नेपालको कम्युनिस्ट आन्दोलनका पिता कमरेड पुष्पलाल जन्मिएको एक शताब्दी भयो । धर्तीमा जन्मने र मर्ने क्रम त चली नै रहन्छ तर जो जन्मन्छ त्यसले जीवनभर के कर्म गर्यो ? त्यसले उसको जन्म र मरणको तात्विक अर्थ राख्छ। नेपाली समाजमा भएको विभिन्न किसिमका भिन्नता र खाडललाई पुर्दै समतामूलक समाज निर्माणको महाअभियानका नायक कमरेड पुष्पलालको जन्म र मरणले विशेष महत्व राख्छ ।
वि.सं. १९८१ असार १५ गते जन्मिएका कमरेड पुष्पलालको गत असार १५ गते जन्म–शताब्दी (१०० वर्ष) मनाइयो । २०३५ साल साउन ७ गते उहाँको निधन भएको थियो । कमरेड पुष्पलालको विचार उनको जीवनी, इतिहास र उनका समकालीन मित्रहरुसँगको भेटघाट, छलफल र कुराकानीको आधारमा कमरेड पुष्पलाललाई स्मरण गर्न चाहन्छु ।
राणा शासनको चकचकी भएको बेला रामेछापको भँगेरीमा पिता भक्तलाल र तुल्सीमायाको कोखबाट जन्मिएका पुष्पलाललाई वीर शहीद गंगालाल श्रेष्ठको राणाविरोधी आन्दोलन र १९९७ सालको शहीद काण्डले राणा शासनका विरुद्ध लड्न जागरुक, प्रतिबद्ध र प्रेरित गरायो । जहानिया राणा शासनबाट थिचिएका जनतालाई मुक्ति दिलाउने सपना बोकेका कमरेड पुष्पलालले नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध भई कार्यालय सचिवको जिम्मेवारी सम्हालेका थिए । राष्ट्रिय कांग्रेसभित्र देखिएको नेतृत्वको लडाइँ नजिकबाट देखेका उनले कांग्रेसबाट आफ्नो लक्ष्य प्राप्त गर्न नसक्ने देखी २००६ वैशाख १० गते अन्य चार सहयोद्धा कमरेडको सहयोगमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे ।
राष्ट्रिय कांग्रेसभित्र नेतृत्वको खिचातानी देखेर कम्युनिस्ट पार्टीको स्थापना गरेका क. पुष्पलालले पछि आफूले नै जन्माएको कम्युनिस्ट पार्टीमा पनि नेतृत्वको होड चल्न थाल्यो । पहिलो महाधिवेशनबाटै पुष्पलाललाई अगाडि बढ्न दिइएन । पुनः २०१४ सालको दोस्रो महाधिवेशनमा पुष्पलालको विचार पारित भए पनि नेतृत्व भने केशरजंग रायमाझीको हातमा पुग्यो । उनले राजाको पक्षमा लागेर पार्टीलाई निष्क्रिय बनाए । सो अवस्थाबाट पार्टीलाई बचाउन पुष्पलालको उत्तिकै योगदान रह्यो । पछि तेस्रो महाधिवेशनबाट राष्ट्रिय प्रजातन्त्रको लाइन पास भयो र तुल्सीलाल अमात्यले पार्टीको नेतृत्व लिए । त्यसपछि कम्युनिस्ट आन्दोलनमा धेरै फुट र विभाजन आए । कम्युनिस्ट पार्टीहरुको नामपछाडि थरी–थरीका पुच्छर झुन्ड्याउँदै मूलधारबाट अलग्गिँदै गए ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट लादेको निरंकुश पञ्चायती व्यवस्थालाई फाल्न एकल प्रयासबाट सफल हुँदैन त्यसैले कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्नुपर्छ भन्ने विश्लेषण क. पुष्पलालको थियो । यससम्बन्धमा कैयौँपटक कांग्रेसका बीपी, मातृका, गणेशमान सिंहलगायतका नेताहरुलाई संयुक्त आन्दोलनको प्रस्ताव राखे । तर कांग्रेसका नेताहरुले स्वीकार गरेनन् । सोही संयुक्त जनआन्दोलनको विषयले गर्दा क. पुष्पलालले कम्युनिस्ट पार्टीभित्र आफूलाई ‘गद्दार’, ‘कांग्रेसको पुच्छर’ जस्ता आरोप र लान्छनाहरु सहनुपरेको थियो । तर कमरेड पुष्पलाल आफ्नो विचार, दृष्टिकोण र लक्ष्यमा कहिल्यै विचलित भएनन् ।
क. पुष्पलालले ‘राजनीति जालझेलको विषय होइन, परिस्थिति र वस्तुस्थितिको वर्गीय विश्लेषण गरी निकालिने निचोड हो’ भनेका छन् । हुन पनि हो, कम्युनिस्टहरु सानातिना विषयमा बृहत् विश्लेषण गर्छन् । सानातिना विषयलाई ठूलो बनाएर पार्टी फोर्नसमेत पछि नपरेका इतिहास छन् । सानातिना विषयलाई मतमतान्तर गर्दै दशकौंदेखि कम्युनिस्ट आन्दोलनलाई छरपस्ट पारेका दृष्टान्तहरु छन् । नेकपाको स्थापना, घोषणापत्र जारी, संस्थापक सदस्यका विषयमा कम्युनिस्टहरु दिन–महिना मात्र होइन, वर्षाैंसम्म विश्लेषण गर्दै, फरक दृष्टिकोण राख्दै पार्टी नै टुक्रा–टुक्रा पार्न पछि परेनन् । वास्तवमा कमरेड पुष्पलालले उक्त उक्ति पार्टीलाई शिथिल बनाउन हैन, पार्टीलाई सशक्त बनाउन र वास्तविक वस्तुस्थितिको सही विश्लेषण गरी निचोडको लागि भनेका थिए ।
कम्युनिस्टहरुको लक्ष्य भनेको समाजवाद हुँदै साम्यवाद हो । यो लक्ष्यका लागि सम्पूर्ण कम्युनिस्ट सानातिना मतभेदलाई तिलाञ्जलि दिँदै एकसूत्रमा बाँधिई लक्ष्ययात्रामा लाग्नु त कता हो कता, अहिले राष्ट्रिय एजेन्डालाई थाती राखेर सानातिना विषयमा अल्झिई यात्रालाई गन्तव्यहीन बनाउँदै आएका छन् । हालै मात्र पनि कमरेड पुष्पलालको उक्तिलाई उपहास गरेको देखिन्छ । आफैँ सामेल भइरहेको क. पुष्पकमल दाहालको नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर कांग्रेसको आड लिई प्रचण्ड सरकार ढालेर क. खड्गप्रसाद ओलीज्यू प्रधानमन्त्री पदमा आसीन हुनुभयो । कमरेड पुष्पलालले सत्ता प्राप्तिका लागि वामहरुबीच फुट गराएर फरक सिद्धान्त बोकेका प्रजान्त्रिकहरुसँग मिल्नका लागि अनि चुनावमा जित्नका लागि विचार, दृष्टिकोण नमिल्ने पार्टीहरुसँग मिलेर जान प्रतिपादन गरेको ‘संयुक्त आन्दोलन’को सिद्धान्त थिएन । राष्ट्र, राष्ट्रिता र स्वाधीनताका लागि पार्टी र सिद्धान्तभन्दा पनि माथि उठेर जुट्नुपर्छ, सामना गर्नुपर्छ, डट्नुपर्छ भन्ने मान्यता हो ।
‘माक्र्सवाद लेनिनवादको विशेषता नै सिद्धान्त र व्यवहारबीच एकता हो’ भनेर कमरेड पुष्पलालले भनेका थिए । तर आज माथिदेखि तलसम्मका नेता–कार्यकर्ताका कार्यशैली, विचार, व्यवहार गैरकम्युनिस्टको जस्तो लज्जास्पद छ । कमरेड पुष्पलालले कम्युनिस्ट पार्टीलाई भोकभोकै बसेर, चनाको सातु र पानी पिएर, विचार, दृष्टिकोण र मार्गप्रशस्त गरेका थिए । उनी कैयौँ दिन भोकभोकै सुते । काठमाडौंबाट विभिन्न संगठनका कमरेडहरु (क. देवनारायण, लोककृष्ण भट्टराई, मोहनबहादुर के.सी.) बनारस जाँदा एक मोहोरमा राँगाको खुट्टा ल्याएर त्यसैमा झोल हाली तनतन पिएर कैयौँ दिनको भोक मेटाएका थिए । मट्टीतेलको टुकी बाल्न नसक्दा रेलवे स्टेसनको बिजुलीमा गई कैयौँ दस्तावेज तयार पारेका थिए । आज समय परिस्थिति बदलिएको छ । औंलामा गन्ने नेताबाहेक कोहीभन्दा कोही कम छैनन् । घर, बंगला, गाडी आदि छन् । कुरा उठाए ‘कम्युनिस्टहरु माग्ने होइनन्’ भन्न पछि पर्दैनन् । कमरेड पुष्पलालले खाई नखाई जोगाएको कम्युनिस्ट आन्दोलन जनताका निम्ति हो । नेता प्रधानका लागि होइन । नीति र जनता प्रधानका लागि हो ।
कमरेड पुष्पलालले ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ मा प्रस्ट दर्शाएका छन् । उनको मार्गचित्रबाट आजको गणतन्त्र स्थापना सम्भव भएको हो । यो यथार्थलाई कसैले प्रकाशमा ल्याउन चाहँदैन । ‘नयाँ जनवादी कार्यक्रम’कै परिस्कृत रुप ‘जनताको बहुदलीय जनवाद’ हो । यो वास्तविकतालाई छायामा पारेर पर्ने कुरा होइन ।
‘तेस्रो महाधिवेशनपछि पार्टीमा विभिन्न फुट आयो । कमरेड पुष्पलाल धेरै चिन्तित थिए । सोही चिन्ता र पीडाबाट उनको रोग गाँजिएको र आहारविहारको ठेगान नहुँदाको कमजोरी पनि एक हो ।’ यसरी पहिलो पुस्ताका कम्युनिस्ट नेताहरुले पुष्पलालका बारेमा भनेको अझै याद आउँछ । आखिर २०३५ साउन ७ गते भारतको गोविन्द वल्लभ पन्त अस्पतामा ‘जनता सचेत हुनुपर्छ, कार्यकर्ता संगठित हुनुपर्छ, परिवर्तन अवश्यम्भावी छ, यसलाई कसैले रोकेर रोक्न सक्दैन’ भन्ने क्रान्तिकारी वाणीपश्चात् पुष्पलालको निधन भयो ।
कमरेड पुष्पलालको निधनपश्चात् पनि पञ्चायती निरंकुश सरकारले उनको पार्थिव शरीरलाई मातृभूमि नेपालमा ल्याउने अनुमति दिएन । बरु ल्याउलान् भनेर त्रिभुवन विमानस्थल र नाकाहरुमा कडा पहरा लगायो । तैपनि साउन १६ गते स्थलमार्गबाट क. रामबहादुर भण्डारी र केशव खड्काले काठमाडौंमा ल्याइपुर्याए । विशाल र्यालीबीच शोभा भगवतीमा लगेर अस्तु बगाए । यस घटनाले राजनीतिक परिस्थिति भुसको आगोझैँ सल्किन पुग्यो ।
कमरेड पुष्पलालको पदचापमा हिँडेका तर अनेक बहनाबाजीमा टुक्रिएर विभिन्न पुच्छर झुन्ड्याएका कम्युनिस्ट पार्टीहरु अब देश र जनतालाई सर्वाेपरि मान्दै झीना–मसिना असन्तोषलाई तिलाञ्जलि दिई एउटै सिंगो ‘नेपाल कम्युनिस्ट पार्टी’ बनाउने महाअभियानमा जुट्न जरुरी छ । सिंगो कम्युनिस्ट पार्टीको नेतृत्व गरेर मात्र हैन, एउटै कम्युनिस्ट पार्टी बनाउन त्याग गरेर पनि इतिहास रच्न सकिन्छ ।
२०४६ सालको जनआन्दोलन र ०६२\६३ को लोकतान्त्रिक आन्दोलन कमरेड पुष्पलालले देखाएको संयुक्त जनआन्दोलनको सिद्धान्तको आत्मसात् थियो। प्रजातन्त्र संविधानसभाको निर्वाचन, संविधानको निर्माण हुँदै संघीय गणतन्त्रसम्मको राजनीतिक परिवर्तन भयो । तर देशको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण हुन नसक्दा जनता निराश छन् । राष्ट्र, राष्ट्रियता र जनताप्रति प्रतिबद्ध हुन नसक्दा थुप्रै चुनौती रहेको अवस्था छ। सोही चुनौती र नैराश्यताबीच नयाँ पार्टीहरुको उदय भयो । ठोस लक्ष्य र सिद्धान्तविनाका पार्टीहरुको उदय हुनुको कारण नै हालका पार्टीहरुको अकर्मण्यता हो।
जनतामा बढेको नैराश्यतालाई अझै बढावा दिने हो भने त्यस्ता सिद्धान्तहीन र विचारहीन पार्टी फस्टाउँदै गएर कालान्तरमा संविधान र गणतन्त्र नै दुर्घटनामा नपर्ला भन्न सकिन्न । तसर्थ आम गणतन्त्रवादी पार्टीहरु प्रजातान्त्रिक र वाम गरी दुई ध्रुवमा ध्रुवीकरण हुन जरुरी छ । व्यापक पार्टी एकता गरेर विगतमा जनताको आँखाले ठम्याएका गलतहरुलाई मनन र स्वीकार गरी अगाडि बढ्ने अनि देशको आर्थिक, सांस्कृतिक, सामाजिक समग्र क्षेत्रमा आमूल रुपान्तरण गर्नुको विकल्प छैन । अन्यथा देशले लिने गलत मोडको जिम्मेवारी कम्युनिस्ट र कांग्रेसले लिनुपर्दछ ।
कमरेड पुष्पलालको पदचापमा हिँडेका तर अनेक बहनाबाजीमा टुक्रिएर विभिन्न पुच्छर झुन्ड्याएका कम्युनिस्ट पार्टीहरु अब देश र जनतालाई सर्वाेपरि मान्दै झीना–मसिना असन्तोषलाई तिलाञ्जलि दिई एउटै सिंगो ‘नेपाल कम्युनिस्ट पार्टी’ बनाउने महाअभियानमा जुट्न जरुरी छ । सिंगो कम्युनिस्ट पार्टीको नेतृत्व गरेर मात्र हैन, एउटै कम्युनिस्ट पार्टी बनाउन त्याग गरेर पनि इतिहास रच्न सकिन्छ । कमरेड पुष्पलालको ४६औं स्मृति दिवस र जन्मशताब्दी मनाइरहँदा उनको सपना साकार पार्न सके मात्रै उनीप्रति वास्तविक श्रद्धाञ्जलि हुनेछ ।
(लेखक महर्जन पुष्पलाल स्मृति प्रतिष्ठानका कार्यालय सचिव हुनुहुन्छ ।)
प्रतिक्रिया