आकर्षक सरकारी सेवालाई बदनाम गर्दै निजामतीका खलपात्र

४३० जनामध्ये हाकिम तहकै बढी भ्रष्टाचारी

0
Shares

काठमाडौं।

निजामती क्षेत्र जति आकर्षक छ, बढ्दो भ्रष्टाचारका कारण त्यति नै बद्नाम बन्दैछ । यतिसम्म कि निजामती तहकै सर्वोच्च पद मुख्यसचिवसमेत भ्रष्टाचार काण्डमा परेपछि त निजामती प्रशासन झनै बद्नाम भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध गतअसार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित भएका छन् । इतिहासमै पहिलोपटक मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । यसअघि मुख्यसचिव भइसकेका कसैलाई पनि कुनै प्रकारको भ्रष्टाचार मुद्दा लागेको थिएन ।

अख्तियारले बहालावाला मुख्यसचिव अर्यालले यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हँुदा अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा ३८ करोड ६७ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको हो । यसो त गत एक वर्षको अवधिमा अख्तियारले सरकारका मुख्यसचिव, सचिव, सहसचिवलगायत ४ सय ३० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि निजामती प्रशासनमा भ्रष्टाचार मौलाइरहेको पुष्टि भएको हो ।

यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा सेटिङ गरी आर्थिक अनियमितता गरेको आरोपमा सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे अहिले अदालतको आदेशमा पुर्पक्षका लागि जेलजीवन बिताउन बाध्य भएका छन् । यसै अवधिमा अख्तियारले पूर्वसचिव रामकुमार श्रेष्ठलाई अकुत सम्पतिमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने पूर्वअर्थसचिव शिशिरकुमार ढुंगानाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । भ्रष्टाचार मुद्दा दायर हुने पूर्वसचिवहरूमा भीमप्रसाद उपाध्याय, गजेन्द्र ठाकुर, सञ्जय शर्मा, शंकरप्रसाद अधिकारी रहेका छन् । यसैगरी तत्कालीन सचिव मधु मरासिनीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले सफाइ दिएपछि उनी फेरि काममा फर्किएका छन् ।

अख्तियारका अनुसार अहिले पनि सरकारका कैयौँ सहसचिव, उपसचिव र शाखा अधिकृत भ्रष्टाचार गरेको आरोपमा छानबिनकै क्रममा रहेका छन् ।
अख्तियारले गत एक वर्षको अवधिमा भ्रष्टाचारको मुद्दा दायर गरेका हाकिममध्ये सहसचिवस्तरका २३ जना, उपसचिवस्तरका ५२ र शाखा अधिकृतस्तरका १३५ जना रहेका छन् । यसैगरी भ्रष्टाचार मुद्दा दायर गरिएकोमा नायबसुब्बास्तरका १२२ जना, खरिदार २४ जना र जुनियर कर्मचारी १२ र कार्यालय सहयोगी दुईजना रहेका छन् ।

कुन तहका कति ?

विशिष्ट श्रेणी (मुख्यसचिव, सचिवस्तरका) –१०

सहसचिवस्तरका –२३

उपसचिवस्तरका –५९

शाखा अधिकृत÷इन्जिनियर –१३५

लेखापाल –४३

नायबसुब्बा –१२२

खरिदार –२४

जुनियर कर्मचारी –१२

कार्यालय सहयोगी –२