जोकोभिचको गोल्ड जित्नेतिर अग्रसर

294
Shares

पेरिस, (एजेन्सी) ।

सर्बियाका नोभाक जोकोभिचले स्पेनका राफायल नाडाललाई हराउँदै पेरिस ओलम्पिकमा गोल्ड जित्नेतिर अग्रसर भएका छन् । जोकोभिचले क्ले कोर्ट किंग नाडाललाई हराएपछि गोल्ड जित्ने संभावना बलियो भएको हो ।

उनले यो खेल ६–१, ६–४ ले जितेका थिए । जोकोभिचले २००८ मा बेइजिङ ओलम्पिकमा ब्रन्ज मेदल जित्नुबाहेक ओलम्पिकमा ठूलो उपलब्धि हासिल गर्न सकेका छैनन् । जबकी उनी मेन्स सिंगल टेनिसतर्फ सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने खेलाडी हुन् ।
स्विमिङमा फ्रान्सका लियोन मार्चन्दले नयाँ ओलम्पिक रेकर्ड राख्दै गोल्ड मेदल जितेका छन् । मेन्स ४०० मिटर इन्डिभिजुएल मेडलीमा उनले गोल्ड जितेका हुन् । जापानका तोमोयुकी मात्सुसिताले सिल्भर र अमेरिकाका कार्सन फोस्टरले ब्रन्ज मेदल प्राप्त गरे । २२ वर्षीय मार्चन्दले ४ मिनेट ०२।९५ सेकेण्डको नयाँ ओलम्पिक रेकर्ड रच्ने क्रममा अमेरिकाका माइकल फेल्प्सको रेकर्ड ४ मिनेट ०२.९६ समयलाई पछि पारेका हुन् ।

ब्रिटिस स्विमरलाई कोभिड पोजिटिभ
ब्रिटिस महान स्विमर एडाम पीटीको कोभिड १९ टेस्ट पोजिटिभ देखिएको बताइएको छ । उनले आइतबार ग्रेट ब्रिटेनका लागि १०० मिटर ब्रेस्टस्ट्रोकमा सिल्भर मेदल दिलाएका थिए । उनले फाइनल अघि संचो नभएको टिम ग्रेट ब्रिटेनको स्टेटमेन्टमा उल्लेख गरिएको थियो ।

पिटीले ०.०२ सेकेण्डले गोल्ड जित्न सकेनन् । उनले लगातार तीन ओलम्पिकमा गोल्ड जितेर माइकल फेल्प्सको रेकर्डसँग बराबरी गर्ने लक्ष्य लिएका थिए । तर, उनी सिल्भरमै सीमित भए । २५ मिटरसम्म अघि भएका उनलाई इटालीका निकोलो मार्तिनेन्गीले पछि पारेर गोल्ड जित्न वंचित गरेका थिए ।