सहकारीको रकम अपचलन गरेर विदेश भागेकालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन


काठमाडौँ।

सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

‘सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई समितिले निर्देशन दिएको छ’, बैठकपछि सभापति सूर्यबहादुर थापाले भने, ‘कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्दैछौँ । सोधपुछका लागि जनशक्ति र समयको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।’

समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको छ ।