घूस दिने र लिने दुवै दोषी


शाह वंशीय राजा पृथ्वीनारायण शाहको दिव्य उपदेशमा भनिएको छ– घूस खाने र घूस दिने दुवैजना राष्ट्रका शत्रु हुन् । पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले आफ्नो छोराको सीबीएससी बोर्डको ११ र १२ कक्षाको समकक्षता प्रमाणपत्र लिन सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्र समकक्षता शाखाका अधिकृतलाई ५ हजार घूस दिनुपर्‍यो।

घूस दिएपछि मात्रै उनका छोराले समकक्षता प्रमाणपत्र पाए। जनतालाई सेवा दिँदा घूस दिने पनि दोषी हुन्छ, लिने त स्वाभाविक दोषी नै हो। कर्मचारीले घूस मागेको जानकारी पाउनासाथ सम्बन्धित निकायमा उजुरी दिन सक्ने हैसियत बोकेका पूर्वमन्त्री महतोले किन घूस दिएर प्रमाणपत्र लिए ? भन्ने विषयलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ।

हुन त नेपालमा घूस नदिई कुनै काम हुँदैन । यो विषय सर्वमान्यजस्तै भएको छ। घूस दिनेले पनि किन घूस दिने ? भन्ने प्रश्न गर्न सक्दैनन् । समकक्षता प्रमाणपत्र लिँदा घूस माग्नेमाथि तत्काल किन कारबाही गरिएन ? घूस रकम बुझाएर सुटुक्क प्रमाणपत्र लिने अनि आफ्नो काम बनेपछि घूस दिएको विषय उचाल्ने ! यो मिल्दो कुरा होइन।

घूस दिएर प्रमाणपत्र लिने पूर्वमन्त्रीको नैतिकता कस्तो हो ? मन्त्री भइसकेका सांसद महतोले त्यति नै बेला पाठ्यक्रम विकास केन्द्रका प्रमुखसँग घूस मागेको कुरा भन्न सक्दैनथे ? घूस माग्नेबित्तिकै नियामक निकाय अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा उजुरी दिन सकिँदैनथ्यो ? यी सबै अनुत्तरित प्रश्न हुन्।

घूस काण्ड र प्रतिनिधिसभामा सांसदको अभिव्यक्तिपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबाट छानबिन गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ। लगत्तै पाठ्यक्रम विकास केन्द्रले समकक्षता शाखा अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहसचिव वसन्त कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ५ हजार घूस काण्डको विषयमा गम्भीर प्रश्न उठेपछि संसद्मा रुलिङको माग गरिएको थियो।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले कर्मचारीलाई निलम्बन गरी तत्काल समिति बनाएर छानबिन गर्न माग गरेका थिए। सांसदले नै घूस खुवाउनुपरेको बताउँदासमेत संसद्ले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाएका थिए।

संसद्ले शिक्षा, गृह र प्रधानमन्त्रीउपर रुलिङ गर्न र तीन दिनभित्र जानकारी गराउन आग्रह गरेका थिए। जे होस्, पूर्वमन्त्री महतोले किन घूस दिएर प्रमाणपत्र लिए ? भन्ने विषयमा समेत छानबिन हुनुपर्छ। साथै छानबिनपछि दोषी ठहरिएमा घूस दिने र लिने दुवै सजायको भागीदार हुनुपर्छ भन्ने कुरालाई पनि नजरअन्दाज गर्नुहुँदैन।