पहिरोमा बेपत्ता चार जनाको शव भेटियो, एकजना अझै बेपत्ता

फाइल तस्बिर

गोरखा।

गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतवारदेखि बेपत्ता भएका चार जनाको शव आज फेला परेको छ ।

पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल कान्छा गुरुङको शव घर नजिकै २० मिटर तल पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । बेपत्ता ३७ वर्षीय जीतबहादुर गुरुङको शव पनि भेटिएको छ । उनको शव घरदेखि करिब २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा फेला परेको हो ।

यस्तै बेपत्ता भएका ३३ वर्षीय रेशम गुरुङको शव फेला परेको छ। उनको शव घरदेखि ३० मिटर तल फेला परेको हो।

पहिरोमा परेर बेपत्ता भएकी ३५ वर्षीया कान्छी गुरुङको शव भने गण्डकी गाउँपालिका–८ बर्खेघाटमा फेला परेको प्रहरीले जनाएको छ। आइतबार दिउँसो वेवारिसे अवस्थामा बुढीगण्डकी नदी किनारमा भेटिएको उक्त शव पहिरोमा परेर बेपत्ता भएकी कान्छीको भएको परिवारले पुष्टी गरेको हो ।

पहिरोमा बेपत्ता भएका आरुघाट गाउँपालिका २७ वर्षीय रमेश परियारको अवस्था अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उक्त पहिरोमा परेर घाइते भएका दुई जनाको भने स्थानीयले उद्धार गरेर हिजै उपचारको लागि हेलीकप्टरमार्फत् काठमाडौँ ल्याइएको छ। उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ।