वास्तविक प्रेम नै सबैभन्दा ठूलो उपहार हो

5.45k
Shares

हरेक मानिसले अर्को मानिसलाई दिन सक्ने त्यस्तो कुन चीज हो ! मेरो विचारमा हरेक मानिसले अर्को मानिसलाई दिन सक्ने सबैभन्दा ठूलो चीज भनेको ‘प्रेम’ नै हो । वास्तविक प्रेम प्रदान गर्नु अर्थात् वास्तविक प्रेमभाव प्रस्तुत गर्नु सबैभन्दा ठूलो उपहार दिनु हो । प्रेम नै एक व्यक्तिले अर्को व्यक्तिलाई प्रदान गर्न सक्ने कुरा हो । प्रेम अक्षरहरूभित्र हुँदैन । त्यो किताबहरूमा पनि छैन । त्यो सबैको हृदयमा छ । प्रेम त कहिल्यै पनि नमर्ने विषय हो ।

हाम्रो चाहना अनि वास्तविक चीज– यी दुवै कुरा किन फरक–फरक छन् ? त्यो शक्ति सबैको हृदयमा विराजमान छ । त्यो चीज हरेक कण–कणमा विराजमान छ । नबालिएको डोरीमा पनि उनी छन् अनि यदि त्यो डोरी बलेर खरानी भयो भने पनि त्यो डोरीको खरानीमा समेत उनी हुन्छन् । हामीमा विराजमान छन् अनि हामी यो संसारबाट बिदा भएर जाँदा हाम्रो काम नगर्ने शरीरमा पनि उनी विराजमान हुन्छन् । त्यसपछि हाम्रो शरीरलाई जलाइन्छ र हामी खरानी हुन्छौँ । उनी त्यसमा पनि विद्यमान हुन्छन् । खरानी भएपछि त्यसलाई बगाइन्छ र त्यो पानीमा मिसिन्छ । उनी त्यतिखेर पनि त्यसमा विराजमान हुन्छन्, किनभने उनी पानीमा विराजमान हुन्छन् ।

यदि हामीलाई गाडिदिए अनि हामी सड्न थाल्यौँ भने त्यो सडेको शरीरको भागमा पनि उनी रहेका हुन्छन् । किनभने, उनी पहिल्यैबाट माटोमा पनि थिए । यसर्थ हामी उक्त माटोबाट बनेका हौँ भने त उनी हामीमा पनि विराजमान हुन्छन् । अर्को कुरा हामी उनीबाट कहिल्यै पनि टाढा रहन सक्दैनौँ । उनी हामी नभएको समयमा पनि थिए । उनी हामी भएका समयमा पनि छन् र हामी नभएका समयमा पनि रहिरहनेछन् । यसमा तीवटा कुरा आए– उनी थिए, छन् र रहनेछन् । तथापि, तपाईँमा यो कुरा लागू हुँदैन । तपाईँ पहिला हुनुहुन्नथ्यो, आज हुनुहुन्छ र एक दिन रहनुहुनेछैन । यदि यी सबै कुरा हामीबाट निस्कियो भने तपाईँले कुन कुरा के हो भनेर केही पनि बुझ्न सक्नुहुन्न । कबीरदासजी भन्छन्, ‘उनी माहुतेमा पनि छन् र हात्तीमा पनि छन् ।’

यदि यस्तो हो भने त सबैमा चैनको बाँसुरी बज्नुपर्ने हो नि । होइन त ? अनि, यो क्रोध कहाँबाट आउँछ, यो दुःख कहाँबाट आउँछ ? हेर्नुहोस्, तपाईँको पनि एउटा संसार छ । तपाईँ यो संसारमा बस्नुहुन्छ । यसमा राम्रो र नराम्रो दुवै कुरा हुन्छ । तपाईँ आपूmलाई खुशी प्राप्त हुने काम गर्नुहुन्छ र तपाईँ आपूmलाई दुःखी तुल्याउने काम पनि गर्नुहुन्छ । ‘उनी’ त सबैतिर छन् र उनको संसार फरक छ । तपाईँ त सबै क्षेत्रमा विराजमान उनी तपाईँको दुनियाँमा पनि आऊन् भन्ने चाहना राख्नुहुन्छ । जे भइरहेको भए पनि उनी हाम्र्रै संसारमा होऊन् भन्ने हाम्रो चाहना हुन्छ । तर, तपाईँको संसार वास्तविक संसार होइन । तपाईँको संसार त तपाईँको विचारको संसार हो । तपाईँको सोचको संसार हो । तपाईँले आफ्नो सोचका आधारमा उनलाई बुझ्न सक्नुहुन्न। तपाईँले उनलाई केवल अनुभवका माध्यमबाट मात्रै बुझ्न सक्नुहुन्छ । यदि तपाईँ उनलाई अनुभव गर्न चाहनुहुन्छ भने तपाईँले उनको संसारमा जानु आवश्यक हुन्छ । उनी तपाईँको संसारमा आउँदैनन् । के तपाईँ उनको संसारमा जान तयार हुनुहुन्छ या हुनुहुन्न ? उनको संसारमा जाने कुरा सहज छैन, किनभने यसका लागि हामीले आफ्नो जीवनमा बोकिरहेका यी सबै खाले बोझलाई त्याग्नुपर्ने हुन्छ । यो बोझ यति सहजै हामीबाट छुट्न सक्दैन ।

हामीले सृष्टिकर्तालाई आफ्नो इच्छा अर्थात् आफ्नो धारणाअनुसार बाँधिरहेका छौँ । त्यो बँधाइ पनि कस्तो छ भने, न हामी हिँड्न सक्छौँ, न त उनी हिँड्न सक्छन् । उनी त यी सारा चीजबाट स्वतन्त्र छन् । उनलाई यी चीजसँग केही लिनुदिनु नै छैन । केवल कुरा के मात्रै हो भने, उनी कण–कणमा छन् र उनी कण–कणमा भएका कारण हाम्रो हृदयमा पनि छन् । उनी तपाईँको हृदयमा भएकाले हामी जीवित रहेसम्म उनको आनन्द लिन सक्छौँ । त्यसपछि सक्दैनौँ । यो बुझ्नुपर्ने विषय हो । यो जान्नुपर्ने कुरा हो । यो पहिचान गर्नुपर्ने विषय हो ।

तपाईँले कल्पनाको संसारमा रहेर ती सृष्टिकर्तालाई अनुभव गर्न सक्नुहुन्न । कल्पनाको संसारमा रहेर तपाईँ अरू कसैको मुरलीलाई सुन्न सक्नुहोला तर उनको मुरली कल्पनाको संसारमा बज्दैन । कल्पनाको संसारभन्दा बाहिर निस्कनुहोस् । त्यसपछि तपाईँले वास्तविकतालाई देख्न सक्नुहुनेछ । साँचो कुरा के हो भने, ती सृष्टिकर्ता सारा संसारमा विराजमान छन् । हरेक कण–कणमा व्याप्त छन् ।

उनी सबैको हृदयमा विराजमान छन् । यसको अर्थ हामी उनलाई अनुभव गर्न सक्छौँ । यसका साथै हामीलाई प्राप्त भएको यो छोटो समयलाई सफल तुल्याउन सक्छौँ । विचारको संसारमा रहनु कुनै खराबी होइन तर वास्तविक संसारमा रहन नसक्नुचाहिँ राम्रो कुरा होइन । अतः यो जीवनलाई सफल बनाउन चाहनुहुन्छ भने उनलाई पनि अनुभव गर्नुपर्छ ।

हिजोआज मानिसहरू एक–आपसमा प्रेमको तुलनामा घृणा नै बढी गर्छन् । किन यस्तो भइरहेको छ ! घृणालाई प्रेममा बदल्ने तरिका के हो ? कसरी हामी घृणालाई प्रेममा रूपान्तरण गर्न सक्छौँ ! घृणाको मूल कारण के हो भने, जसले आफ्नो जीवनमा वास्तविक प्रेमलाई कहिल्यै महसुस गर्न सकेन, जसले प्रेमका बारेमा जान्दै जान्दैन भने उसले कोसँग प्रेम गर्न सक्ला र ! उसले त घृणालाई नै प्रेम गर्नेछ । अनि, हामी मानिसले घृणालाई अँगाल्न सिकेका छौँ । प्रेमलाई प्रेम गर्न हामी जान्दै जान्दैनौँ । हामीभित्र विराजमान जुन शक्ति छ, जुन श्वास हामीभित्र आइरहेको छ अनि गइरहेको छ, त्यो सृष्टिकर्ताको आशीर्वाद हो । हामीले उनीसँग अर्थात् आफूले आफैँसँग प्रेम गर्न नसिकेसम्म हामीले कोसँग प्रेम गर्न सिकौँला र !

हामीले आफ्नो अपेक्षासँग प्रेम गर्न सिकेका छौँ । हामी घरमा आइपुगेपछि के आशा राख्छौँ भने, मीठो खाना खान पाइनेछ । तथापि, सोचेजस्तो भएन भने तपाईँको प्रेम के हुन्छ ! तपाईँ आफ्नो छोरासँग प्रेम गर्नुहुन्छ तर तपाईँको छोरो विद्यालयमा अनुत्तीर्ण भयो भने तपाईँको उसप्रतिको प्रेमको अवस्था कस्तो हुन्छ !

प्रेम गर्न सिक्नुहोस् ! यो श्वाससँग प्रेम गर्न सिक्नुहोस् ! यो जीवनसँग प्रेम गर्न सिक्नुहोस् । यदि प्रेम गर्न सिक्नुभयो भने जोसँग प्रेम गर्नुहुन्छ नि त्यस बेलामा प्रेम के हो भन्ने कुरा बुझ्न थाल्नुहुन्छ । अहिले त कुनै पनि चीजको परिणामसँग प्रेम गर्नुहुन्छ । घरमा भनेजस्तो खाना पाकेन भने के हाम्रो प्रेम पनि समाप्त हुन्छ त !

ग्रिसका दार्शनिक सुकरातले भनेका छन्, ‘जुन चीजको तपाईँलाई चाहना थियो यदि त्यो चीज प्राप्त भएन भने तपाईँलाई दुःख लाग्छ । यदि तपाईँलाई त्यो प्राप्त हुन्छ जसलाई तपाईँले चाहनुभएकै थिएन भने पनि तपाईँलाई दुःख लाग्छ । तपाईँलाई यदि त्यो प्राप्त भयो जुन तपाईँको चाहना नै हो तब पनि तपाईँलाई दुःख नै छ ।’

उदाहरणका लागि यदि हामीले हाम्रो सिरानीमुनि एउटा स्वर्णमुद्रा प्राप्त होओस् भन्ने चाहना राख्यौँ र यदि त्यो प्राप्त भएन भने हामी खुशी हुँदैनौँ । यदि त्यो प्राप्त भयो जुन हाम्रो चाहनामा थिएन भने जस्तो कि सर्प ! तब पनि त खुशी हुन सक्दैनौँ । किनभने, त्यसलाई हामी राख्न सक्दैनौँ ।

यो सारा संसारमा हरेक चीज बदलिरहेको छ तर परिवर्तन हुने कुरालाई हामी रुचाउँदैनौँ । हामी कुनै चीज परिवर्तन होओस् भन्ने चाहना राख्दैनौँ तर हरेक चीज बदलिरहनेछ । जब तपाईँ स्वयंले आफूभित्र हेर्न थाल्नुहुनेछ, आपूmलाई बदल्नुहुनेछ तब तपाईँले ती सृष्टिकर्ता त तपाईँभित्रै रहेको कुरा थाहा पाउनुहुनेछ । स्वयंलाई चिनेको दिनदेखि बाँकी सबैलाई चिन्न शुरु गर्नुहुनेछ। स्वयंलाई बदलेपछि तपाईँको जीवन पनि बदलिनेछ ।

मानिसले प्रेमको अभ्यास र आफ्नो हृदयमा अवस्थित शान्तिको अनुभव गरेर जीवनलाई सफल पार्न सक्छ । किनभने, हामी जीवनमा जुन चीजको बढी अभ्यास गर्छौँ नि त्यसैमा पोख्त हुन्छौँ । यदि हामीले घृणाको अभ्यास गर्‍यौँ भने हामी त्यसैमा पोख्त हुनेछौँ । त्यस्तै गरेर यदि तपाईँले आफूभित्रको प्रेमलाई प्राप्त गर्ने अभ्यास गर्नुभयो भने तपाईँ त्यसैमा पोख्त हुनुहुनेछ।

परिवर्तन भइरहने चीजसँग प्रेम गर्न एकदमै गाह्रो हुन्छ । तथापि, एउटा चीज छ जुन बदलिँदैन । यो संसारमा प्रेम हुनुपर्छ, तर मानिसले वास्तविक प्रेम के हो, त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ । साँचो प्रेमलाई बुझेपछि मानिसले वास्तवमा प्रेम गर्न सक्छ । यो संसारमा घृणा भनेकै के हो भने, मानिसले आफूले आफैँसँग प्रेम नगरीकन घृणालाई प्रेम गर्ने गर्छ । मानिसले आफूले आफूलाई प्रेम गर्न थालेपछि घृणा होइन केवल प्रेम नै प्रेम हुनेछ ।

हरेक मानिसले आफूसँग भएको एउटा चीजलाई अरूसँग बाँड्न पनि सक्छ अनि त्यो चीज हो– प्रेम । हामीले कसैलाई दिन सक्ने प्रैम नै एउटा वास्तविक चीज हो । परिवारमा एक–अर्काको कुरालाई कसैले पनि सुनिरहेको हुँदैन । एउटा मानिस हुनाका कारणले, परिवारको एउटा सदस्य भएका नाताले पनि तपाईँले सबैभन्दा ठूलो उपहार दिन सक्नुहुन्छ । त्यो कुनै भौतिक वस्तु होइन त्यो भावनात्मक कुरा हो र त्यो उपहार यो प्रेम हो, यो आनन्द हो । हामी एक–अर्कालाई घृणाले होइन प्रेमका माध्यमले जित्न सक्छौँ । प्रेममा एकदमै ठूलो तागत हुन्छ ।

मानिसले प्रेमको अभ्यास र आफ्नो हृदयमा अवस्थित शान्तिको अनुभव गरेर जीवनलाई सफल पार्न सक्छ । किनभने, हामी जीवनमा जुन चीजको बढी अभ्यास गर्छौँ नि त्यसैमा पोख्त हुन्छौँ । यदि हामीले घृणाको अभ्यास गर्‍यौँ भने हामी त्यसैमा पोख्त हुनेछौँ । त्यस्तै गरेर यदि तपाईँले आफूभित्रको प्रेमलाई प्राप्त गर्ने अभ्यास गर्नुभयो भने तपाईँ त्यसैमा पोख्त हुनुहुनेछ। तपाईँ यस कुरामाथि विचार गर्नुहोस् । मानिस बन्नुहोस्, किनभने तपाईँ मानिस हुनुहुन्छ । यदि हामीले आफ्नो जीवनमा वास्तविक मानवतालाई अपनायौँ भने त हामीले कुनचाहिँ कुरालाई बदल्न सक्दैनौँ र ! यो जीवन तपाईँलाई एउटा उपहारस्वरूप प्राप्त भएको छ । यसलाई स्वीकार गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल पार्नुहोस् ।

मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।