सांसद श्रेष्ठको ६ बुँदे प्रस्ताव

सबै भाषाभाषीलाई अपनत्व हुने गरी संशोधन गर्न माग


काठमाडौं ।

काठमाडौं क्षेत्र नं ८ का सांसद तथा पूर्व मन्त्री विराजभक्त श्रेष्ठले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा ६ बुँदे संशोधन प्रस्ताव पेस गर्नुभएको छ ।

संसद्को शिक्षा समितिमा बोल्दै सांसद श्रेष्ठले सबै भाषाभाषीले अपनत्व महसुस गर्ने गरी विधेयकलाई अन्तिम रूप दिनुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।

श्रेष्ठले सो विधेयकमा संशोधन प्रस्ताव पेस गर्दै विधेयकको परिच्छेद ३ को दफा ७ मा मातृभाषा थप्नुपर्ने प्रस्ताव गर्नुभयो । यसरी मातृभाषा थप्दा सम्पूर्ण नेपालीको बहुजातीयतालाई समेटनुपर्ने उहाँको तर्क रहेको छ ।

उहाँका अनुसार यस विषयलाई भाषा आयोगले समेत सिफारिस गरिसकेको छ । यसै गरी सो विधेयकको परिच्छेद ३ को उपदफा २ को (ग) मा नेपाली वा भन्ने हटाउने र नेपाली भाषामा पनि विभिन्न नजसमुदायका मातृभाषा भएको उल्लेख गर्न नपर्ने प्रस्ताव गर्नुभएको छ ।

यसै गरी परिच्छेद ३ को दफा ८ को उपदफा २ को (घ) मा खण्ड (घ) थप्नुपर्ने , २०७२ सालमा जारी भएको नेपाल संविधानको भाग ३ मौलिक हक र कर्तव्यअन्तर्गत दफा ३२ मा भाषा तथा सांस्कृतिक हकको १ मा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक छ भन्ने ठाउँमा प्रत्याभूत गर्न मातृभाषा शिक्षा लिने र परीक्षा दिन पाउने हक सुनिश्चित गर्नुपर्नेलगायतका ६ बुँदे संशोधन प्रस्ताव सांसद श्रेष्ठले पेस गर्नुभएको हो ।