जुडोमा मनीता पराजित


काठमाडौं ।

नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक २०२४ को वोमेन्स ५७ केजीमुनिमा पराजित भएकी छन् ।
सोमबार भएको इलिमिनेसन राउन्ड अफ ३२ इभेन्टमा मनीता इप्पोनका आधारमा पराजित भएकी हुन् । पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्बियाकी मरिका पेरिसिकले मनीतालाई १०–० अंकले पन्छाइन् । उनले म्याटमा १ मिनेट ०२ सेकेन्ड बिताएकी थिइन् ।

दस वर्षको उमेरदेखि जुडो करियर सुरु गरेकी २५ वर्षीया मनीताले १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा रजतका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी छन् । कलिलै उमेरमा बन्दी सहायता नियोग ९पाम० मा हुर्केकी मनीताले पामबाटै जुडो करियर सुरु गरेकी थिइन् ।

मनीताका सुरुआती प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुन् जसले टोकियो ओलम्पिकमा सोनिया भट्टको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । मनीताले इन्डोनेसियाको जकार्ता(पालेम्वाङ तथा चीनको हाङझावमा भएको क्रमशः १८ औं र १९ औं एसियाली खेलकुद तथा ३ विश्व जुडो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । ओलम्पिक छात्रवृत्ति प्राप्त मनीताले पेरिस ओलम्पिकमा सहभागी हुनुअघि पेरिस ओलम्पिकलाई नै मध्यनजर गरी विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् ।

सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग कप जुडो प्रतियोगितामा ‘डेब्यु गरेकी मनीता सोमबार औपचारिक रुपमा ओलम्पियन बनिन् । त्रियोग जुडोमा मनीताले स्वर्ण जितेकी थिइन् । ‘कन्टिनेन्टल क्वालिफिकेसन कोटाबाट पेरिस ओलम्पिकमा स्थान बनाएकी मनीता समग्रमा ओलम्पिक खेल्ने छैटो नेपाली जुडो खेलाडी हुन् ।

ओलम्पिकमा ६ नेपाली जुडो खेलाडी

गंगाबहादुर डंगोल र ऋषिराम प्रधान –१९८८ सिओल ओलम्पिक

देबु थापा –२००८ बेइजिङ ओलम्पिक

फुपु ल्हामु खत्री –२०१६ को रियो दि जेनेरियो ओलम्पिक

सोनिया भट्ट –२०२० टोकियो ओलम्पिक

मनिता श्रेष्ठ प्रधान –२०२४ पेरिस ओलम्पिक

ओलम्पिकमा फुपु अब्बल
ओलम्पिकमा नेपालबाट खेलेका ६ जुडो खेलाडीमध्ये फुपु ल्हामु खत्री अब्बल रहिन् । उनले २०१६ मा ब्राजिलमा भएको ओलम्पिकमा ४ मिनेट समय ‘म्याट मा बिताएकी थिइन् । यही एक मात्र नेपाली जुडोले ओलम्पिकमा हासिल गरेको उपलब्धि हो ।

पेरिसबाट ४ खेलाडी बाहिरिए
पेरिस ओलम्पिकमा मनीतासंगै ४ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । यसअघि पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र शूटिङकी सुस्मिता नेपाल बाहिरिसकेका छन् ।