त्रिविको बजेट २६ अर्ब पास

‘कुलपति त प्रधानमन्त्री नै उपयुक्त’

84
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय सभाले शैक्षिक सत्र २०८१÷०८२ का लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ। हिजो मंगलबार सम्पन्न सभामा रजिस्टार प्राडा केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाखको पेस गर्नुभएको थियो।

त्रिविको मंगलबार सम्पन्न सिनेट बैठकले नियमित कार्यक्रमतर्फ १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुने अनुमान गरेको छ। आन्तरिकतर्फ ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा १ अर्ब खर्च हुने जनाएको छ।

कुलपति एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा सम्पन्न सभाले विश्वविद्यालय अनुदान आयोगमार्फत १२ अर्ब १४ करोड ३६ लाख अनुदान माग गर्ने जनाएको छ । आयोगले सरकारसँग बजेट माग गरेर त्रिविलाई सहयोग गर्ने जनाएको छ।

प्रधानमन्त्री ओलीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमै अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले विश्वविद्यालयलाई पुनर्संरचना, सेन्टरअफ एक्सिलेन्स बनाउनुपर्ने बताउनुभयो। उहाँले त्रिविको पाठ्यक्रमलाई समय अनुकूल परिवर्तन गर्नुपर्ने, परीक्षाफल र पठनपाठनमा एकरूपता ल्याउनुपर्ने उल्लेख गर्नुभयो।

उहाँले त्रिविमै उत्कृष्ट शिक्षा दिएर लाखौं विद्यार्थीलाई स्वदेशमै पढ्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘आफ्नै देशमा पढेर देशकै लागि रोजगारी सिर्जना गर्नु त्रिविको दायित्व हो।’

समयको मागअनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने उहाँको धारणा थियो । विगतदेखि नै बेरुजु घट्न नसकेकाले २८ अर्ब रुपियाँ बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयमा समावेशी सहभागिताका आधारमा परिणाम निकाल्न सक्ने गरी निर्णय हुनुपर्ने उहाँको भनाइ थियो ।
बैठकले विभिन्न संकायबाट ६२औं ग्रेसलिस्टमा समाविष्ट ७३ हजार ९ सय ९५ विद्यार्थीलाई उपाधि प्राप्तिका लागि अनुमति प्रदान गरेको छ । उहाँले त्रिविमा सुधारको गति कम हुँदै गएको आरोप लगाउनुभएको थियो । यसलाई बढाउन आ–आफ्ना ठाउँबाट सबैले पहल गर्न आग्रह गर्नुभयो ।

विश्वविद्यालयहरूमा के कस्ता समस्याहरू छन्, ती समस्यालाई कसरी उत्पन्न भएका हुन् र तिनको समाधानका लागि विश्वविद्यालयका पदाधिकारी र सरोकारवाला पक्षसँग छलफल गरी निचोडमा लैजानु आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओेलीले विश्वविद्यालयका नीतिगत र दीर्घकालीन महत्वका विषयमा आवश्यक गृहकार्य गरी छिट्टै अर्को सिनेट बैठक गरेर निचोडमा पुगिने विश्वास दिलाउनुभयो । बैठकमा सिनेट सदस्यले त्रिविको लामो बेरुजुका विषयमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘विगतमा बढेको थियो, अब घट्छ ।’

प्रधानमन्त्री ओलीले प्राध्यापकहरूको मर्यादा निर्धारण र भूकम्प प्रभावित बाँकी क्याम्पसका भवन निर्माणमा तदारुकता दिन आग्रह गर्नुभयो । उहाँले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने काुननी व्यवस्था नै उपयुक्त हुने तर सभाले नराख्ने भन्ने निर्णय भएमा आफूलाई कुलपति रहिरहन आवश्यकता नरहने स्पष्ट गर्नुभयो ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले त्रिविलाई सेन्टर अफ एक्सिलेन्स बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।