जहाज दुर्घटनामा मृत्यु हुनेको पोस्टमार्टम प्रक्रिया शुक्रबार सकिने

शुक्रबारै परिवारलाई हस्तान्तरण गर्ने तयारी

308
Shares

काठमाडौं ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (त्रिवि) मा बिहीबार दिउँसो १ दर्जन बढीको पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टम तदारुकताका साथ भइरहेको छ यही रफ्तारमा काम गरेर बिहीबार बेलुकासम्ममा सबैको पोस्टमार्टम डाटा पूरा गर्ने लक्ष्य छ।

पोस्टमार्टम पूरा गरी शुक्रवारसम्म परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी गराउनुभयो।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो। दुर्घटनामा परेर जहाजमा चालक दलका २ सदस्यसहित १९ जना रहेकोमा १८ जनाको मृत्यु भएको छ। पाइलटको घाइते अवस्थामा काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचार भइरहेको छ। उहाँको मेरुदण्डको शल्यक्रिया बुधबार राती भइसकेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको र हाल सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको चिकित्सकहरूले जानकारी गराएका छन्।

यता, त्रिवि शिक्षण अस्पतालमा १८ वटा लासको पहिचानका लागि पोस्टमार्टम गर्ने काम भइरहेको छ । ठूलो दुर्घटना भएको अवस्थामा लास नचिने र एकको अर्कोलाई पर्न सक्ने सम्भावना बढी हुने हुनाले अन्तर्राष्ट्रिय नियमअनुसार ७२ घण्टासम्म अध्ययन अनुसन्धान गरिने डा.चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘तर हामी सकेसम्म छिटो पहिचान भइसकेका प्रमाण पुगेका लास दिन शुक्रवार बेलुकासम्म पोस्टमार्टमको काम सक्ने गरी काम गर्दैछौं । यसमा कसको मृत्यु भएको लिस्ट छ तर लास पहिचान भइसकेको अवस्था छैन । लासहरू जलेका र क्षतविक्षत भएका छन् यस्लाई आँखाले चिनिने अवस्था छैन । सबैको पहिचान भइसकेपछि आफन्तहरूलाई पनि देखाएर पुनः सुनिश्चित गरेपछि मात्र हस्तान्तरण गर्छांै ।’ त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पताल, पाटन अस्पताल र पोखराबाट पनि पोस्टमार्टमका लागि डाक्टरहरू बोलाएका छौं । अहिले एकैपटक ३ जनाको ३ वटा टिम बनाएर काम भइरहेको छ’ –उहाँले भन्नुभयो ।

जतिसक्दो छिटो काम सक्नका लागि २० जना चिकित्सकको टिम खटेको छ । यदि, डीएनएमा जानु परेन भने शुक्रवार बेलुकादेखि शनिवार बिहानसम्म सबैको हस्तान्तर गरिसक्ने डा. चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पहिचान भइसकेकाहरूका लागि डीएनएका लागि कुरेर बस्दैनौं । पोस्टमार्टम गर्नका लागि पहिचानका लागि पोस्टमार्टम डाटा संकलन गर्छौं । मृत्यु के भएर भएको भन्ने स्पष्टै छ। मृत्युको कारण पहिचानका लागि पोस्टमार्टम गरेको हैन । लास पहिचानको लागि पोस्टमार्टम गरिएको हो । शरीर चिर्नु पर्नाका कारण कसैको पहिला नै कुनै अप्रेसन गरेको, शरीरमा कुनै दाग भएको जस्ता चिह्न होला त्यसको आधारमा व्यक्ति पहिचान गर्न चिरफार गरिएको हो । यसमा पनि हामीले भयावह नदेखियोस् भनेर चिरफार पछि सिलाउने, स्टिच गर्नेजस्ता काम गरेका छौं। यसले पनि समय अलि बढी लाग्छ ।आफन्तजनहरूले घटना हुनुभन्दा अगाडिको फोटो, कपडा, दाँत देखिने गरी हाँसेको फोटो, जिउमा कुनै चिह्न थियो कि, कोठी थियो कि भनेर खोजेका छौं । दाँत देखिने फोटो, फिंगर प्रिन्ट माग्नुको मूल कारण दाँत र फिंगरको आधारमा पनि पहिचान गर्न सकिन्छ । यी सबै दाँजेर पोस्टमार्टमबाट निस्केको तथ्यांक र परिवारले दिएको तथ्यांक क्रस गर्छौं र पहिचान भयो भनेर निष्कर्ष निकाल्छौं ।’

‘१८ जनाको लास अधिकांशको जलन भएको छ । कुनै अलि कम कुनै धेरै जलेको अवस्था छ । धेरै जलन भएकाको पहिचान गर्न अप्ठ्यारो छ । अहिले सबै पोका पोकामा छ । लासको विस्तृत तथ्यांक राखी, फोटो खिच्नेलगायतका मापदण्डअनुसार, गरगहना सबै संकलन गरी लासलाई छुट्टै टिमले नुहाई धुवाई गरेर सफा बनाएर लासमा पहिचानलाई सहयोग पुग्ने केही छ कि भनेर फोटो खिचेर परिवारले दिएको तथ्यांकहरू ल्याएर पोस्टमार्टम डाटासँग भेरिफिकेसनका लागि फिंगर र दाँतको निरीक्षण गर्छौं । यति प्रक्रिया सकेपछि पहिचान भयो भने हस्तान्तरण गर्छौं । पहिचानका लागि दाँत, फिंगर प्रिन्ट र डीएनए यी तीनमध्ये एकमा मिल्यो भने पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार मान्य हुन्छ’ –डा.चौधरीले भन्नुभयो ।

विमान दुर्घटनामा पर्दा क्याप्टेन शाक्य मात्रै जलन नभई बाँच्न सफल भए । ‘जलन छैन, अनुहार, मेरुदण्डसहित विभिन्न भागमा चोटपटक छ । बुधबारै मेरुदण्डको शल्यक्रिया भइसकेको अस्पतालले जनाएको छ । अब खतरामुक्त हुनुहुन्छ ।
दुर्घटना भएको दोस्रो दिन दिउँसो आफन्तको आग्रहपछि बल्ल सौर्य एयरका मार्केटिङ मेनेजर मुकेश खनाल त्रिवि शिक्षण अस्पताल पुगी मृतकका आफन्तलाई भेटी बिमाको प्रक्रियाका लागि आफूलगायत सीईओ लागिपरेको र पीडितलाई भेटन नसकेको बताउनुभयो । उहाँको भनाइ आफन्तले चित्त नबुझाएपछि सीईओसँग नै भेटाउने सर्तमा बाहिरिनुभयो ।

मेरो बुबाको मृत्युको कारण कसले भनिदिन्छ’

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सौर्य एयर दुर्घटनामा परी मृत्यु भएका लाजिम्पाट निवासी सिनियर इन्जिनियर ६६ वर्षका पुण्यरत्न शाहीका छोरा रिजेन शाही त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल (त्रिवि) परिसरमा बुबाको मृत्यु कसरी भयो, जहाज कस्तो अवस्थाको थियो, अब यसको सही जानकारी कसले दिन्छ र म टुहुरो भएको छु, मेरो अवस्था कसले बुझ्छ भन्दै सबैसँग प्रश्न गर्दै रोइरहेका छन् । देख्ने, सुन्ने कोही कसैसँग उनको प्रश्नको उत्तर छैन।

उनी भन्छन् बुबा असाध्यै सक्रिय हुनुहुन्थ्यो । नेपाल एयरलाइन्सबाट अवकास पाएपछि सौर्य एयरलाइन्समा ५ वर्षदेखि काम गर्दै हुनुहुन्थ्यो । पोखरा जान लाजिम्पाट घरबाट बिहानै निस्कनुभयो । मैले बाइकमा पुर्‍याउँछु भनेँ उहाँले मेरो हाकिम पनि जानुहुन्छ म उहाँकै गाडीमा जान्छु भन्नुभयो । मैले चोकसम्म बाइकमा छोडेर अफिस पुगेको २ घण्टा बित्न नपाउँदै फुपूले फोन गरेर जहाज दुर्घटना भयो बुबाको नराम्रो कुरा सुनेँ भन्नुभयो । मलाई पत्यार नै लागेन हैनहोला भनेर एयरपोर्ट पुगे त्यहाँको दृश्य देखेर मन थाम्नै सकिनँ ।

‘मेरो बुबाले जहाजमा काम गरेको ४१ वर्ष भइसक्यो’, रिजनले भन्नुभयो– ‘जलेर मर्न धेरै गाह्रो हुन्छ भन्ने सुनेको थिएँ । जहाजको अवस्था कस्तो थियो कसलाई थाहा छ प्लिज भनिदिनुस न । हामीलाई थोरै पोल्दा त कति गाह्रो हुन्छ उहाँलाई कस्तो भयो होला?’