ललितपुर र कैलालीमा १० जनामा हैजाको संक्रमण

28
Shares

काठमाडौं ।

पछिल्लो एक साता यता ललितपुर र कैलालीमा गरी कुल १० जनामा हैजाको संक्रमण देखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको विवरण उल्लेख गर्दै कुल १० जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

‘ललितपुरमा आज थप तीन जनामा र कैलालीमा एक जना नयाँ संक्रमित फेला परेका छन् । हिजोसम्म ललितपुरमा चार र कैलालीमा दुई जनामा हैजाको संक्रमण देखिएको थियो ,’इडिसिडीका निर्देशक डा .यदुचन्द्र घिमिरेले भने ।
उनले कैलालीका संक्रमितको सेती अस्पताल र ललितपुरका संक्रमितहरुको टेकु तथा पाटन अस्पतालमा उपचार भइरहेको बताए ।
अहिले इडिसिडीको टोलीले, प्रदेश, जिल्ला र स्थानीय पालिकासंग समन्वय गरेर थप खोजपडताल, संक्रमितको उपचार र संक्रमणको स्रोत पत्ता लगाउने काम गरिरहेको जनाएको छ ।
गर्मी तथा बर्खा लागेसंगै देशमा बर्षेनी हैजाको संक्रमण देखा पर्ने गरेको छ । यसवर्ष अहिलेसम्म कसैको ज्यान भने गएको छैन ।