषम परिस्थितिको बारेमा गम्भीर छलफल गरेर अहिलेको व्यवस्थालाई बलियो बनाउनु र नेताहरुका गन्धा हर्कतका विरुद्ध सशक्त आवाज उठाउनुपर्ने अवस्था सिर्जना भएको छ। यसतर्फ सबैको ध्यान जान जरुरी छ।