अनिष्ट टार्न भीमेश्वर मन्दिरमा क्षमापूजा

1.6k
Shares

दोलखा ।

प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा साउन ५ गते शनिवार र साउन ९ गते बुधवार तीन पटक पसिना आएपछि शुुक्रवार राष्ट्रप्रमुखको तर्फबाट राष्ट्रपति कार्यालय र नागरिकको तर्फबाट भीमेश्वर गुठी व्यवस्थापन समितिले क्षमापूजा गरेको छ ।
भीमेश्वरको शिलामा पसिना आयो भने मुलुकमा कुनै उथलपुुथल वा अनिष्ठ हुने जनविश्वास रहेको छ ।

शिलाको दायाँ पट्टी पसिना आउदा राष्ट्रप्रमुलाई असर गर्ने र बाँया पट्टी पसिना आउदा नागरिकलाई असर गर्ने जनविश्वास रहदै आएको छ । शिलामा पसिना आएपछि पसिना पुछेको कपास चाँदीमा राखेर राष्ट्रप्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट मुलुकमा अनिष्ठ नहोस भनेर क्षमापूजा गर्ने प्रचलन रहेको छ ।

भीमेश्वरको शिलामा शनिवार पसिना आएपछि आईतवार पसिना पुछेको कपास राष्ट्रपति रामचन्द्र पौडेललाई दिईएको थियो । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पुरा हुने जनविश्वास समेत रहेको छ ।

भीमेश्वरको शिलामा साउन ५ गते शनिवार दिउँसो १ः४७ बाट बाँयापट्टी पसिना आउन सुरु भएकोमा ३ः५१ बजे रोकीएको थियो । शनिवार नै दोस्रो पटक ४ः०५ बजे शिलाको दाँयापट्टीबाट पसिना आउन सुरु भै झण्डै १०÷१२ मीनेट सबैतिर पसिना आएको थियो । त्यसैगरी बुुधवार दिउँसो १२ः४५ बजेबाट शिलामा पसिना आउन सुरु भै दिउँसो ३ः१३ बजे रोकिएको भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुु भयो । बुधवार शिलाको सबैतिरबाट पसिना आएको श्रेष्ठले बताउनुु भयो ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी टुुवराज पोखरेल र राष्ट्रपति कार्यालयका उपसचिव कृष्णप्रसाद लम्सालले क्षमापूजा गरेका थिए । त्यसैगरी नागरिकको तर्फबाट भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले क्षमापूजा गरेको समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले बताए ।

क्षमापूजाको अवसरमा ११ जना ब्राम्हणहरुबाट भीमेश्वरको शिलामा जलधारा सहित लघुरुद्री पाठ गरिएको समितिले जनाएको छ । त्यसैगरी मन्दिर परिसरमा यज्ञ होमाधी सहित माङ्गलीक दोष शान्ति ग्रहपुजा समेत गरिएको समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले बताए ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २२ पटक पसिना आईसकेको स्थानियको भनाई छ । पछिल्लो पटक २०७८ बैशाख २५ गते भीमेश्वरको शीलामा पसिना आएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । भीमेश्वरको शीलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि पसिना आएको स्थानिय जेष्ठ सदस्यहरुले बताए ।