वर्तमान सरकार कति टिक्ला ?

168
Shares

अन्ततः नेकपा माओवादी एकता केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई एमालेले विश्वासको मत फिर्ता लिई सत्ताबाट हट्न बाध्य बनाएरै छोड्यो । प्रचण्डले आफूले संसद्बाट पुनः विश्वासको मत लिएर देखाउने ध्वाँस देखाए पनि उनको पक्षमा जम्मा ६३ मत मात्र परेपछि प्रधानमन्त्रीको पदबाट राजीनामा गरेर नयाँ सरकारको लागि मार्गप्रशस्त गर्न बाध्य भए। यसै क्रममा गत असार ३१ गते नेकपा एमालेका अध्यक्ष केपी ओली चौथोपटक नेपालको कार्यकारी प्रधानमन्त्रीका रुपमा सत्तारोहण गरी सोही दिन शपथसमेत ग्रहण गरे ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको प्रधानमन्त्रीत्व कालमा देशका राजनीतिक व्यक्तित्व, सरकारी कर्मचारी आदिका भ्रष्टाचारी कुकर्मले गर्दा थला परेको देशलाई त्यसबाट मुक्त गर्न नसके पनि त्यसको उत्खनन गर्ने थालनी गरेकोमा आमजनतामा आशाको लहर पलाउन थालेको थियो । त्यसबाहेक भने प्रचण्ड नेतृत्वको सरकारले गरेका उल्लेख्य काम खासै देखिँदैनन् ।

हालै गठन भएको केपी ओली नेतृत्वको सरकार पनि खास लामो समय टिक्ला भन्ने कुरा विश्वास गर्न सकिने ठाउँ छैन । प्रचण्ड नेतृत्वको सरकारले थालनी गरेको भ्रष्टाचारको चिरफार तथा भ्रष्टाचारीलाई उचित कार्यवाहीको दायरामा ल्याउने कामको निरन्तरता दिन नसकेको खण्डमा ओली सरकारको लामो समय टिक्ने आधार क्रमशः भत्कन थाल्छ । उनको सरकार चाँडै धराशायी हुन पुग्छ । यदि नेकपा एमाले बहुमतको एकल पार्टीको एकमना सरकार हुन्थ्यो भने अबको पूरै समय टिक्ने सम्भावना प्रबल रहने थियो । तर नेपाली कांग्रेस पार्टीसँग गाँसिएर बनेको सरकार हुनाले कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो मकसद पूरा हुँदै जान थालेपछिका दिनमा ओलीलाई पत्याउन छोड्ने दिन पनि आउँछ भनेर हेक्का राख्नुपर्ने हुन्छ ।

ओली नेतृत्वको सरकारका नेताहरुले नै विगतको समयमा विभिन्न काण्डहरु मच्चाएको अभियोग लागेको मात्र होइन कि यिनले गरेका विभिन्न काण्ड जस्तै– नक्कली भुटानी शरणार्थी काण्ड, गिरीबन्धु काण्डजस्ता दर्जनौँ काण्ड मच्चाएका कुरा छताछुल्ल भइसकेका छन् । भ्रष्टाचारको जुनसुकै काण्ड मच्चाउने भए पनि ती अपराधी मान्छे हुन् र तिनलाई सख्त कार्यवाही हुनै पर्छ भन्ने देखिन्छ । वर्तमान सरकारमा सहभागी कांग्रेस र एमालेका कतिपय नेता स्वयं विभिन्न अपराध कर्ममा लागेका र अहिले आफ्ना अपराध लुकाएर चोखिनको लागि सत्तामा गएका हुन् भन्ने विश्लेषणमा सत्यताको केही मात्रा भेटिन सक्छ । यी सबै कारणले गर्दा कमरेड केपी ओली नेतृत्वको सरकारको आयु प्रचण्डको जति पनि लामो नरहला भन्ने अनुमान राजनीतिक वृत्तमा समेत हुन थालेको पाइन्छ ।

वर्तमान सरकारमा सहभागी कांग्रेस र एमालेका कतिपय नेता स्वयं विभिन्न अपराध कर्ममा लागेका र अहिले आफ्ना अपराध लुकाएर चोखिनको लागि सत्तामा गएका हुन् भन्ने विश्लेषणमा सत्यताको केही मात्रा भेटिन सक्छ । यी सबै कारणले गर्दा कमरेड केपी ओली नेतृत्वको सरकारको आयु प्रचण्डको जति पनि लामो नरहला भन्ने अनुमान राजनीतिक वृत्तमा समेत हुन थालेको पाइन्छ ।

नेतृत्व घटकका कांग्रेसी नेता तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवासमेत नक्कली भुटानी शरणार्थी काण्डजस्ता धेरै काण्डमा मुछिएको र प्रचण्ड नेतृत्वको सरकार कायम रहँदाकै बखतमा पक्राउ पर्न सक्ने डरले भारततिर भागेकी भनेजस्ता हल्ला पनि बजारमा नआएका होइनन् । यदि यो विषयमा यथार्थको मात्रा अधिक रहेछ भने वर्तमानको केपी ओली नेतृत्वको सरकार भनेको त भ्रष्टाचारीहरुकै बाहुल्यता भएको आपराधिक संगठनजस्तो पनि लाग्दो रहेछ । विभिन्न काण्ड मच्चाउनेजस्ता आपराधिक कर्म गरेर लागेको पाप पखाल्नको लागि सरकारको नेतृत्वमा रहेर आफूलाई जोगाउने तानाबानामा लाग्ने मूल उद्देश्यले बनेको सरकारले देश र जनताका लागि फाइदा हुने काम केही पनि गर्न सक्नेछैन । देश र जनताका हितमा काम गर्न नसक्ने सरकारसँग नेपाली जनताले कुनै महान् तथा निःस्वार्थ भावले गरिने कर्मको अपेक्षा राख्नु भनेको आकाशको फल आँखा तरी मर् भनेजस्तो मात्रै हो ।

वर्तमान सरकारको नेतृत्व गरिरहेका केपी ओली महोदयले आफूलाई एक कम्युनिस्ट नेता नभनेर सिद्धान्त हराएको मान्छे भन्दा सुहाउँछ कि ? हिजोका दिनमा अर्को कम्युनिस्ट घटकको टाउको काटेर ल्याउने आदेश दिई हजुर सरकारको दास बनेका व्यक्तिसँग आज आन्द्रो जोडेर सत्ताको पखेटा चढ्दा अलिकति सरमको कुरो केही पनि हुने रहेनछ । सत्ताको मोहमा फसेको मान्छेले सिद्धान्त, आदर्श सबै कुरालाई कुनामा थोपरेर चोखो बन्न खोज्नुपर्ने रहेछ ।

सत्तामा रहेको व्यक्तिलाई दिँदै आएको विश्वासको मतलाई अविश्वासमा परिणत गरेपछिका दिनमा सत्ताको बागडोर सम्हालेर अगाडिको सत्ताधारीले भन्दा राम्रा र देश र जनताका हितमा प्रभावकारी काम गर्न सकेको अवस्थामा मात्र दोस्रो सत्ताधारीले आमजनताको विश्वास जितेकोजस्तो महसुस होला । नत्र भने पहिलो र दोस्रोमा कुनै भेद हुँदैन वा दोस्रो अझै खराब वा लालची भएर अनियमितताका काममा पराकाष्ठा कटाउँछ भने ऊ सत्तारोहण गर्नुको औचित्य समाप्त भएर जान थाल्छ । त्यस्तै प्रचण्डको तुलनामा ओली र देउवाले के–कस्ता काम गरेर करोड नेपाली जनको मन जित्लान् त भन्ने प्रश्न उठ्छ । यो प्रश्नको उत्तरमा यदि जनप्रेमी काम गर्न सक्दैनौ भने नगर तर ज्यान मारेको प्रमाणित भई जेल सजाय भोग्दै गरेकोलाई शक्तिको भरमा उन्मुक्ति दिई आमजनता त्रस्त भएर बाँच्नुपर्ने वातावरण भुलेर पनि सिर्जना नगर ।

हाल सरकारको नेतृत्व गरिरहेका दुवै प्रमुख दलका प्रमुख नेताहरुले कम्तीमा तीन–चारपटकसम्म प्रधानमन्त्रीको कुर्सीमा बसेर शायद जीवनभर पुग्ने धन सञ्चय गरिसकेको होला । त्यसैले अब कुनै कुनाबाट पनि अनियमित तरिकाले धन कमाउने धन्दा नगर्दा हुन्छ । भरसक आफूलाई लागेको आरोप भागेर वा लुकेर छल्न खोजी सामना गरेको जस्तो नाटक गर्दै नगर्नु उचित हुन्छ। परिआइलागेमा आफूले गरेको कुकर्मको फल भोग्न तयार भएर आफ्नो महानताको परिचय दिनु राम्रो हुन्छ । पछिका पुस्ताले पनि त्यो बाटोलाई सजिलै अनुशरण गर्न सकून् ।

हालको ओली नेतृत्वको सरकार देशको उन्नतिको लागि, भ्रष्टाचार नियन्त्रणको लागि, सुशासनको लागि बनेको हो । प्रचण्ड नेतृत्वको सरकारले यी कामहरु प्रभावकारीरुपमा गर्न नसकेको भएर उक्त सरकारलाई अल्पमतमा पारी दुई पार्टीको सरकार बनेको हो भनेर वर्तमान प्रधानमन्त्री केपी ओलीले बोलिसकेको अवस्था हो तापनि ओली नेतृत्वको सरकारले उनीहरुले भनेजस्तै उन्नतिका काम गर्ला भनेर आम जनताले पत्याउन छोडिसकेका छन् । किन यस्तो भयो भने, यिनले आम नेपाली जनतालाई धेरैपटक धोका दिएर आजित बनाएका छन् । कमरेड प्रचण्डको शासनकालमा पनि जनताको भनाइ वा प्रतिक्रिया त्यति सकारात्मक थिएन । अब ओली नेतृत्वको सरकार पनि कुनै उद्देश्यबेगर सत्तामा आएको छ । किन सत्ताको लागि मरिहत्ते गरेको भन्ने सन्दर्भमा भन्ने हो भने, प्रचण्डका कार्यकर्ताले खान पाएको निकै समय भयो तर एमाले र कांगे्रसका कार्यकर्ताले खान नपाएकोले उनीहरुलाई पनि खाने मौका जुराएको भन्दा फरक नपर्ला । यसरी भागवण्डा गरेर भए पनि कार्यकर्ता पोस्ने र नेता मोटाउनेभन्दा बाहेकका सिन्को भाँच्ने कामसमेत ओली नेतृत्वको सरकार होस् कि देउवा नेतृत्वको सरकार वा भर्खरै बाहिर परेको प्रचण्ड सरकार, कसैले पनि देशहितको कामना राखेर सुकर्मतिरको बाटो लाग्ने कर्म यतिको लामो इतिहासमा शायदै भएन होला ।

सत्तारोहण गर्ने व्यक्ति वा समूहले कस्तो विचारले अभिप्रेरित भएर सत्तारोहण गर्दै हुन्छ, त्यसै अनुसारका कर्मकाण्डहरु गर्न उद्यत् रहन्छ । आफू र आफ्नाले गरेका देश लुट्नेजस्ता घातक कामलाई लुकाएर सजायको भागीदार बन्नबाट जोगिनेजस्तो विचार बोकेर सत्तारोहण गरेका ओली र देउवाले अरु कुन खालका राम्रा काम गर्लान् त ? भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । खुरापाती सोच बोकेर सत्ता साझेदारीको सहयात्रा गर्दै गरेका दुई राजनीतिक दलका मन्त्री, कार्यकर्ता कसैले पनि गैरकानुनी काम नगरी कानुनकै दायरामा रहेर जीवन बाँच्न सकिने आदर्श उदाहरण प्रस्तुत गर्न सकेको खण्डमा मात्र नेतृत्व गर्ने नेता महान् व्यक्तिका रुपमा स्थापित हुन सक्नेछन् । होइन भने आजका दिनमा नै करोड जनताले बहिष्कार गरेको नेतृत्व लाचारीका साथ पुनरागमन गर्दै गर्दा आम जनताको मनमा कुनै खुशीयाली छैन । बरु त्यसको साटोमा निराशा छाएको छ । आफ्नो उपस्थितिले ती निराश भएका आम नेपालीको मुहार एउटा विश्वास र भरोसाको लहर दौडाएर थोरै चमकदार बनाउन नसक्नेले सत्ताको लालसा देखाएर किन मरिहत्ते गर्नु ?

हाल सत्तारोहण गरेको नेतृत्वले अब पनि कुविचारबाट निसृत भई कुकर्मकै खातिर सत्ताको लालसा देखाएको रहेछ भने उसले कहिल्यै पनि क्षमा पाउनेछैन । आखिर सार भनाइ यही हो कि आम मानवलाई फाइदा पुग्ने खालका कर्म गर्न नसक्नेले एमसीसी पास गर्नेजस्ता भविष्यसम्म असर रहने खालका कुकर्म नगर्नु नै बुद्धिमानी ठहरिनेछ ।
भर्खर सत्तारोहण गरेकाहरुले आफूलाई विगतका आपराधिक कर्मको दोषबाट जोगाएर चोखो पानी छर्कने विचारले सरकारमा सामेल भएका कोही भए त्यो विचार उनीहरुको दूरदृष्टिको अभावले सिर्जना भएको केवल एउटा भ्रम मात्र हो भन्न सकिन्छ । जब मानिसमा कुविचार पलाउँछ, काम पनि कुकर्म नै हुन्छ र सुविचारमा सुकर्म नै हुने गर्दछ । त्यसैले केपी ओली नेतृत्वको सरकारले सक्छ भने सुविचारका साथ देश र जनताको भलाइका काम गरोस्, होइन कुविचारमै डुबेको भए कुनै कामै नगरोस् तर पापकर्मचाहिँ गर्दै नगरोस् ।