२ हजार ८५९ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्टमा

सूचीका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नु पर्ने


काठमाडौं ।

कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिस्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम शनिबार प्रकाशन भएको छ। काठमाडौं महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार सूची प्रकाशन गरेको हो। यसको विवरण इमेलबाट विद्यालयहरूलाई पठाइसकिएको छ।

यस्तै विद्यार्थीहरूलाई एसएमएस पठाइएको छ। विद्यार्थीहरूले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो सिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन्। शनिबार प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरूमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए।  नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नु पर्नेछ।

छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भने, ‘तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दाबी विरोध गर्न पाइँदैन।’ शर्माले भने, ‘साउन १५ गतेभित्र भर्ना नभई रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ।’ विज्ञान विषयमा छात्रवृत्तिका लागि लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ। यसमा ८ हजार ४९७ जनाले आवेदन दिए। परीक्षामा ७ हजार ६६५ जना सहभागी भए। ६ हजार ७२० जना उत्तीर्ण भए। उत्तीर्णमध्ये १ हजार ६३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ। 

व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ। यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिए । २ हजार ३२८ जनाले परीक्षा दिए। परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भए। यस विषयका लागि पहिलो म्याचिङ् लिस्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ। कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ। यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो। १३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भए । उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ। 

मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाको आवेदन थियो । आवेदकमध्ये ११ जनाले परीक्षा दिए। यस्तै ८ जना उत्तीर्ण भए। यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशन भएको छ। 

शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ। यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए। १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशित छ। छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते बिहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो। 

प्रणालीबाट ११ हजार ८७१ जना विद्यार्थी आवेदन दिएका थिए। जसमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो। साउन ४ गते ३८ वटा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो। 

साउन ७ गते योग्यता क्रम प्रकाशन भयो । यस नतिजामा चित्त नबुझे पुनर्योग वा दाबी विरोधका लागि ३ दिन (साउन १० गते साँझ ५ बजेसम्म) समय दिइयो। यस अवधिमा १४३ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। यसमध्ये १ जनाको नतिजा परिवर्तन भएको छ।  

भर्नामा सहयोग गर्न अधिकारीहरूको नम्बर सार्वजनिक

नोमिनेसन सूची (म्याचिङ् लिष्ट) मा नाम भएका विद्यार्थीहरूले अनलाइनबाट मनोनयन पत्र डाउनलोड गर्न सक्छन् । भर्ना हुन जाँदा यही पत्र लिएर जानुपर्छ । 

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले कुनै पनि शुल्क तिर्नु पर्दैन । शिक्षा अधिकारी शर्मा भन्नुहुन्छ, ‘कतिपय विद्यालयहरुले भर्ना, प्रयोगशाला शुल्क माग गरेको गुनासो आएको छ । हामी यस विषयमा जानकारी लिँदैछौँ ।’

विभागले विद्यालयले शुल्क माग गरेकोसहित भर्नामा कुनै समस्या भए तत्काल सम्पर्क गर्न कार्यालय र शिक्षा अधिकृतहरूको नम्बर उपलब्ध गराएको छ। यस प्रकारको समस्या भएमा ०१ ४१६८७२० कार्यालय समयमा, शिक्षा अधिकृतहरू नेत्रनारायण पौडेल ९८५११९९९४५, इन्द्रप्रसाद दाहाल ९८५१०६६६१७, ओमप्रसाद गौतम ९८५१२०२५१८ र केशव ज्ञवाली ९८४८७७७१८८ मा सम्पर्क गर्न सकिनेछ।