युट्युब च्यानलप्रति आक्रामक हुँदै प्रेस काउन्सिल

कार्यविधिद्वारा कडाइ


काठमाडौं ।

प्रेस काउन्सिल नेपालले युट्युब च्यानललाई पत्रकारिता आचारसंहिता भित्र राख्ने गरी कडाइ थालेको छ। युट्युब च्यानलले व्यक्ति विशेषलाई गालीगलौज गर्ने, मानमर्दन गर्ने, पारिवारिक अवस्था बिगारिदिने तथा पत्रकारिता आचारसंहितको ठाडो उल्लंघन गर्ने क्रम बढेपछि काउन्सिल त्यस्ता युट्युब च्यानलप्रति आक्रामक बनेको हो।

प्रेस काउन्सिलले यसका लागि युट्युब च्यानलको व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयनमा ल्याएको छ। सो कार्यविधि कार्यान्वयन सँगै युट्युब च्यानलहरू सच्चिन थालेको काउन्सिलले जनाएको छ।
गत वैशाख १ गतेदेखि काउन्सिलको सो कार्यविधि लागू भएसँगै भक्तपुर, ललितपुर, झापा, काठमाडौं जस्ता जिल्लामा युट्युबमा आबद्ध पत्रकारलाई सचेतीकरण गरिएको छ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब च्यानलले पनि अन्य सञ्चारमाध्यम जसरी नै कानुनको दायरामा रहेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । बस्नेतले नागरिकहरूले युट्युबलाई सञ्चारमाध्यमको रूपमा लिन थालिसकेको तर ती च्यानहरूमा जिम्मेवारीबोधको कमी भएकाले उनीहरूलाई कार्यविधिमार्फत कडाइ गरिएको बताउनुभयो।

काउन्सिलमा गत आर्थिक वर्षमा विभिन्न युट्युब च्यानलविरुद्ध ५५ ओटा उजुरी परेको थियो। जसमा चरित्रहत्या\मानमर्दन, भ्रामक र सत्यता नभएको, जस्ता प्रकृतिका उजुरी परेका थिए। त्यसमध्ये काउन्सिलले केहीलाई कालो सूचीमा राखेको छ । प्रेस काउन्सिलका प्रवक्ता दीपक खनालले युट्युबलाई सुधार गर्न कार्यविधि लागू गर्दै अभिमुखीकरण गरिएको र यति गर्दा पनि उनीहरूमा सुधार नआए अझ कडा कारबाही गरिने बताउनुभयो ।

कार्यविधिमा के छ ?

युट्युब च्यानलको व्यवस्थापन कार्यविधिले युट्युबलाई तीन प्रकृतिमा विभाजन गरेको छ। पहिलो दर्ता भएका मिडियाअन्तर्गत आबद्ध युट्युब च्यानल\अनलाइन टिभी, दोस्रो मिडियाअन्तर्गत आबद्ध नभई कुनै कम्पनी खडा गरी त्यसमार्फत समाचारजन्य सामग्री सम्प्रेषण गर्ने उद्देश्यले सञ्चालन गेर्ने युट्युब च्यानल\अनलाइन टिभी, तेस्रो व्यक्तिगत अन्य युट्युब च्यानललगायत रहेका छन्।

त्यसै गरी कार्यविधिमा सूचीकरण\अभिलेखीकरणको व्यवस्था, प्रक्रिया, दर्ता गर्ने प्रक्रिया, युट्युबको प्रकार, कानुनी कारबाहीजस्ता विषय समावेश रहेका छन्।