‘बेसिक लाइफ सपोर्ट डे’ मा धुलिखेल अस्पतालको सक्रियता

882
Shares

धुलिखेल। 

धुलिखेल अस्पतालले साउन १५ गतेलाई हरेक वर्ष ‘बेसिक लाइफ सपोर्ट डे’ मनाउँदै आएको छ । अस्पतालले तेस्रो वर्ष मनाएको बेसिक लाइफ सपोर्ट डे मा व्यक्तिको भूमिका, महत्त्व, आवश्यकता तथा व्यक्तिको जीवनसँग जोडेर स्वास्थ्यकर्मी बाहेक अन्य क्षेत्रमा समेत विस्तार गर्नु पर्ने विषयमा छलफल गराएको थियो । 
प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालका संस्थापक कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजुको अध्यक्षता रहेको थियो । उनै माकजुको परिकल्पनामा सुरु गरिएको बेसिक लाइफ सपोर्ट डेलाई क्रमशः विद्यालय स्तरमा लैजाने तयारी गरिएको छ । 

अस्पतालले पछिल्ला केही  वर्ष यो सम्बन्धी आवश्यक जनशक्ति उत्पादन गरिरहेको छ भने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शिक्षक, सुरक्षाकर्मी, समुदायका अगुवा तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई तालिम प्रदान गर्ने तयारी गरेको छ । सन् २०१७ देखि २०२२ सम्म सोहि विषयको तालिम प्राप्त गर्ने जनशक्ति २ सय ५२ थियो । अस्पतालको तर्फबाट २०२३÷२०२४ मा १ सय ८२ जना महिला र ६६ जना पुरुष गरी २ सय ४८ जनालाई तालिम प्रदान गरिएको छ । डा. विकास पराजुलीले तालिम प्राप्त ब्यक्तिहरु पनि समुदायमा पुगेर सेवा प्रदान गर्नु पर्ने अवस्थामा आत्मविश्वास बढाउन कठिन रहेको बताएका थिए । 

कार्यक्रममा अस्पतालले तयार गरेको बेसिक लाइफ सपोर्टका बारेमा वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त वृत्तचित्रमा विरामीहरुलाई कसरी सिपिआर दिन सकिन्छ ? सिपिआरका फाइदा के हुन् ? सिपिआर दिँदा अपनाउनु पर्ने विधि र प्रक्रियाका बारेमा समेत जानकारी गराइएको थियो । सिपिआरका बारेमा समुदायमा रहेको भ्रम हटाउन स्वास्थ्यकर्मी तथा सिपिआर तालिम प्राप्त व्यक्तिहरूले फैलाउनु पर्ने सकारात्मक सन्देशका बारेमा ड्रामा प्रस्तुत गरिएको छ । 

व्यक्तिले सही  समयमा सही  अवस्थाबाट सिपिआर पाउन सके नयाँ जीवन प्राप्त गर्न सक्ने तथ्यांकहरुले देखाएका छन् । आपतकालिन अवस्थामा १०२ नम्वरमा फोन गर्ने र एम्बुलेन्सका लागि तयारी गर्दा सिपिआर दिनु पर्ने अवस्थाका बिरामीलाई सिपिआर दिईराख्दा विरामीले नयाँ जीवन पाउन सक्ने चिकित्सकहरुले बताएका छन् । स्वंयम ब्यक्तिका लागि भन्दा पनि नजिकका आफन्तका लागि सिपिआर महत्वपूर्ण उपचार विधि भएकाले सबै व्यक्तिले जान्न र सिक्न आवश्यक रहेको उनीहरूले बताए । धुलिखेल अस्पतालले एक घर एक सिपिआर सिप प्राप्त व्यक्ति उत्पादन गर्ने गरी आवश्यक तयारी गरेको डा.सम्झना बस्नेतलले बताइन् । 

कार्यक्रममा बोल्दै डा.रामकण्ठ माकजुले धुलिखेल अस्पतालले सबै खालका नागरिकहरुका लागि सबै खालका रोगहरुको उपचारका लागि सहज र सरल रुपमा पहुँचमा पुग्ने गरी सेवा प्रदान गर्ने प्रयत्न गरिरहेको बताए । प्रशासकिय प्रमुख डा.विराजमान कर्माचार्यले स्वास्थ्यकर्मी हुनु भनेको अर्थात् स्वास्थ्य प्रति चेत राख्नु भनेको कुनै व्यक्तिलाई नयाँ जीवन दिनु र बिरामी व्यक्तिको पीडालाई कम गर्नु रहेको बताए । उक्त कार्यमा धुलिखेल अस्पताल सधै सक्रिय रहेको डा.विराजमान कर्माचार्यले बताए । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा सुरेशराज शर्मा, धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर डा.बलराम मल्ल, सम्झना बस्नेत, डा.विकास पराजुली, डा.प्रकाश सापकोटा, डा.यज्ञरत्न शाक्य, डा.रोहित श्रेष्ठ, डा.श्रेया श्रेष्ठ, डा.राजकुमार दंगाल लगायतले अस्पतालले सुरु गरेको बेसिक लाइफ सपोर्ट डे सबै क्षेत्रका नागरिकहरुका लागि आवश्यक रहेको बताएका थिए । 

कार्यक्रममा अस्पतालका इमरजेन्सी विभागका विभिन्न जिम्मेवारीमा रहेका डाक्टर तथा नर्स र अन्य कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।